काठमाडौं । पछिल्लो समयमा सार्वजनिक भएका स्मार्टफोनहरूमा नयाँ के छ भनेर कसैले सोध्यो भने जवाफ के होला ? अर्को ब्रान्डको भन्दा क्यामेरा राम्रो अथवा अरुभन्दा राम्रो ब्याट्री अनि यस्तै यस्तै ।
साँच्चै भन्न हो भने अहिले स्मार्टफोन कम्पनीहरूले सार्वजनिक गर्ने फोनहरूमा धेरै परिवर्तन देखिँदैन । यस्तोमा नयाँ स्टार्टअप कम्पनीले सार्वजनिक गरेको नयाँ स्मार्टफोनले बजारलाई पक्कै पनि आकर्षित बनाउने नै भयो ।
नयाँ भन्ने बित्तिकै प्रयोगकर्ताहरूमा पुरानो भन्दा फरक के भन्ने प्रश्न स्वत: आउँछ । यसैबीच बजारमा हालै मात्र एउटा नयाँ ब्रान्डको स्मार्टफोन सार्वजनिक भएको छ ।
यो स्मार्टफोन बजारमा अन्य ब्रान्डहरूको जस्तो सामान्य स्मार्टफोन भने होइन । यो ब्लकचेनमा आधारित स्मार्टफोन हो, जुन हामीले दैनिक चलाइरहेका स्मार्टफोन भन्दा फरक छ ।
गत वर्ष गोपनीयतामा केन्द्रित असम (OSOM) ब्रान्डको स्मार्टफोन असम ओभी वानको चर्चा चलेको थियो । असम हालै मात्र सुरु भएको एउटा स्टार्टअप कम्पनी हो । यो स्मार्टफोन सन् २०२३ मा सार्वजनिक हुने बताइएको छ ।
तर यो फोन ओभी वानको नामबाट नभई ‘सोलोना सागा’ को नामबाट सार्वजनिक हुनेछ । सोलोना ब्लकचेन प्रविधिमा काम गर्ने कम्पनी हो । यो स्मार्टफोन सोलोनाले नै तयार गर्नेछ । तर यसमा अब सोलोनाको ब्लकचेन प्रविधि प्रयोग गरिनेछ ।
स्मार्टफोन सोलोना सागाकै नामबाट बिक्री हुनेछ । असमको गोपनीयता र सुरक्षामा केन्द्रित एन्ड्रोइड स्मार्टफोन बजारमा ल्याउने योजनालाई सोलोनासँगको सहकार्यले थप सहज हुने विश्वास लिइएको छ ।
यस्तो हुनेछ विशेषता
सोलोनाको ब्लकचेन प्रविधिमा आधारित यो फोनबाट सहजै वेब ३.० मा कारोबार गर्न सकिनेछ । यसबाट डिजिटल सम्पत्ति, टोकन अथवा एनएफटीलाई सुरक्षित राख्न मद्दत पुग्ने कम्पनीले जनाएको छ । एक कार्यक्रम बीच घोषणा गरिएको यो फोनमा क्रिप्टो वालेट तथा एपहरू सहजै प्रयोग गर्न सकिनेछ ।
यसका साथै यो फोनमा ६.६७ इन्चको ओएलईडी डिस्प्ले उपलब्ध छ । फोनमा १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज हुनेछ । स्न्यापड्रागन ८ प्लस जेन वान चिपसेट भएको फोनमा ४,१०० एमएएच ब्याट्री छ ।
वायरलेस चार्जिङ सपोर्ट, रियर माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर भएको यो फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा छ ।
यससँगै कम्पनीले सोलोना मोबाइल स्ट्याक नामक सफ्टवेयर डेभलपमेन्ट किटको पनि घोषणा गरेको छ । यसको प्रयोग गरेर एन्ड्रोइड डेभलपरहरूले सुरक्षित क्रिप्टो वालेट तथा वेब ३.० एप तयार गर्न सक्ने कम्पनीको भनाई छ ।
यो किट सोलोना सागा स्मार्टफोनमा पहिले नै इन्स्टल हुने कम्पनीले बताएको छ । एक हजार डलर मूल्य तोकिएको यो फोन पहिलो चरणमा अमेरिका, क्यानडा, युरोप र बेलायतमा सार्वजनिक हुने बताइएको छ ।
ब्लकचेन फोनको लागि के बजार तयार छ ?
सन् २०१८ सम्म ब्लकचेन स्मार्टफोनको बारेमा कुनै जानकारी नै थिएन । त्यसपछि भने छिटफुट ब्लकचेन फोन भन्ने सुन्न थालियो । त्यसताका एचटीसी र सिरिन ल्याबले पनि ब्लकचेन स्मार्टफोन सार्वजनिक गरेका थिए ।
यो भन्दा अगाडिका ब्लकचेन स्मार्टफोनहरूले किन धेरै लोकप्रियता पाउन सकेनन् र पहिले नै सार्वजनिक भएका ब्लकचेन स्मार्टफोन र सोलोना सागामा के फरक छ भन्ने कुरा छलफलको विषय बन्नसक्छ ।
साथै क्रिप्टो कारोबारको लागि एउटा डेडिकेटेड (कुनै एउटा कामको लागि समर्पित) स्मार्टफोनको आवश्यकता छ वा छैन भन्ने प्रश्न पनि आउन सक्छ ।
किनभने हाल प्रयोगमा रहेका कुनै पनि एन्ड्रोइड डिभाइसमै एनएफटी अथवा क्रिप्टोको लागि सफ्टवेयर वालेट प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले सहजै आफ्नो एन्ड्रोइड डिभाइसमा डिसेन्ट्रलाइज एपहरू डाउनलोड गरेर क्रिप्टो कारोबार गर्न सक्छन् ।