close

रहेनन् चर्चित युट्युबर ‘टेक्नोब्लेड’

टेकपाना टेकपाना

असार १८, २०७९ ११:५३

रहेनन् चर्चित युट्युबर ‘टेक्नोब्लेड’

काठमाडौं । युट्युबमा माइनक्राफ्ट गेम खेलेको भिडिओ राखेर ‘टेक्नोब्लेड’ नामले चर्चित भएका २३ वर्षीय युट्युबरको क्यान्सरका कारण मृत्यु भएको छ । बिहीबार उनकै युट्युब च्यानलमा एक भिडिओ सार्वजनिक गर्दै उनका बुवाले छोराको मृत्यु भएको खबर सुनाएका हुन् ।

टेक्नोब्लेडकाे युट्युबका एक करोड १० लाखभन्दा बढी फलोअरलाई सम्बोधन गर्दै उनका बुवाले यो भिडिओ सार्वजनिक गरेका हुन् । ‘सो लङ नर्डस’ नामक उक्त भिडिओमा टेक्नोब्लेडले लेखेका अन्तिम शब्दहरू उनका बुवाले पढेर सुनाएका छन् ।

साथै आफ्नो छोराको सम्झना स्वरुप भनाइ पनि राखेका छन् । उनका बुबाले पढेको सन्देशमा टेक्नोब्लेडले आफ्ना प्रशंसकहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् र आफ्नो वास्तविक नाम एलेक्स थियो भनेर खुलाएका छन् ।

गेमिङ क्षेत्रमा प्रायजसो गेमरहरू उपनामबाट नै चिनिन्छन् । यसमा प्राय कन्टेन्ट क्रियटर र अडियन्सको बीचमा एउटा अज्ञातता हुन्छ । कहिलेकाहीँ त केही प्रशंसकलाई आफ्नो कन्टेन्ट क्रियटर अथवा गेमरको बारेमा व्यक्तिगत कुराहरू केही पनि थाहा हुँदैन ।

हिजो सार्वजनिक भएको सो भिडिओ उनकै सन्देशबाट सुरु हुन्छ, ‘सबै जनालाई हेलो, यदि तपाईं यो हेर्दै हुनुहुन्छ भने, म मरिसकेको हुनेछु । वर्षौंदेखि मेरो सामग्रीलाई साथ दिनु भएकोमा सबैलाई धन्यवाद । यदि मसँग अर्को १०० वर्षसम्मको जीवन हुन्थ्यो भने मलाई लाग्छ कि, म फेरि टेक्नोब्लेडकै रुपमा आफ्नो जीवन जीउन रुचाउनेछु । किन कि ती मेरो जीवनका सबैभन्दा खुशीका वर्षहरू थिए ।’

यी शब्दहरूले धेरैलाई भावुक बनाएको छ । टेक्नोब्लेडका प्रशंसकहरू यो खबरले विक्षिप्त भएका छन् । उनका प्रशंसकहरू लगायत उनीसँगै धेरै युट्युबरहरूले पनि उनको मृत्युप्रति सामाजिक सञ्जालमा शोक व्यक्त गरेका छन् ।

दुई महिनापछि एकैपटक अपलोड भएको भिडिओ टेक्नोब्लेडको मृत्युको खबर लिएर आयो ।

उनको सन्देश पढिसकेपछि उनको बुवाले पनि आफ्नो छोराको प्रंशसकहरूप्रति आभार व्यक्त गर्दै भनेका छन्, ‘मलाई लाग्दैन कि, उसले आफूले भन्न चाहेको सबै कुरा यो सन्देशमार्फत भनेको छ, तर मलाई लाग्छ कि उसले आफूले भन्न चाहेका मुख्य कुराहरू भने यो सन्देशमा समावेश गरेको छ ।’

यो सन्देश लेखिसकेपछि टेक्नोब्लेडले आफ्नो जीवनको अन्तिम आठ घण्टा बाँचेको उनको बुवाले भिडिओमा उल्लेख गरेका छन् ।

टेक्नोब्लेडले प्रशंसकहरूले चिनेको टेक्नोब्लेड भनेको उनको युट्युब च्यानलको प्रोफाइल हो, जसमा ताज लगाएको एउटा सुँगुर तरबार बोकेर बसेको छ ।

सन् २०२१ को अगस्ट महिनामा टेक्नोब्लेडले आफूलाई एकदमै दुर्लभ क्यान्सर रोग लागेका बताएका थिए । उनलाई ‘सार्कोमा’ नामक क्यान्सर भएको थियो, जुन मानिसको हड्डी र मांशपेशी, रक्तनलीहरूमा विस्तारै फैलँदै जान्छ ।

टेक्नोब्लेडका परिवारका अनुसार उनको सम्झनामा उनको अनलाइन स्टोरमा भएका सबै सामग्रीहरू सार्कोमा फाउन्डेसन अफ अमेरिकालाई दान गरिनेछ ।

यसका साथै टेक्नोब्लेडले आफ्नो प्रशंसकहरूलाई सधैं सम्मान गरेको र आफ्नो लोकप्रियताभन्दा पनि उनले आफ्नो सामग्रीमा ध्यान दिएका कारण उनको गोपनीयतालाई थप साथ दिन उनको परिवारले आग्रह गरेको छ ।

टेक्नोब्लेडले आफ्नो पहिलो भिडिओ आठवर्ष अघि सार्वजनिक गरेका थिए । माइनक्राफ्ट गेम खेलेको भिडिओ राख्ने टेक्नोब्लेड उनको खेल्ने शैलीभन्दा पनि उनको कुरा र हसिलो मिजासले बढी चर्चित थिए ।

उनलाई आफ्ना दर्शकलाई कसरी मनोरञ्जन गराउन सकिन्छ भन्ने राम्रो जानकारी थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३