close

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै युवा डेभलपर टिम ‘ओम्निकल’

टेकपाना टेकपाना

असार १८, २०७९ १९:४

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै युवा डेभलपर टिम ‘ओम्निकल’

काठमाडौं । नेपाली विद्यार्थी समूह टिम ओम्निकलले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने भएको छ । नेपालबाट ४० समूह सहभागी भएको ओएसएम (ओपन स्ट्रिट म्याप) ह्याक फेस्ट २०२२ कार्यक्रममा विजेता बनेपछि याे समूहले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो परियोजनाका माध्यमबाट नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाएकाे हाे ।

ओपन स्ट्रिट म्याप विशेषगरी गुगल म्यापको एपीआई (एप्लिकेसन प्रोग्रामिङ इन्टर्फेस) को विकल्पमा प्रयोग गरिने ओपन सोर्स कन्ट्रिब्युसन हो ।

गुगल म्यापको एपीआई स्टार्टअप कम्पनीका लागि निकै नै महँगो पर्न जान्छ, जसको विकल्पमा ओपन स्ट्रिट म्याप प्रयोग गर्न सकिन्छ । त्यसै अन्तर्गत ओएसएमले ह्याक फेस्ट आयोजना गरेको थियो ।

ओएसमले नेपालमा सन् २००७ बाट योगदान दिँदै आएको छ । यसैबीच ओएसएमले नेपालमा पहिलो पटक (गुड फर पब्लिक अवधारणाका साथ) पार्क भिलेज काठमाडाैंमा जुन २० देखि २४ सम्म ह्याकफेस्ट कार्यक्रम आयोजना गरेको थियो ।

सहभागी भएका ४० समूहबाट टिम ओम्निकल उत्कृष्ट घाेषित भएकाे थियो । टिम ओम्निकलमा पाँच सदस्य सहभागी छन्, जसमा असिम भाद्र, प्रकाश घिमिरे, निर्माण खड्का, पवन बिस्ट र हरि पौडेल छन् ।

उनीहरूको समूहलाई निरव पुडासैनी र निशान अर्यालले प्रशिक्षण गरिरहेका छन् ।

चार दिनको अवधिमा याे टिमले सार्वजनिक यातायातलाई सहज बनाउने योजनाबारे प्रस्तुति दिएकाे थियाे ।

टेकपानासँग कुरा गर्दै टिम ओम्निकलका एक सदस्य तथा डेभलपर हरि पौडेलले भने, ‘अहिले सार्वजनिक सवारीधनीलाई पारदर्शिताको निकै खाँचो छ । उनीहरूको साधनमा कति मानिसहरूले यात्रा गरे भन्ने कुराको जानकारी लिन निकै आवश्यक छ । त्यस्तै सर्वसाधारणलाई कुन ठाउँमा कति ट्राफिक छ, कुन ठाउँमा कुन सवारी साधन कतिबेला आइपुग्छ भन्ने कुराको जानकारी आवश्यक भएको महसुस गर्‍यौं र त्यसैलाई सम्बोधन गर्दै हामीले मोबाइल एप्लिकेसन विकास गर्‍यौं ।’

उनीहरूले मोबाइल एपमा ओएसएमको मोबाइल एपीआई प्रयोग गरेका थिए, जसमा आफूलाई आवश्यक परेको ठाउँको लोकेसन राखेको खण्डमा त्यस रुटको अवस्थाबारे जानकारी पाउन सकिने पौडेलले बताए ।

हाल याे एप परीक्षणको चरणमा रहेको र छिट्टै नै प्ले स्टोरमा ओम्निकल नामबाट सार्वजनिक गर्ने योजना रहेको हरिले बताए ।

उनीहरूले यो परियोजनालाई अझ क्रियाशील बनाउन काठमाडौंका मेयरसँग कुरा राख्ने योजना बनाएका छन् ।

याे टिमले एसियाली छनौटका लागि नोभम्बर २०२२ मा फिल्लिपिन्समा हुने कार्यक्रममा नेपाललाई प्रतिनिधित्व गर्नेछ । त्यहाँ पनि छनाेट भएको खण्डमा विश्वभरबाट छानिएका समूहसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ ।

अबको बाँकी समय यसलाई व्यापारिक परियोजनाअन्तर्गत अगाडि बढाउने योजना रहेको हरिले सुनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३