काठमाडौं । तपाईँले सामाजिक सञ्जाल पोष्टहरूमा ‘ह्यास्ट्याग’ (#) चिन्ह पक्कै पनि देख्नुभएकै छ होला । तर ह्यास्ट्यागले वास्तवमा के काम गर्छ भन्ने कुरा तपाईँलाई थाहा नहुन सक्छ ।
त्यसैले आज हामी ह्यास्ट्य़ाग के हो र यसले कसरी काम गर्छ भन्ने बारेमा चर्चा गर्दैछौँ ।
के हो ह्यास्ट्याग ?
ह्यासट्याग सामाजिक सञ्जाल साइटहरूमा प्रयोग गरिने ‘लेबल’ हो, जसले विषयवस्तु वा विशेष सामग्री सहित गरिएका पोस्ट वा जानकारी फेला पार्न सजिलो बनाउँछ । कुनै पनि शब्दको आगाडि ‘#’ चिन्ह राखेर ह्यास्ट्याग प्रयोग गरिन्छ ।
ह्यासट्यागले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पोस्टमा ध्यान दिन वा नजर लगाउन बाध्य बनाउँछ । ह्यासट्याग विशेषतः ट्वीटर, इन्स्टाग्राम, युट्युब, गुगल र पिन्ट्रेस्ट जस्ता सामाजिक सञ्जाल साइटहरूमा प्रयोग गरिन्छ ।
ह्यास्ट्याग किन प्रयोग गर्ने ?
ह्यास्ट्याग भएका शब्द सामाजिक सञ्जालमा खोजी गर्दा सम्बन्धित हरेक पोस्ट एकै ठाउँमा फेला पार्न सकिन्छ । यसो गर्दा तपाईँको व्यवसायिक फेसबुक पोस्ट छ भने त्यस्तो जानकारी धेरै जनाको नजरमा पर्छ ।
ह्यासट्यागको प्रयोगले तपाईँलाई लक्षित व्यक्तिहरूसम्म पुग्न मद्दत गर्दछ । यसका साथै तपाईँको जानकारी फेला पार्न पनि अरूलाई सजिलो बनाउँदछ ।
राम्रो ह्यास्ट्यागले सामाजिक सञ्जालमा प्रयोगकर्तालाई जानकारी खोज्न सजिलो बनाउँछ । एक युनिक ह्यासट्यागले तपाईँको पोस्टलाई अधिक प्रयोगकर्ता समक्ष पुर्याउन मद्दत गर्दछ ।
राम्रो ह्यास्ट्याग कसरी चयन गर्ने ?
तपाईँको ह्यासट्याग जति स्पेसिफिक वा विषयकेन्द्रित हुन्छ, त्यसको पहुँच बढ्ने सम्भावना त्यति धेरै हुन्छ । प्रयोग गरिरहेको ह्यासट्यागले लक्षित वर्ग माझ पोस्ट पुगेको छैन भने त्यसलाई परिवर्तन गर्नुहोस् ।
तर, धैर्य गर्नुहोस् र आफ्नो ह्यासट्याग बारे अरुलाई थाहा पाउन पर्याप्त समय दिनुहोस् । तर हरेक हप्ता आफ्नो ह्यासट्याग परिवर्तन नगर्नुहोस् ।
त्यस्तै सामाजिक सञ्जाल मार्फत मार्केटिङ्ग गर्दा, पोस्ट वा विचार राख्दा अनावश्यक ह्यास्ट्यागको प्रयोग गर्नु पनि उचित हुँदैन । यसो गर्दा प्रयोगकर्तालाई चित्त नबुझ्न पनि सक्छ ।
ह्यास्ट्यागको उचित प्रयोगले धेरैजसो सामाजिक सञ्जाल अभियान सफल भएका पनि छन् । चर्चामा आएको ह्यास्ट्याग सामाजिक सञ्जालमा सर्च गर्दा सम्बन्धित सबै पोस्ट भेटिन्छन् ।
चलिरहेको ट्रेन्ड र समयलाई पछ्याउँदै सामाजिक सञ्जालका आफ्ना पोस्टहरूमा उपयुक्त ह्यास्ट्याग राखेर धेरै भन्दा धेरै व्यक्तिमाझ पुर्याउन सकिन्छ ।