close

चार्जिङ पोर्ट सफा गर्दा नगर्नुहोस् यस्ता गल्ती, अन्यथा बिग्रिन सक्छ तपाईँको मोबाइल

टेकपाना टेकपाना

असार २१, २०७९ १९:५६

चार्जिङ पोर्ट सफा गर्दा नगर्नुहोस् यस्ता गल्ती, अन्यथा बिग्रिन सक्छ तपाईँको मोबाइल

काठमाडौं । हामीले फोनको वास्ता जतिसुकै गरेपनि केही कुरामा भने चुकिरहेकै हुन्छौँ । याद गर्नुहोस् त, तपाईँले पछिल्लो पटक आफ्नो फोनको यूएसबी पोर्ट वा चार्जिङ पोर्ट कहिले सफा गर्नु भएको थियो ?

हामीले त्यति वास्ता नगरे पनि फोनको यूएसबी पोर्ट निकै नै महत्त्वपूर्ण भाग हो । यसको अनुपस्थितिमा प्रायः फोनको अस्तित्व नै हुँदैन । हुन त अहिले बजारमा वायरलेस चार्जिङ सपोर्ट गर्ने फोन पनि आइसकेका छन् ।

त्यस्ता फोनमा यूएसबी पोर्टको विकल्पका रूपमा वायरलेस सिस्टम प्रयोग गरिए पनि त्यो सबै अवस्थामा उपयुक्त नहुन सक्छ । तर, जुन फोनमा यूएसबी पोर्ट मात्र छ, त्यसले काम नगर्दा फोन नै मर्मत गर्नु परिरहेको हुन्छ ।

कतिपय अवस्थामा केही प्रयोगकर्ताले फोनको यूएसबी पोर्ट सफा गर्न नजानेर पोर्ट नै बिग्रेका घटना पनि तपाईँ हामी माझ हुन सक्छन् । आज हामी तपाईँलाई मोबाइलको यूएसबी पोर्ट सफा गर्न केके कुराहरू आवश्यक पर्छन् र त्यसलाई सही तरिकाले कसरी सफा गर्न सकिन्छ भन्ने विषयमा बताउँदै छौँ ।

यस्तो छ यूएसबी पोर्ट सफा गर्ने उपयुक्त तरिका

फोनमा हुने यूएसबी पोर्ट निकै संवेदनशिल हुन्छ । सफा गर्दा सावधानी अपनाइएन भने त्यसमा भएको धूलोले कम र हाम्रो लापरवाहीले बढी क्षति पुग्न सक्छ । यूएसबी पोर्ट सफा गर्न सबैभन्दा उपयुक्त तरिका हो, एयर कम्प्रेसर ।

एयर कम्प्रेसरको क्यान (कम्प्रेस्ड एयर) परफ्युमको बट्टा जस्तै हुन्छ । त्यसको प्रयोग गरी यूएसबी पोर्टको धूलो वा फोहोर बाहिर निकाल्न सकिन्छ ।  

एयर कम्प्रेसर क्यान प्रयोग गर्ने तरिका

  • क्यानको नोजल यूएसबी पोर्टको नजिक राख्नुहोस् ।
  • क्यानलाई सिधा पार्नुहोस् ।
  • त्यसपछि बिस्तारै नोजललाई दबाएर हावा पास गर्नुहोस् ।

यसले यूएसबी पोर्टमा भएको धूलो क्षणभरमै उडाउँछ । यो प्रयोग गर्दा पोर्टमा कुनै पनि किसिमको लिक्विड (कुनै तरल पदार्थ) पस्ने सम्भावना निकै कम हुन्छ ।

यहाँनिर यदि धूलो नभई अरू केही फोहोर अड्किएको छ भने कसरी सफा गर्ने भन्ने जिज्ञासा तपाईँमा हुन सक्छ । कतिपय अवस्थामा फोनको यूएसबी पोर्टमा धूलो मात्र नभई ठोस फोहोर पनि अड्किएको हुन सक्छ ।

जुन अन्य फोहोर निकाल्नुभन्दा झन् जोखिमपूर्ण हुन सक्छ । कुनै गतल ठाउँमा बढी जोड गर्दा कनेक्टर टुट्न सक्ने सम्भावना बढी हुन्छ । यदि तपाईँले यूएसबी पोर्ट सफा गर्न अनावश्यक सामग्री प्रयोग गर्नु भयो भने त्यसलाई अन्तिममा मर्मत गर्न लग्नुपर्ने अवस्था आउन सक्छ ।

यूएसबी पोर्टमा भएको ठोस फोहोर सफा गर्न तपाईंले सामान्य टुथपिकको वा त्यस्तै किसिमको सामग्री प्रयोग गर्न सक्नुहुन्छ । तपाईँले अनलाइनबाट फोन सफा गर्ने टुल खरिद गर्न पनि सक्नुहुन्छ ।

यदि त्यस्तो केही भेट्नु भएन भने धातुजन्य सामग्री झुक्किए पनि प्रयोग नगर्नुहोस् । हामीसँग सियो वा सिम इजेक्टर हुने भएकाले त्यसैको सहयोगमा फोहोर निकाल्न खोजिरहेका हुन्छौँ । तर, त्यसबाट भित्रका कनेक्टर टुट्ने जोखिम बढी हुन्छ ।

यूएसबी पोर्ट सफा गर्दा फोहोर बाहिर निकाल्ने प्रयास गर्नु पर्छ । केही गरी भित्र पस्यो भने त्यसले झनै समस्या निम्त्याउँछ । त्यसैले तपाईँले सावधानीपूर्वक विस्तारै सफा गर्नुपर्ने हुन्छ ।

यूएसबी पोर्ट सफा गर्नेभन्दा पनि यसमा फोहोर पस्न नदिन के गर्ने भन्ने कुरा पहिले आउँछ । यदि तपाईँ धूलो हुने ठाउँमा बढी बस्नुहुन्छ वा दैनिक त्यस्तै ठाउँमा यात्रा गर्नुहुन्छ भने तपाईँका लागि एन्टी डस्ट प्लग वा डस्ट प्रोटेक्सन कभर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

फोनको यूएसबी पोर्ट चार्ज गर्दा वा डेटा ट्रान्सफर गर्दा आवश्यक पर्छ । त्यस बाहेकको अन्य अवस्थामा एन्टी डस्ट प्लग वा कभरले फोनको यूएसबी पोर्टमा फोहोर पस्नबाट जोगाउँछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३