काठमाडौं । ह्वावेले आफ्नो मेट ५० सिरिजका स्मार्टफोनमा स्याटलाइट नेटवर्क प्रयोग गरेर मेसेज पठाउन सकिने फिचर उपलब्ध गराएको छ । योसँगै ह्वावे स्मार्टफोनमा स्याटलाइट नेटवर्क फिचर उपलब्ध गराउने पहिलो कम्पनी बनेकाे छ ।
चीनको बेइडु नेभिगेसन स्याटलाइट सिस्टम नामक कम्पनीसँगको सहकार्यमा ह्वावेले आफ्नो ‘मेट ५०’ र ‘मेट ५०’ प्रो सिरिजका स्मार्टफोनमा स्याटलाइट सेवा उपलब्ध गराएको हो । यो फिचरसँगै यी दुई स्मार्टफोनका प्रयोगकर्ताले स्याटलाइटमार्फत नेभिगेसन र मेसेज फिचर प्रयोग गर्न सक्नेछन् ।
आज राति सार्वजनिक हुन लागेको आईफोन १४ सिरिजका स्मार्टफोनमा पनि यो फिचर उपलब्ध हुनसक्ने चर्चा चलिरहेकाे बेला ह्वावेले भने स्याटलाइट सेवासहितको स्मार्टफोन मंगलबार सार्वजनिक गरेको हो ।
मेट ५० सिरिजमा स्न्यापड्रागन ८ प्लस जेन १ प्रोसेसरसहित ८ जीबी र्याम उपलब्ध छ । मेट ५० प्रोमा फोनको डिस्प्ले ६.७४ इन्चको छ भने यसमा १२० हर्ज रिफ्रेस रेट उपलब्ध छ ।
त्यस्तै मेट ५० मा भने ९० हर्ज रिफ्रेसरेट सहितको ६.७ इन्चको डिस्प्ले छ । यी दुवै फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ ।
यति धेरै फिचर उपलब्ध गराउँदा गराउँदै पनि यी फोनले फाइभजी नेटवर्क भने सपोर्ट गर्ने छैन ।
ह्वावे मेट ५० को मूल्य ४,९९९ यूआन (करिब ९२,००० रुपैयाँ) र ह्वावे मेट ५० प्रोको मूल्य ६,७९९ यूआन (एक लाख २५ हजार रुपैयाँ) तोकिएको छ ।