काठमाडौँ । सामसङ, गुगल, साओमी, मोटोरोलाजस्ता स्मार्टफोन निर्माता कम्पनीले विगत केही वर्षदेखि बजारमा फोल्डेबल फोन उपलब्ध गराइरहेका छन् । तर, सबैभन्द बढी फोन बिक्री गर्ने कम्पनीको रेकर्ड बनाएको एप्पलले भने हालसम्म त्यस्तो फोन ल्याएकै छैन । यसैले गर्दा उपभोक्तामाझ ‘एप्पलले कहिले फोल्डेबल आईफोन ल्याउला ?’ भन्ने प्रश्न आइरहेको हुन्छ ।
प्रतिस्पर्धी कम्पनीले नयाँ मोडेल सार्वजनिक गरेसँगै एप्पलको फोल्डेबल फोनसम्बन्धी अहिले निकै चर्चा भइरहेको छ । सोनी डिक्सन, डिजिटल च्याट स्टेसन जस्त चर्चित लिकरले एप्पलले ल्याउने भनिएको फोल्डेबल आईफोनको डमी लिक गरेका छन् ।
बजारमा आउने यस नयाँ डिभाइसको नाम ‘आईफोन फोल्ड’ वा ‘आईफोन अल्ट्रा’ हुनसक्ने लिकरहरूको भनाइ छ ।

पछिल्लो समय बाहिरिएका विवरणले यस फोनको सम्भावित डिजाइन कस्तो हुनेछ भन्ने कुराको सङ्केत गरेका छन् । ‘डिजिटल च्याट स्टेसन’का अनुसार एप्पलको यस फोल्डेबल डिभाइसको नाम ‘आईफोन अल्ट्रा’ हुन सक्छ । त्यस्तै अर्का लिकर ‘सनी डिक्सन’ले सार्वजनिक गरेको ‘डमी मोल्ड’ले यो फोन चौडा र अलि होचो आकारको हुने दाबीलाई बल पुर्याएको छ ।
अहिलेसम्म बाहिरिएका अधिकांश डिजाइन विवरणले ‘आईफोन फोल्ड’ पुस्तक जस्तै दोब्रिने स्वरूपको हुने देखाएका छन् । यो सामसङको ग्यालेक्सी जेट फोल्ड ७ वा गुगलको पिक्सेल १० प्रो फोल्ड जस्ता अलि लामा र पातला मोडेलको तुलनामा गुगलकै पहिलो ‘पिक्सेल फोल्ड’ जस्तै चौडा देखिने अनुमान गरिएको छ ।
चिनियाँ सञ्चारमाध्यम ‘यूडीएन’को हालैको समाचार अनुसार एप्पलको फोल्डेबल स्क्रिनमा पट्याइएको ठाउँमा देखिने रेखा अर्थात् ‘क्रिज’ निकै कम वा नहुने सम्भावना छ । सुरुवाती चरणका फोल्डेबल फोनमा देखिने यस्ता क्रिजले उपभोक्तालाई असन्तुष्ट बनाउँदै आएका छन् । र प्रविधिमा सुधार भए पनि यो समस्या पूर्ण रूपमा हट्न सकेको छैन ।

चिनियाँ सामाजिक सञ्जाल विबोमा लिकर ‘फिक्स्ड फोकस डिजिटल’ले उल्लेख गरे अनुसार एप्पलले यस फोनको कब्जाका लागि ‘लिक्विड मेटल’को प्रयोग गर्न सक्छ । यो मिश्रित धातु ‘लिक्विडमेटल टेक्नोलोजिज’ कम्पनीले उपलब्ध गराउन सक्ने अनुमान छ, जससँग एप्पलको सन् २०१० देखि नै विशेष सम्झौता रहँदै आएको छ । यस धातुलाई लिएर विगतमा धेरै पेटेन्ट दर्ता र चर्चा भए पनि अहिलेसम्म आईफोनसँग आउने सिम इजेक्टर बाहेक अन्य कुनै उत्पादनमा यसको प्रयोग गरिएको छैन ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८३ २२:२०
