close

के साँच्चै आईफोन १३ र १४ उस्तै छन् ?

टेकपाना टेकपाना

भदौ ३१, २०७९ ११:४७

के साँच्चै आईफोन १३ र १४ उस्तै छन्  ?

काठमाडौं । एप्पलले गत साता सार्वजनिक गरेको आईफोन १४ सिरिज अहिले चर्चामा छ । नयाँ सिरिजमा भएका विभिन्न फिचरलाई लिएर मानिसहरूले तुलना सुरु गरेका छन् । कतिपय प्रयोगकर्ताले नयाँ सिरिजको रिभ्यु सार्वजनिक गरिरहेका छन् । आज हामी आईफोनको दुई प्रमुख मोडेलमा भएका भिन्नताबारे यहाँ चर्चा गर्दैछौं ।

यसो त कम्पनीले जहिले पनि फोन सार्वजनिक गर्दा नयाँ सिरिजलाई बढी प्राथमिकता दिइरहेको हुन्छ । किनभने नयाँ सिरिज सार्वजनिक गरेको घोषणा गर्दा कम्पनीले केही पुराना मोडेलको बिक्री बन्द हुने समेत जानकारी दिन्छ । यसबाट कम्पनीले नयाँ उत्पादनलाई बढी प्राथमिकता दिने गरेको प्रस्ट हुन्छ ।

आईफोन १३ को विभिन्न भेरियन्ट र आईफोन १४ को भेरियन्टमा के भिन्नता रहेको छ भन्ने धेरैको चासो हुन सक्छ । यि दुई मोडेलबीच तुलना गर्ने हो भने सबैभन्दा पहिले डिस्प्लेको कुरा आउँछ । यि दुवै मोडेलमा कम्पनीले ६.१ ईन्चको सुपर रेटिना एक्सडीआर (Super Retina XDR) डिस्प्ले उपलब्ध गराएको छ ।

दुवैमा प्रयोग भएको डिस्प्ले २५३२*११७० रिजोलुसन सहित ६० हर्ज रिफ्रेश रेट रहेको छ । प्रोसेसरको कुरा गर्नुपर्दा कम्पनीले आईफोन १४ मा पनि आईफोन १३ मा प्रयोग भएको एप्पलको बायोनिक ए१५ चिप प्रयोग गरेको छ । सीपीयूको सन्दर्भमा कम्पनीले आईफोन १४ मा आईफोन १३ मा प्रयोग भएको ६ कोरको सीपीयू प्रयोग गरेको छ ।

तर, जीपीयूमा भने कम्पनीले आईफोन १४ मा एक स्तर बढाएर ६ कोर जीपीयू समावेश गरको छ भने आईफोन १३ मा ५ कोर जीपीयू रहेको थियो । आईफोन १४ मा सबैभन्दा चर्चा भएको अर्को विषय क्यामेरा हो । तर, आईफोन १३ र आईफोन १४ को मुख्य क्यामेरामा कुनै भिन्नता छैन ।

कम्पनीले आईफोन १३ र १४ मा १२ मेगापिक्सेलको मुख्य क्यामेरा समावेश गरेको छ । यसअघि १३ मा १.६ काे वाइड सेन्सर रहेकोमा आईफोन १४ मा १.५ काे वाइड सेन्सर उपलब्ध गराएको छ ।

आईफोनमा सिनेमेटिक मोड पनि एक आकर्षक फिचर हो । आईफोन १३ मा सिनेमेटिक भिडिओ ३० एफपिएसको १०८० पिक्सेलमा खिच्न सकिन्थ्यो भने आइफोन १४ मा ३० एफपीएसको फोरके भिडिओ खिच्न सकिन्छ । सिनेमेटिक भिडिओको सन्दर्भमा आईफोन १४ आईफोन १३ भन्दा केही अघि रहेको छ ।

त्यस्तै आईफोन १३ मा सेल्फी क्यामेराको कुरा गर्ने हो भने यसमा १२ मेगापिक्सेल र फोकल लेन्थ २.२ अपार्चरको रहेको छ । आईफोन १४ मा १२ मेगापिक्सेलकै सेल्फी क्यामेरा भएपनि फोकल लेन्थ आईफोन १३ को भन्दा कम अर्थात १.९ अपार्चरको रहेको छ ।

आईफोन १३ मा एक्सन मोड समावेश थिएन जुन आईफोन १४ मा अनुभव गर्न पाइन्छ । आईफोन १४ को चर्चामा आएको अर्को आकर्षक फिचर भनेको ‘इमर्जेन्सी एसओएस भाया स्याटलाइट’ हो । जुन आइफोन १४ बाहेक अन्य सिरिजमा उपलब्ध छैन । आईफोन १४ मा ‘क्रयाश  डिटेक्सन’ (दुर्घटना पत्ता लगाउने) फिचर रहेको छ । आईफोन १३ का प्रयोगकर्ताले यो फिचरको अनुभव गर्न पाउने छैनन् ।

ब्लुटुथको सन्दर्भमा पनि आइफोन १४ आईफोन १३ भन्दा अघि नै छ । आईफोन १४ मा ५.३ ब्लुटुथ छ भने आईफोन १३ मा ५.० को ब्लुटुथ रहेको थियो । ब्याट्रीको कुरा गर्ने हो भने पनि आईफोन १४ मा आईफोन १३ भन्दा केही बढी क्षमताको ब्याट्री रहेको छ । आईफोन १४ मा ३२७९ एमएएच क्षमताको ब्याट्री रहेको छ भने आईफोन १३ मा ३२२७ एमएएचको ब्याट्री रहेको थियो ।

आईफोन १३ मा रहेको ब्याट्रीको भिडिओ प्लेब्याक समय १९ घण्टासम्मको रहेको थियो भने आइफोन १४ मा २० घण्टासम्मको भिडियो प्लेब्याक समय रहेको छ ।

आईफोन १३ र आईफोन १४ दुवै १२८ जीबी, २५६ जीबी र ५१२ जीबी भेरियन्टमा उपलब्ध छन् । आईफोन १३ को मूल्य ६९९ डलर (करिब ८८ हजार ५ सय रुपैयाँ) देखि सुरु हुन्छ भने आईफोन १४ को मूल्य (करिब एक लाख १ हजार रुपैयाँ) देखि सुरु भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४