close

एलन मस्क नाम राख्ने कमेडियनको ट्वीटर अकाउन्ट प्रतिबन्धमा, अर्काको नामका अन्य ह्यान्डल समेत गुम्न सक्ने

टेकपाना टेकपाना

कात्तिक २१, २०७९ १०:१६

एलन मस्क नाम राख्ने कमेडियनको ट्वीटर अकाउन्ट प्रतिबन्धमा, अर्काको नामका अन्य ह्यान्डल समेत गुम्न सक्ने

काठमाडौं । एलन मस्कको ट्वीटरले हरेक प्रयोगकर्ताका लागि नयाँ नियम लागू गरेको छ । आफ्नै ट्वीटर ह्यान्डलबाट मस्कले स्पष्ट रूपमा 'प्यारोडी' उल्लेख नगरी अर्काको नाममा चलाइएका अकाउन्ट स्थायी रूपमा निलम्बित हुने घोषणा गरेका हुन् ।

एउटा फलो-अप ट्वीटमा उनले भनेका छन्, "यसअघि हामीले निलम्बन गर्नु अघि चेतावनी जारी गरेका थियौँ, तर अब हामी विस्तारित भेरिफिकेसन रोलआउट गर्दै छौँ । अब त्यस्तो चेतावनी दिइने छैन ।"

 

Going forward, any Twitter handles engaging in impersonation without clearly specifying “parody” will be permanently suspended

— Elon Musk (@elonmusk) November 6, 2022

त्यसो त मस्क तिनै व्यक्ति हुन्, जसले कम्पनीको स्वामित्व आफ्नो हातमा लिएपछि 'ट्वीटरमा कमेडी वैधानिक हुने' भन्दै ट्वीट गरेका थिए । अब भने नियम थोरै फेरिएको छ, कमेडी तबसम्म मात्रै वैधानिक हुनेछ, जबसम्म नियमको पालना गरिनेछ ।

Previously, we issued a warning before suspension, but now that we are rolling out widespread verification, there will be no warning.

This will be clearly identified as a condition for signing up to Twitter Blue.

— Elon Musk (@elonmusk) November 6, 2022

मस्कका अनुसार यस्ता नियम जुनसुकै समयमा परिवर्तन हुन सक्ने छन् । ट्वीटरले मासिक आठ अमेरिकी डलर सब्स्क्रिप्सन लिन चाहनेहरूलाई भेरिफिकेसन ब्याच उपलब्ध गराउने नयाँ योजना ल्याएको छ ।

केही प्रयोगकर्ताले यस अघि नै भेरिफाइड गरिएका अकाउन्टको नाम परिवर्तन गर्दै एलन मस्क राखेका छन् । जसमा भेरिफिकेसन सिस्टमले अकाउन्ट कसको नियन्त्रणमा छ भन्ने कुरा चेकजाँच नगरिएको विषयलाई बाहिर ल्याउन खोजिएको छ ।

यस्तै कार्यमा संलग्न कमेडियन क्याथे ग्रिफिन र सराह सिल्भरम्यानका अकाउन्टलाई निलम्बित गरिएको छ । ट्वीटरको विद्यमान नीतिमा नै "प्यारोडी, कमेन्ट्री र फ्यान अकाउन्ट"लाई समेट्ने एउटा खण्ड छ ।

मस्कका पछिल्ला ट्वीटले यसलाई थप स्पष्ट पार्दै गैरकानूनी तथा अन्यमाथि चोट पुर्‍याउने कार्यमाथि कडा रूपमा प्रस्तुत हुने देखिएको छ । ट्वीटरको नीति अनुसार यदि तपाईँको अकाउन्ट संलग्नताको हिसाबले दुविधा जनक किसिमको छ भने आफ्नो प्रोफाइलमा रहेका सामग्री एडिट गर्नुपर्ने छ ।

यस्तो छ अकाउन्ट 'सस्पेन्सन' सम्बन्धी ट्वीटरको नीति

ट्वीटरले अकाउन्ट निलम्बन गर्दा तीन ओटा नीतिगत व्यवस्था आत्मसाथ गर्ने गरेको छ । जसमा प्रोफाइल मोडिफिकेसन (प्रोफाइलमा फेरबदल), टेम्पोररी अकाउन्ट सस्पेन्सन (अस्थायी अकाउन्ट निलम्बन) र पर्मानेन्ट सस्पेन्सन (स्थायी निलम्बन) रहेका छन् ।

प्रोफाइल मोडिफिकेसन अन्तर्गत पहिलो चेतावनी पश्चात पुनः यो नीति उलङ्घन गरेको खण्डमा त्यस्ता अकाउन्ट स्थायी रूपमा निलम्बित हुनेछ । त्यस्तै ट्वीटरको अस्थायी अकाउन्ट निलम्बनको नीति लागू भएको खण्डमा भने अकाउन्ट पुनः सञ्चालनमा ल्याउन सरकारले जारी गरेका परिचय खुल्ने प्रमाणपत्र माग्ने गरिन्छ ।

त्यस्तै पर्मानेन्ट सस्पेन्सन अन्तर्गत यदि प्रयोगकर्ताले 'इम्पर्सोनेसन' अर्थात कुनै अर्को व्यक्ति भएको भान पार्ने अथवा भ्रम छर्ने वा झुटो परिचय देखाउने कार्य गरेको अवस्थामा ट्वीटरले स्थायी निलम्बनको नीति अबलम्बन गर्छ ।  

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०७९ १०:२३