close

१० लाख स्याटलाइटमार्फत अन्तरिक्षमा डेटा सेन्टर खोल्दै एलन मस्क

टेकपाना टेकपाना

माघ १७, २०८२ १९:३२

१० लाख स्याटलाइटमार्फत अन्तरिक्षमा डेटा सेन्टर खोल्दै एलन मस्क

काठमाडौँ । विश्वकै धनाढ्य एलन मस्क आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा प्रभुत्व जमाउन अन्तरिक्षमा १० लाख डेटा सेन्टर स्याटलाइटहरू स्थापना गर्ने महत्वाकाङ्क्षी योजना अघि सारेका छन् । मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले हालै अमेरिकी सञ्चार नियामक निकाय (एफसीसी) मा यस्तो विशाल सञ्जाल निर्माणका लागि अनुमति माग्दै निवेदन दिएको छ ।

‘अर्बिटल डेटा सेन्टर’ नाम दिइएको यो परियोजनाले पृथ्वीमा रहेका ऊर्जा खपत गर्ने डेटा सेन्टरहरूको विकल्प दिने र अर्बौँ प्रयोगकर्तालाई अत्याधुनिक एआई मोडेलहरू मार्फत सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । गुगल, मेटा, ओपनएआई जस्ता प्रविधि दिग्गजहरूसँगको एआई प्रतिस्पर्धा तीव्र भइरहँदा मस्कको यो कदमलाई रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ ।

मस्कले अन्तरिक्षलाई रोज्नुको मुख्य कारण त्यहाँ उपलब्ध असीमित सौर्य ऊर्जा र प्राकृतिक कुलिङ प्रणाली हो । पृथ्वीमा रहेका डेटा सेन्टरहरूलाई चिसो राख्न र सञ्चालन गर्न अर्बौँ डलर बराबरको बिजुली र पानी खर्च हुने गर्दछ । तर अन्तरिक्षको वायुमण्डल बाहिर २४सै घण्टा सूर्यको किरणबाट निःशुल्क ऊर्जा प्राप्त हुने र हिट रेडिएसन मार्फत चिपहरूलाई सजिलै चिसो राख्न सकिने दाबी गरिएको छ ।

हालै स्वीटजरल्यान्डको डाभोसमा आयोजित वर्ल्ड इकोनोमिक फोरममा बोल्दै मस्कले एआईका लागि अन्तरिक्ष नै संसारको सबैभन्दा सस्तो गन्तव्य हुने र अबको दुई-तीन वर्षमै यसको सुरुवात हुने बताएका थिए । यस योजनालाई सफल बनाउन स्पेसएक्सले आफ्ना नयाँ पुस्ताका शक्तिशाली स्टारसिप रकेटहरू प्रयोग गर्ने र स्याटलाइटहरूलाई लेजर प्रविधिमार्फत स्टारलिङ्कसँग जोड्ने तयारी गरेको छ ।

यो होडमा मस्क एक्ला भने छैनन् । अमेजनका संस्थापक जेफ बेजोसको ब्लु ओरिजिनले पनि अन्तरिक्षमा गिगावाट स्तरका डेटा सेन्टर बनाउने तयारी गरिरहेको छ । त्यस्तै, गुगलले ‘प्रोजेक्ट सनक्याचर’ मार्फत अन्तरिक्षमा एआई क्लाउड निर्माण गर्न अनुसन्धान गरिरहेको छ भने चीनले पनि आगामी पाँच वर्षभित्र आफ्नै ‘स्पेस क्लाउड’ बनाउने घोषणा गरिसकेको छ ।

हालै एनभिडियाको सहयोगमा स्टारक्लाउडले अन्तरिक्षमा सबैभन्दा शक्तिशाली एआई चिप पुर्‍याएर परीक्षण समेत सफल पारिसकेको छ । यसरी विश्वका प्रमुख शक्ति र कम्पनीहरू अब जमिनको एआई प्रतिस्पर्धालाई अन्तरिक्षको कक्षमा पुर्‍याउन केन्द्रित देखिएका छन् ।

यद्यपि, यो योजना कार्यान्वयन गर्न प्राविधिक चुनौतीहरू भने निकै धेरै छन् । वैज्ञानिकहरूले अन्तरिक्षको विकिरण (कस्मिक रेडिएसन) बाट हार्डवेयर जोगाउनु र लाखौँ स्याटलाइटहरू थपिँदा हुन सक्ने सम्भावित दुर्घटना वा ‘स्पेस डेब्री’ को जोखिमका बारेमा चिन्ता व्यक्त गरेका छन् ।

स्पेसएक्सले यो परियोजनाका लागि ठुलो लगानी जुटाउन यसै वर्ष आईपीओ जारी गर्ने तयारी गरेको छ । जसले कम्पनीको बजार मूल्य एक ट्रिलियन डलरभन्दा माथि पुर्‍याउने अनुमान गरिएको छ । ड्युच बैंकको विश्लेषण अनुसार सन् २०२७ देखि २०२८ सम्म यसको सानो स्तरको परीक्षण हुने र सन् २०३० को दशकमा मात्रै यसले पूर्ण व्यावसायिक रूप लिने सम्भावना छ ।

-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

पछिल्लो अध्यावधिक: माघ १७, २०८२ १९:४०