close

अनलाइन व्यवसाय गर्न चाहनेका लागि सब्रिना महर्जनका ९ टिप्स

टेकपाना टेकपाना

कात्तिक २५, २०७९ १४:४६

अनलाइन व्यवसाय गर्न चाहनेका लागि सब्रिना महर्जनका ९ टिप्स

काठमाडाैं । अहिलेकाे जमानामा इन्टरनेटकाे सहयाेग लिन सके आयआजर्न गर्ने तरिका धेरै छन् । इन्टरनेटकाे यही महत्त्व बुझेर सब्रिना महर्जनले एउटा व्यावसाय सञ्चालन गरिरहेकी छन् । उनकाे कम्पनीकाे नाम हाे, नेपप्राेडक्स । काेराेना महामारी फैलिरहेकाे अवस्थामा उनले नेपप्राेडक्समार्फत अनलाइन व्यवसायमा हात हालिन् ।

याे कम्पनीले नेपालका साना तथा मझाैला उद्यमीले उत्पादन गरेका सामान अनलाइनमार्फत बिक्री तथा प्रवर्द्धन गर्छ । व्यावसायिक अनुभव सँगालिरहेकी उनै महर्जनले अनलाइन व्यवसाय सुरू गर्न चाहनेका लागि ९ टिप्स बाँडेकी छन् ।

१. ‘सबैले सक्छन्’ भन्ने साेच विकास गर्नुहाेस्

अहिलेकाे बजारमा डिजिटल रूपमा अभ्यस्त हुन सकिएन भने धेरै पछाडि परिन्छ भन्ने साेच सबैभन्दा पहिले हुन जरूरी छ । व्यापार व्यवसायमा त झन् याे अपरिहार्य छ ।

अनलाइनबाट सामान बिक्री गर्नु कुनै ठूलाे कुरा हाेइन । याे जाेकाेहीले पनि गर्नसक्ने सामान्य काम हाे । यस प्रकारका व्यवसाय ठूला व्यापारीहरुले मात्र गर्छन् भन्ने साेच्नुभएन । याे सबैले गर्न सक्छन् भन्ने साेच बनाउनुपर्छ ।

२. 'ट्रेन्ड' फलाे गर्नुहाेस्

यस प्रकारका व्यवसाय गर्न इन्टरनेटमा चलिरहेकाे ट्रेन्ड पनि फलाे गर्नुपर्छ । यसले गर्दा बजार प्रवर्द्धनकाे विचारमा सहयाेग पुग्छ । आफूले कसरी काम गर्ने भन्ने आइडिया पनि आउँछ । 

३. प्राविधिक ज्ञान

कसैले अनलाइनबाट व्यवसाय गर्न खाेजिरहनु भएकाे छ भने प्राविधिक ज्ञान आवश्यक छ । तर सबै कुरा यही हाे भन्ने पनि हाेइन । सबैभन्दा ठूलाे कुरा भनेकाे आफ्नाे रहर, रुचिमा काम गर्नुपर्छ ।

रूचि छ भने याे व्यवसायका लागि चाहिने प्राविधिक ज्ञान के के छन्, ध्यान दिनुहाेस् ।

४. कानूनी कुरा

अनलाइनबाट व्यवसाय गर्ने धेरैजना कानूनी पक्षमा चुकिरहेका हुन्छन् । अनलाइनबाट सजिलै अकाउन्ट खाेलेर काम गर्न त सकिन्छ । तर व्यवसाय गर्ने भएपछि कम्पनी दर्ता,कर, नवीकरण लगायतका कुरा आउँछन् । हाम्राे देशमा यस प्रकारका व्यवसाय दर्तामा समस्या छ । यिनै कुरामा हामी सचेत हुन आवश्यक छ । 

५. डेटा प्राइभेसी

अनलाइनबाट व्यवसाय गर्दा सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेकाे डेटा प्राइभेसी पनि हाे । ग्राहकहरुले कुनै सामान किन्दा महत्त्वपूर्ण विवरण अनलाइन व्यवसायीहरुलाई दिएका हुन्छन् ।

यस्ताे अवस्थामा उनीहरुकाे डेटालाई निकै ख्याल गर्नुपर्ने हुन्छ । 

६. मल्टिमिडिया

अनलाइनमा ग्राहकले सामानहरुका आकर्षक फाेटाे अथवा भिडिओहरु हेरेर किन्ने गर्छ । यसकारण अनलाइन व्यवसाय गर्नेहरुले प्राेफेसनल फाेटाे तथा भिडिओग्राफर प्रयाेग गर्नु फाइदाजनक छ ।

उनीहरुले सामान्य सामग्रीहरुलाई पनि आकर्षक बनाउन सक्छन्, जुन अनलाइन व्यावसाय गर्नेहरुका लागि निकै आवश्यक हुन्छ । 

७. कन्टेन्ट राइटिङ र एसईओ

अनलाइनबाट व्यावसाय गर्नेहरुका लागि आकर्षक फाेटाे तथा भिडिओबाहेक कन्टेन्ट राइटिङ र सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) काे आवश्यकता पर्छ । कन्टेन्ट राइटिङले सामग्रीहरुका बारेमा ग्राहकलाई बुझाउन मद्दत गर्छ ।

सामग्रीहरुका बारेमा राम्राेसँग लेखिएकाे छ भने ग्राहकले त्याे सामान किन्ने सम्भावना उच्च हुन्छ। त्यस्तै एसईओले ग्राहककाे स्क्रिनमा उत्पादनहरु  देखाउन मद्दत गर्छ । एसईओकाे कारणले नै अनलाइनमा उत्पादनहरु सर्च गर्दा चाँडाे भेटिन्छ ।

८. स्टल राख्‍ने

भर्खर भर्खर अनलाइन व्यवसाय सुरूवात गर्दा ग्राहकहरु सीमित हुन्छन् । बजार पनि सानाे हुन्छ । उता कम्पनीले बजार विस्तार गर्न परिरहेकाे हुन्छ ।

हुन त अनलाइनमा विज्ञापन गर्न सकिन्छ, अथवा कुनै सेलिब्रेटीलाई ब्राण्ड एम्बास्ड राख्‍न सकिएला, जुन निकै खर्चिलाे हुने गर्छ । यसकाे विकल्प भनेकाे विभिन्न मेला, कार्यक्रममा स्टल राख्‍न सकिन्छ । 

९. निरन्तरता

अनलाइनबाट व्यावसाय गर्न अफ्ठ्याराे छ । तर नसकिने भन्ने छैन । यसमा आफूलाई जे आउँछ, त्याे गरिरहन पर्छ । याेसँगै विभिन्न विचार र अवधारणामा काम गर्नुपर्छ ।

यसाे गर्दा केही कुरामा असफल हुन सकिन्छ । तर गर्दै जाँदा कुनै न कुनै एउटामा सफलता अवश्य मिल्नसक्छ । कतिपयले भने अनलाइन व्यापार सुरुवात गरेर बीचमै छाड्छन्, जुन गर्नुभएन ।

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०७९ १६:२७