गुगल शिट र एक्सलमा पनि अब च्याटजीपीटी प्रयोग गर्न सकिने, यस्ता छन् नयाँ फिचर
बैशाख २३, २०८३ १७:५५
काठमाडौँ । गुगल शिट र माइक्रोसफ्ट एक्सल शिटमा अब च्याटजीपीटी सिधै प्रयोग गर्न सकिने भएको छ । ओपनएआईले बुधबार एक पोस्टमार्फत यसको नयाँ एक्सटेन्सनबारे जानकारी दिएको हो ।
‘जीपीटी-५.५’ प्रविधिमा आधारित नयाँ सुविधाले प्रयोगकर्ताको कामलाई थप सहज, व्यवस्थित र छिटो बनाउने विश्वास कम्पनीले लिएको छ । नयाँ एक्सटेन्सनको मद्दतले प्रयोगकर्ताले अब आफ्नो स्प्रेडशिट नछोडीकनै च्याटजीपीटी प्रयोग गर्न सक्नेछन् । यसले अव्यवस्थित डेटा विश्लेषण गर्न, नयाँ फर्मुला लेख्न र स्प्रेडशिटलाई अपडेट गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।
साथै, यसले काम गरिरहँदा कुन प्रक्रिया कसरी भइरहेको छ भनेर प्रयोगकर्तालाई सरल भाषामा स्पष्ट पार्नेछ । प्रयोगकर्ताले च्याटजीपीटीलाई प्रम्प्ट दिएर शून्यबाटै पूर्ण स्प्रेडशिट तयार गर्न, विभिन्न ट्याबबाट आवश्यक जानकारी निकाल्न, फर्मुला थप्न वा एडिट गर्न र रियल-टाइममा शिट अपडेट गर्न सक्नेछन् ।
यसबाट कुनै पनि प्रोजेक्टको काम तीव्र गतिमा अघि बढ्ने कम्पनीको विश्वास छ । यो फिचर अन्तर्गत प्रयोगकर्ताले च्याटजीपीटीलाई विभिन्न प्राविधिक तथा विश्लेषणात्मक कामहरू अराउन सक्नेछन् ।
उदाहरणका लागि कुनै निश्चित सेल (जस्तै: सेल B145) मा किन इरर वा त्रुटि आइरहेको छ भनेर सोध्न र तत्काल समाधान पाउन सकिनेछ । त्यसैगरी आफ्नो खर्चको ढाँचा विश्लेषण गरी व्यावहारिक बजेटिङ आइडिया माग्न र बैंक तथा क्रेडिट कार्डको स्टेटमेन्ट राखेर व्यक्तिगत खर्च ट्र्याकर बनाउन सकिनेछ ।
त्यस्तै, सर्भेबाट प्राप्त प्रतिक्रियालाई विषयवस्तु अनुसार समूहीकरण गरी मुख्य जानकारीको सारांश निकाल्ने काम पनि यसले सेकेन्डभरमै गर्नेछ । साथै, धेरै ट्याबमा भएका ट्रेन्डहरूको सारांश निकाल्न र कुनै अस्वाभाविक डेटा भएमा त्यसलाई पहिचान गर्न पनि यो टुल उपयोगी हुने देखिन्छ ।
त्यसका साथै यो एक्सटेन्सनले स्प्रेडशिटलाई सफा र व्यवस्थित गर्न पनि भूमिका खेल्नेछ । यसले फर्म्याटिङलाई एउटै स्तरमा ल्याउन, नमिलेका लेबल मिलाउन र डुप्लिकेट डेटा हटाउन मद्दत गर्छ ।
प्रयोगकर्ताले कुनै जटिल फर्मुलाले के काम गरिरहेको छ भनेर सरल भाषामा बुझ्न र आवश्यक परेमा अझ स्पष्ट वैकल्पिक फर्मुला प्राप्त गर्न सक्छन् । यसका अतिरिक्त, नयाँ अनुमानको आधारमा टेबललाई अपडेट गर्न, परिवर्तन भएका कुराको सारांश निकाल्न र प्रोजेक्टको जिम्मेवारी लिने व्यक्ति, समयसीमा (डेडलाइन) तथा कार्यस्थितिसहितको ‘प्रोजेक्ट ट्र्याकर’ निर्माण गर्न पनि च्याटजीपीटीलाई निर्देशन दिन सकिनेछ ।
कम्पनीका अनुसार यो नयाँ फिचर विश्वभरका सबै प्रकारका प्रयोगकर्ताको लागि उपलब्ध छ । यो च्याटजीपीटी बिजनेस, इन्टरप्राइज, एडु (शैक्षिक), शिक्षक र ‘के-१२’ प्रयोगकर्ताका साथै च्याटजीपीटी फ्री, गो, प्रो र प्लस लगायत सबै प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् ।
यो टुल प्रयोग गर्न सबैभन्दा पहिले यहाँ क्लिक गरेर च्याटजीपीटीको वर्कस्पेसमा जानुहोस् । अनि एक्सल वा गुगल शिट केका लागि इन्स्टल गर्न लाग्नु भएको हो त्यो छान्नुहोस् । गुगल शिट हो भने गुगलको ‘वर्कस्पेस मार्केटप्लेस’ खुक्छ । यदि एक्सलका लागि हो भने माइक्रोसफ्ट स्टोर खुल्छ ।

गुगल शिटका लागि इन्स्टल गर्न खोज्नु भएको भने इन्स्टलको बटनमा ट्याप गर्नुहोस् । र, एक्सेस दिएर कन्टिन्युको बटनमा ट्याप गर्नुहोस् ।

अनि पर्मिसन दिनुहोस् । र, कन्टिन्युको बटन ट्याप गर्नुहोस् ।

यति गरेपछि च्याटजीपीटी गुगल शिटमा इन्स्टल हुन्छ ।

अब गुगल शिटमा जानुहोस् । र, माथि रहेको एक्सेटन्सनको अप्सनमा ट्याप गर्नुहोस् ।

र, च्याटजीपीटीमा गई छेउमा रहेको ओपन साइडबारको अप्सन छान्नुहोस् ।

यति भएपछि साइडबारमा च्याटजीपीटी खुल्छ । यसलाई फेरि च्याटजीपीटी अकाउन्टबाट लगइन गर्नुपर्ने हुन्छ । त्यसका लागि कन्टिन्यु विथ च्याटजीपीटीको बटन ट्याप गर्नुहोस् ।

र, आफ्नो च्याटजीपीटी अकाउन्टले लगइन गर्नुहोस् । यति गरेपछि ‘टर्म्स एन्ड प्राइभेसी’को सेक्सन खुल्छ । र, अन्तिममा रहेको ‘Understand’ को बटनमा ट्याप गर्नुहोस् । यसपछि तपाईंको गुगल शिटमा च्याटजीपीटी लिङ्क हुन्छ । र, माथि उल्लेख गरिएका फिचर प्रयोग गर्न सक्नुहुन्छ । यही तरिका अपनाएर एक्सल शिटमा पनि च्याटजीपीटी लिङ्क गर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख २३, २०८३ १८:४९
