काठमाडाैं । मलेसियामा जारी पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) मा नेपाली टिम ‘ट्रेन टु किल’ले आज समूह चरणको अन्तिम छ ओटा खेल खेल्दैछ । बिहीबारदेखि सुरु भएको समूह चरणको खेलमा ‘ट्रेन टु किल’ अङ्क तालिकाको आठौँ स्थानमा रहेको छ ।
सुरुवात राम्रो भए पनि ‘ट्रेन टु किल’ले आफ्नो लय जोगाउन नसक्दा आठौँ स्थानमा सीमित हुन पुगेको हो । यो समूहको शीर्ष स्थानमा मलेसियाको पब्जी टिम ‘गिक फाम’ रहेको छ । यो टिमले १८ खेलबाट १०६ एलिमिनेसन र दुई चिकेन डिनरसहित कूल २०५ पोइन्ट बटुलेको छ ।
त्यस्तै ९२ एलिमिनेसन र तीन चिकेन डिनरसहित दोस्रो स्थानमा चीनको पब्जी टिम ‘फो एङ्ग्री म्यान’ रहेको छ । तेस्रो स्थानमा रहेको जापानिज पब्जी टिम ‘रिजेक्ट’ को नेपाली टिम ‘ट्रेन टु किल’ को भन्दा १६ पोइन्ट बढी छ ।
‘ट्रेन टु किल’ ले १८ खेलबाट ६९ एलिमिनेसन पोइन्ट र एक चिकेन डिनर सहित कूल १५० पोइन्ट बटुलेको छ । आजको खेलमा राम्रो प्रदर्शन गरेको खण्डमा १६ पोइन्ट खासै ठूलो अन्तर होइन ।
त्यसैले आज ‘ट्रेन टु किल’ लाई १६ पोइन्टको अन्तरलाई उछिन्दै पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको अन्तिम चरण अर्थात सोझै फाइनलमा पुग्ने अवसर छ । त्यसो हुन नसकेमा वा ‘ट्रेन टु किल’ शीर्ष तीन भित्र पर्न नसकेको खण्डमा सर्भाइबल चरणमा अन्य नेपाली टिम डीआरएस गेमिङ र स्काइलाइट गेमिङ लगायतका २१ टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
सर्भाइबल चरणमा खेल्नका लागि पनि ‘ट्रेन टु किल’ले अङ्क तालिकामा शीर्ष ११ भित्र स्थान बनाउनु पर्ने हुन्छ । त्यसैले आजको गेम नेपाली टिम ‘ट्रेन टु किल’ लाई चुनौती सँगै अवसर पनि हुनेछ ।
सर्भाइबल स्टेजको खेल ३० नोभेम्बरदेखि दुई डिसेम्बरसम्म चल्नेछ । साथै प्रतियोगिताको फाइनल २०२३ को जनवरी ६ देखि ८ सम्म इन्डोनेसियाको जाकार्तामा हुनेछ ।