close

एनसेलको एसएमएसमा ‘इन्क्रिप्सन’ सुविधा, कम्पनीका कर्मचारीले पनि हेर्न सक्दैनन् तपाईँको मेसेज

टेकपाना टेकपाना

मंसिर २७, २०७९ २०:४४

एनसेलको एसएमएसमा ‘इन्क्रिप्सन’ सुविधा, कम्पनीका कर्मचारीले पनि हेर्न सक्दैनन् तपाईँको मेसेज

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले आफ्नो एसएमएस सेवामा ‘इन्क्रिप्सन’ सुविधा रहेको बताएको छ । कम्पनीका प्रमुख सूचना अधिकारी विशालमणि उपाध्यायले मङ्गलबारको एक कार्यक्रममा यसको जानकारी दिएका हुन् । 

उनका अनुसार सुरक्षाको यो उपाय अपनाइसकेपछि कम्पनीका कर्मचारीले समेत प्रयोगकर्ताले पठाएको एसएमएस हेर्न सक्दैनन् । “कसैले कम्पनीको डेटाबेसमा अनधिकृत पहुँच बनाएको खण्डमा समेत प्रयोगकर्ताले आपसमा पठाएको एसएमएसमा के छ भन्ने कुरा थाहा पाउन सक्दैन,” उनले भने ।

“यतिसम्म कि अदालत तथा कानून कार्यान्वयन गर्ने निकायले माग गर्दा समेत उचित किसिमको डिकृप्सनको प्रक्रिया अपनाउनु पर्ने हुन्छ ।”​ एसएमएस मात्र नभएर एउटा प्रयोगकर्ताले अर्कोलाई गरेको कलको विषयमा समेत कम्पनीका कर्मचारीले थाहा पाउन नसक्ने उपाध्यायको भनाई छ ।

“हाम्रा कर्मचारीले कुन प्रयोगकर्ताले कसलाई फोन गर्‍यो भन्ने कुरा हेर्न पाउँदैन । यदि कुनै ग्राहकले निश्चित नम्बरमा फोन नलागेको गुनासो गरेको खण्डमा मात्रै सम्बन्धित कर्मचारीले थाहा पाउँछ,” उनले भने । 

एनसेलले साइबर तथा सूचना सुरक्षालाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रमुख सूचना अधिकारी उपाध्यायले डेटा बेस अनधिकृत एक्सेस पाउन नसक्ने गरी सेक्युरिटी अडिट गर्ने गरिएको जानकारी दिए ।

पछिल्लो अध्यावधिक: मंसिर २७, २०७९ २०:४४