काठमाडौं । नेपालकाे पहिलाे आर्टिफिसियल इन्टेलिजेन्स (एआई) युक्त ईलर्निङ प्लेटफर्म ‘एम्बिसन गुरु’ सञ्चालनमा आएकाे छ । एम्बिसन गुरुमा विद्यार्थीकाे पढाइ स्तरीय बनाउन एआई प्रविधि प्रयाेग गरिएकाे छ ।
यसले प्रत्येक विद्यार्थीकाे व्यक्तिगत प्राेफाइल तयार पार्छ । जसमा विद्यार्थीका विभिन्न क्रियाकलापका आधारमा रिपाेर्ट तयार हुन्छ ।
त्यही रिपाेर्टले कुन विद्यार्थीलाई कसरी अध्यापन गराउने भन्ने कुरा निर्धारण हुन्छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेर उत्कृष्ट नतिजा ल्याउन एम्बिसन गुरुले एआई प्रयाेग गरेकाे कम्पनीका एकेडेमिक निर्देशक प्रकाश पाण्डे बताउँछन् ।
“अध्यापनका लागि परम्परागत शैली अपनाइरहेकाे बेला शिक्षामा पनि प्रविधि प्रयाेग गर्नुपर्छ भन्ने लागेर याे प्लेटफर्म तयार पारेका हाैँ,” उनी भन्छन्, “धेरै ईलर्निङ प्लेटफर्ममा एकतर्फी शैलीमा पढाइ हुन्छ । यसले विद्यार्थीकाे पढाइमा स्तरीय सुधार गर्दैन । यसैले हामी एम्बिसन गुरुमा दुई तर्फी शैलीबाट अध्यापन गराउँछाैँ ।”
हाल याे प्लेटफर्ममा चिकित्सा शिक्षा आयाेग र इन्जिनियरिङ अध्ययन संस्थानले लिने प्रवेश परीक्षा सम्बन्धी प्याकेज छ । यी संस्थाले प्रवेश परीक्षाका लागि तयार पार्ने पाठ्यक्रममा आधारित पाठ्य सामग्री तयार पारिएकाे पाण्डे बताउँछन् ।
राष्ट्रिय परीक्षा बाेर्डले तयार पार्ने पाठ्यक्रम र 'क्रेडिट आवर'मा आधारित रहेरै कम्पनीले आफ्नो एल्गाेरिदम तयार पारेकाे छ ।
प्लेटफर्ममा एआई
एम्बिसन गुरुमा प्रयाेग गरिएकाे एआईकाे मुख्य काम पढाइकाे स्तर सुधार गर्नु हाे । प्लेटफर्ममा भर्ना भइसकेपछि एआईले विद्यार्थीकाे पढाइको स्तर जाँच गर्छ ।
यसका लागि विद्यार्थीलाई एआईले प्रत्येक पाठबाट नमुना प्रश्न साेध्छ । याे प्रकृयामा एआईले एक किसिमले विद्यार्थीकाे पढाइकाे पूर्ण सीटी स्क्यान गर्छ । यसबाट विद्यार्थी कहाँ, कुन पाठमा कमजाेर छ भन्ने कुरा पत्ता लाग्छ ।
त्यसपछि विद्यार्थीले कुन पाठमा बढी ध्यान दिनु पर्छ भन्ने थाहा हुन्छ । एआईले यही आधारमा विद्यार्थीलाई कुन नाेट पढ्नु पर्छ, कुन भिडिओ हेर्नु पर्छ, कुन अभ्यास गर्नु पर्छ भन्ने जस्ता सल्लाह दिन्छ ।
यो प्लेटफर्ममा विद्यार्थीले दिँदै जाने परीक्षाका आधारमा प्राेफाइल तयार हुँदै जान्छ । यसरी विद्यार्थीकाे पढाइबारे रिपाेर्ट तयार हुन्छ । यसका लागि विद्यार्थीले गर्ने गृहकार्यको मूल्याङ्कन, प्रत्यक्ष कक्षा (live class) मा साेधिने प्रश्नकाे समाधान, भिडिओ हेर्ने तरिका, नाेटहरू पढ्ने तरिका आदिलाई एआईले आधार बनाउने गर्छ ।
एआईले बनाएकाे त्यही रिपाेर्टको आधारमा शिक्षक शिक्षिकाले विद्यार्थीलाई मार्गदर्शन गर्ने एकेडेमिक निर्देशक पाण्डे बताउँछन् । यो प्लेटफर्ममा भएकाे एआईले विद्यार्थीकाे कमजाेरी थाहा पाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
विद्यार्थी कहाँ कमजाेर छ भन्ने कुरा थाहा पाउने प्रक्रियालाई एआईले अटाेमेसन गरेकाे थापा सुनाउँछन् । यो प्लेटफर्मबाट एकै पटकमा लाखाैं विद्यार्थीकाे कमजाेरी केलाउन सकिन्छ ।
नाम
हामी सबैलाई आफ्नो लक्ष्य पूरा गर्न गुरुकाे आवश्यकता पर्छ । यही कुरालाई आधार बनाएर प्लेटफर्मकाे नाम एम्बिसन गुरु राखिएकाे हो ।
अझै पनि कक्षाकाेठामा शिक्षकको अनुपस्थितिमा पढाइ नै नहुने अवस्था छ । यस्तोमा विद्यार्थीलाई आफ्ना गुरुहरूले सँधै हेरिरहनु भएकाे छ भन्ने कुराको महसुस गराउन पनि याे नाम राखिएकाे कम्पनीका एकेडेमिक निर्देशक पाण्डे बताउँछन् ।
कस्ता छन् काेर्ष ?
कक्षा ११ बाट नै चिकित्सा शिक्षा आयाेग र इन्जिनियरिङ अध्ययन संस्थानले लिने प्रवेश परीक्षाकाे तयारीका लागि प्रि-मेडिकल (मिसन डक्टर) र प्रि-इन्जिनियरिङ (मिसन इन्जिनियर) काेर्ष रहेका छन् ।
त्यस्तै केही महिनाभित्र हुने चिकित्सा शिक्षा आयाेगकाे प्रवेश परीक्षाकाे लागि ‘सीईई महासंग्राम’ काेर्ष पनि उपलब्ध छ । यो काेर्षले छाेटाे समयमा विद्यार्थीलाई प्रवेश परीक्षाकाे तयारी गर्न सहयाेग गर्छ ।
जसका लागि प्रत्येक पाठ अनुसार एनिमेटेड भिडिओ, २० हजार बढी नाेट र ५० हजार भन्दा बढी बहु-वैकल्पिक प्रश्नाेत्तर तयार पारिएका छन् । यो प्लेटफर्ममा विभिन्न प्रवेश परीक्षा, लाेकसेवा आयाेगका परीक्षा, स्नातक तह र प्राेफेसनल डिग्रीहरूका सामग्री उपलब्ध गराउने कम्पनीको योजना छ ।
विद्यालय तह (१-१०) का लागि भने एम्बिसन गुरुले अध्ययन सामग्री बनाउने छैन । विद्यालय तहका विद्यार्थीले भाैतिक कृयाकलापबाटै शिक्षा लिनुपर्छ भन्ने साेच अनुरूप यो नीति लिइएको पाण्डे बताउँछन् ।
“कक्षा काेठामा प्रविधि प्रयाेग गर्न सकिन्छ । तर उनीहरूलाई ग्याजेट्स (प्रविधि) मा भर पार्नु हुँदैन,” उनी भन्छन्, “कक्षा काेठामा सिक्दा उनीहरू सामाजिक पनि हुन्छन् ।”
अब प्लेटफर्ममा नर्सिङ लाइसेन्स परीक्षा र लाेकसेवा आयाेगले लिने विभिन्न तहका परीक्षाका लागि आवश्यक सामग्रीहरू उपलब्ध गराइनेछ । त्यस्तै स्नातक र स्नातकाेत्तर तहकाे अकाउन्टिङ र फाइनान्स विषयकाे पाठ्य सामग्रीकाे निर्माण अन्तिम चरण पुगेकाे उनले सुनाए ।
अन्य प्लेटफर्म भन्दा कति छ फरक ?
सामान्यतया कुनै पनि नयाँ विषय छिटाे बुझ्न ‘भिजुअल’ अर्थात् दृश्य सामग्रीले प्रमुख भूमिका खेल्छ । अझ विज्ञान विषयमा यसकाे महत्त्व धेरै हुन्छ ।
विज्ञानमा भएका सिद्धान्तलाई भिजुअल नगरेसम्म बुझिँदैन । याे कुराकाे समाधान भनेकाे भिडिओ सामग्री नै हुन् ।
अहिले पनि धेरै जसाे कक्षामा याद गर्ने अथवा रट्ने शैली अभ्यासमा छ । तर एम्बिसन गुरुले यसकाे समाधानका लागि पाठमा भएका विशेष शब्दलाई लिएर एनिमेटेड भिडिओ बनाएकाे छ ।
“टेक अ वे सिद्धान्तलाई लिएर हामीले उक्त काम गरेका हाैं,” पाण्डे प्रष्ट पार्दै भन्छन्, “एक पटक विद्यार्थीले भिडिओ हेरेपछि सँधैका लागि सम्झिने गर्छन् । एनिमेटेड भिडिओबाट सिद्धान्त बुझ्न धेरै सहज हुन्छ ।”
भाैतिक कक्षामा विद्यार्थी आफैं उपस्थित भएनन् भने उनीहरूकाे पढाइ छुट्छ । उनीहरूले नाेटहरू छुटाउँछन् । तर अनलाइनबाट कक्षा लिँदा विद्यार्थीले जुनसुकै समयमा अध्ययन गर्न सक्छन् ।
पाण्डेका अनुसार प्लेटफर्ममा प्रत्यक्ष कक्षाको व्यवस्था समेत मिलाइएको छ । साे कक्षा भइरहँदा विद्यार्थीकाे स्क्रिनमा प्रश्नहरू पपअप (Popup) हुन्छन् ।
जसलाई विद्यार्थीले तत्कालै समाधान गर्नु पर्ने हुन्छ । नतिजा पनि तुरुन्तै पाइन्छ । यसाे हुँदा कक्षा चलिरहेकै समयमा विद्यार्थीले कहाँ गल्ती गरे भन्ने कुरा शिक्षकले थाहा पाउने उनी बताउँछन् ।
यदि विद्यार्थीले साे कक्षामा भाग लिन पाएन भने रेकर्डेड भिडिओ हेर्न सक्छ । कुनै पनि पाठभित्र गइसकेपछि त्यहाँ उनीहरूले साे पाठकाे रेकर्डेड र एनिमेटेड भिडिओ हेर्न पाउँछन् ।
त्यस्तै विद्यार्थीले कुनै कुरा बुझेनन् भने प्लेटफर्ममा उपलब्ध ‘आस्क’ (Ask) फिचर प्रयाेग गर्न सक्छन् । यसमा विद्यार्थीले आवाज, शब्द वा फाेटाे जस्ता कुनै पनि माध्यमबाट प्रश्न साेध्न सक्छन् ।
साे जिज्ञासा एम्बिसन गुरुकाे दरबारमार्गमा अवस्थित कार्यालयमा भएका ५० जना शिक्षक शिक्षिकालाई जान्छ । त्यसपश्चात् सम्बन्धित शिक्षक शिक्षिकाले विद्यार्थीलाई उत्तर पठाउँछन् ।
यस बाहेक एआईले पनि सम्बन्धित नाेट र भिडिओ विद्यार्थीलाई पठाउने गर्छ । प्रत्यक्ष कक्षाका लागि भने कम्पनीले ललितपुरको यूएनपार्क नजिक हाईटेक स्टुडियाे सञ्चालन गरेकाे छ ।
स्टुडियाेबाट फाेरके रेजुलेसनका भिडिओ लाइभ स्ट्रमिङ गरिन्छ । एम्बिसन गुरुमा भएकाे अर्काे राम्राे पक्ष भनेको पाठहरूकाे पनि वर्गीकरण हाे । कुनै पनि शीर्षकलाई खण्ड खण्ड बनाएर अध्ययन गर्दा पढ्न सजिलाे हुने गर्छ ।
“कुनै पनि पाठमा जाँदा त्यहाँ पाँचदेखि दश मिनेटकाे भिडिओ र नाेट हुने गर्छ,” उनी भन्छन्, “त्यसपछि उनीहरूले सोही भागको मात्र परीक्षा दिनुपर्ने हुन्छ । यसाे हुँदा उनीहरू कुन पाठमा कहाँ कमजाेर छु/कहाँ बलियाे छु भन्ने थाहा पाउँछन् ।”
अहिले सञ्चालन भइरहेका अरु ई-लर्निङ प्लेटफर्म हेरेर एम्बिसन गुरु बारेमा साेच नबनाउन उनी आग्रह गर्छन् । विद्यार्थी स्वयम्ले हेरेर, बुझेर मन परे मात्र ‘इनरोल’ (भर्ना) गर्नुपर्ने उनकाे सुझाव छ ।
कक्षा
अहिले यो प्लेटफर्ममा बिहान साढे ६ र बेलुका ५ बजे प्रत्यक्ष कक्षा सञ्चालन भइरहेका छन् । विद्यार्थीले पढ्नु पढ्ने सामग्रीबारे बिहानै ‘आस्क’ सेक्सनमा ‘नोटिफिकेसन’ आउँछ ।
विद्यार्थीले त्यसै अनुसार तयार हुन्छन् । प्लेटफर्मकाे अहिले एन्ड्राेइड, आईओएस र वेब भर्सनमा एप सञ्चालनमा छ ।
तर अधिकांश विद्यार्थीले माेबाइल एपबाटै अध्ययन गरिरहेकाे पाण्डेले सुनाए । बजारमा ई-लर्निङ प्लेटफर्म धेरै हुँदा विद्यार्थीले गुणस्तरीय शिक्षा नपाउने सम्भावना उच्च हुन्छ ।
त्यस्तै दक्ष शिक्षक शिक्षिकाहरू शहरी क्षेत्रमा मात्र बस्न रुचाउने हुँदा माेफसलका विद्यार्थीले गुणस्तरीय शिक्षा पाउन सक्दैनन् । यही समस्यामा केन्द्रित भएर एम्बिसन गुरु तयार पारिएको छ ।
“हामीसँग लामाे समयदेखि शिक्षण पेसामा आवद्ध भएका दक्ष शिक्षक शिक्षिकाहरू हुनुहुन्छ,” पाण्डे भन्छन्, “यस कारण ग्रामीण भेगका विद्यार्थीले पनि काठमाडाैंका नामी कलेजका विद्यार्थीले पाउने सरहको गुणस्तरिय शिक्षा प्राप्त गर्न सक्छन् । जसले गर्दा उनीहरूले पनि प्रतिस्पर्धामा भाग लिन सक्छन् ।”
शुल्क
प्लेटफर्ममा भएकाे मिसन डक्टर र इन्जिनियर प्याकेजकाे शुल्क हाल एक हजार ९९७ रुपैयाँ राखिएको छ । याे प्याकेजकाे उद्देश्य कक्षा ११ बाट नै विद्यार्थीलाई स्वास्थ्य र इन्जिनियरिङकाे प्रवेश परीक्षाका लागि तयारी गराउनु हाे ।
विद्यार्थीले याे प्याकेज लिँदा विद्यालयकाे पढाइमा समेत सहयाेग मिल्ने बताइएको छ । “राष्ट्रिय परीक्षा बाेर्डले समेत ११ नम्बरकाे बहु-वैकल्पिक प्रश्न साेध्ने गर्छ । त्यस्तै प्रवेश परीक्षामा उत्तिर्ण हुने अधिकांश विद्यार्थीले कक्षा ११ बाटै तयारी गरिरहेका हुन्छन्,” पाण्डे थप्छन् ।
“त्यसै अनुरूप याे प्याकेज ल्याएका छौँ । यसले उनीहरूकाे पढाइमा पनि निकै फाइदा पुर्याउने छ ।” एमबीबीएस प्रवेश परीक्षाकाे तयारी कक्षाका प्याकेजकाे शुल्क भने ३५०० रुपैयाँ छ ।
याे मूल्य पनि घटाउने याेजनामा रहेकाे पाण्डेले सुनाए । उनका अनुसार सबै विद्यार्थीले सहुलियत शुल्कमा पढ्न पाउने गरी तयारी भइरहेकाे छ । यसका लागि एम्बिसन गुरुले अहिले विभिन्न कलेजसँग सहकार्य पनि गरिरहेकाे छ ।
कलेजले कक्षा ११ र १२ का विद्यार्थीकाे शैक्षिक स्तर पत्ता लगाउनका लागि आफ्नाे एआई प्रयाेग गर्ने गरेकाे उनी बताउँछन् । आफ्नाे प्रविधि प्रयाेग गर्ने कलेजका उत्कृष्ट तीन प्रतिशत विद्यार्थीलाई एमबीबीएस र इन्जिनियरिङकाे प्रवेश परीक्षा प्याकेजमा छात्रवृत्ति दिने कम्पनीले बताएको छ ।
त्यस्तै साप्ताहिक मकटेस्टमा उत्कृष्ट हुने विद्यार्थीलाई समेत विभिन्न पुरस्कारको व्यवस्था छ । पाण्डेका अनुसार राम्राे अध्ययन गर्ने विद्यार्थीले अन्त्यमा सबै शुल्क फिर्ता पाउन सक्छन् । हाल एम्बिसन गुरुको मकटेस्ट र नाेटहरू नि: शुल्क उपलब्ध छन् ।
शिक्षक शिक्षिका
एम्बिसन गुरुमा इच्छुक शिक्षक शिक्षिकाले अध्यापन गराउन सक्छन् । तर कम्पनीले दिने एक महिनाकाे तालिम भने लिनुपर्ने हुन्छ ।
उक्त तालिममा प्रिजेन्टेसन कसरी दिने, विद्यार्थीकाे समस्यालाई कसरी सम्बाेधन गर्ने, कसरी प्रविधिसँग अभ्यस्त हुने भन्ने जस्ता कुराहरू समावेश हुन्छन् । तालिम पश्चात मात्र शिक्षक अध्यापन गराउन जाने भएकाले गुणस्तर उत्कृष्ट हुने कम्पनीको दाबी छ ।
“हाम्राे सफलताकाे मापन भनेकाे विद्यार्थीकाे सफलता हाे । यसका लागि गुणस्तरीय सामग्री हुनु पर्छ । याे कुरामा सम्झाैता नगर्न शिक्षक शिक्षिकालाई तालिम दिने गर्छाैँ, ” उनी भन्छन्, “बजारमा अनेक प्लेटफर्म सञ्चालनमा रहेकाले विद्यार्थीले एक क्लिकमै प्लेटफर्म परिवर्तन गर्न सक्छन् । त्यसाे हुँदा हामी याे कुरामा सर्तक छाैँ ।”
एम्बिसन गुरुले विषयगतभन्दा पनि एकाइ अनुसार शिक्षक शिक्षिका राखेकाे छ । विद्यार्थीले कुन शीर्षकमा प्रश्न साेधेकाे हाे, त्यही अनुसार शिक्षक शिक्षिकाहरूलाई सूचना जान्छ ।
प्रत्यक्ष कक्षाका लागि कम्पनीले सय भन्दा बढी र विद्यार्थीकाे समस्या समाधानका लागि ५० शिक्षक शिक्षिका राखेकाे छ ।
भावी याेजना
अबकाे केही वर्ष नेपालमा भएका शैक्षिक सामग्रीलाई डिजिटलाइज गरेर याे प्लेटफर्म विदेशमा पनि लाने याेजनामा कम्पनी छ । ई-लर्निङ प्लेटफर्म भनिएका कतिपयले भिडिओ लाइब्रेरीकाे साइट बनाउने, लाइभ कक्षा मात्र सञ्चालन गर्ने र कसैले विद्यार्थीकाे स्तर सुधारका लागि जाँच नगर्ने अवस्था छ ।
एम्बिसन गुरुलाई यी तिनै कुरा एकै ठाउँमा भएकाे प्लेटफर्म बनाउन लागिएको पाण्डेले बताए । सीईई महा संग्राम सार्वजनिक भएकाे एक महिनामै चार हजारभन्दा बढी विद्यार्थी भर्ना भइसकेका छन् ।
गुणस्तर र विद्यार्थीकाे प्रगतिलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताए । हरेक क्षेत्रमा प्रविधि हावी भइरहँदा शिक्षामा समेत यस्ताे नवीन प्रविधि प्रयाेग हुँदा शैक्षिक गुणस्तर समेत वृद्धि हुने देखिन्छ ।