close

काठमाडौँसँग प्रतिस्पर्धा गरिरहेको झापाको १२ वर्ष पुरानो आईटी कम्पनी

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

साउन १८, २०८२ १६:१

काठमाडौँसँग प्रतिस्पर्धा गरिरहेको झापाको १२ वर्ष पुरानो आईटी कम्पनी

काठमाडौँ । कहिलेकाहीँ काम गर्नको लागि शैक्षिक डिग्री होइन सिप र दक्षता चाहिन्छ भन्ने कुराको राम्रो उदाहरण हुन् रोशन बुढाथोकी । प्राविधिक शिक्षाको कुनै डिग्री त छैन उनी सँग तर उनैले सुरुवात गरेको आईटी कम्पनी ‘क्रिस्टल सोलुसन’ अहिले काठमाडौँका कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै देशभर आफ्नो सेवा विस्तार गर्ने जमर्को गरिरहेको छ ।

बुढाथोकीले यस कम्पनीको सुरुवात १२ वर्ष अगाडि गरेका थिए । तर प्रविधिप्रतिको उनको रुची भने पहिलेदेखि नै थियो । विसं २०५९ सालमा एसएलसी दिएर फुर्सदमा थिए, बुढाथोकी । त्यही समयको सदुपयोग गर्दै उनी कम्प्युटर सिक्न गए । यो सिकाइले उनलाई यति मोहनी लगायो कि उनले यसै क्षेत्रमा आफ्नो भविष्य देखे । 

तर आईटीको औपचारिक अध्ययन उनको लागि सहज बनेन । एकातिर झापामा आईटी कलेजको अभाव थियो अर्कोतिर काठमाडौँमा गएर पढ्न उनको आर्थिक अवस्थाले दिएन । यसपछि व्यवस्थापन संकायमा नै आफ्नो औपचारिक अध्ययनलाई अगाडि बढाउने निर्णय गरे । 

स्नातक तहमा पढिरहँदा उनले झापाकै एक निजी विद्यालयको प्राथमिक तहमा गणित पढाउने काम सुरु गरे । तर कम्प्युटरप्रतिको उनको मोह र रुची त्यति नै थियो । झनै कम्प्युटर पढाउने शिक्षकले विद्यालय छाडेपछि उनले सोही विद्यालयमा कम्प्युटर पनि पढाउने अवसर पाए । यो अवसरलाई उनको रुचीमा भर्‍याङ हाल्ने काम गर्यो । अर्कातिर आफूले पढाउने विद्यालयको नजिकै रहेको गोमेन्द्र क्याम्पसमा बीसीए पढ्ने विद्यार्थी र शिक्षकहरूसँग उनको सँगत थप बढ्दै गयो । 

“खाजा खाने बेला क्यान्टिनमा बसेर बीसीएका साथीहरूसँग प्रोगामिङको विषयमा सिक्थेँ । कहिलेकाहीँ त क्लासमा नै बस्ने मौका पनि मिल्थ्यो,” उनी सम्झिन्छन्, “बेला बेला बीबीएस छोडेर बीटेकमा भर्ना हुने सोच पनि नआएको होइन । तर साथीहरूले कक्षामा सिकेका कुरा व्यवहारमा उतार्न समस्या भइरहेको देखेपछि बीबीएसलाई नै निरन्तरता दिएँ ।” यसैबिच उनले टिकाराम खतिवडा नामका साथीसँग मिलेर एक विद्यालयका लागि एउटा सामान्य किसिमको इन्भेन्टरी सिस्टमको प्रयोग गरेर एउटा एप पनि बनाइदिए । 

आफ्नो अध्ययनलाई निरन्तरता दिदैँ उनी उच्च शिक्षाका लागि सन् २००९ मा एमबीए (Masters in Business Administration) पढ्न लन्डन गए ।  उता पढाइसँगै उनले प्रोगामिङमै फ्रिल्यान्सिङ गरिरहेका थिए जहाँ उनले आफ्नो सीप निखार्दै गए । टिकाराम भने दुबईमा थिए । तर पनि दुई जना मिलेर नयाँ ईकमर्स लगायतका वेबसाइट बनाउने वा पुरानोलाई परिष्कृत गर्ने काम चलि नै रहेको थियो । 

तीन वर्षमा उनी एमबीए सक्काएर विसं २०७० मा पुन झापा फर्किए । 

उनी भन्छन्, “नेपाल आउँदा कि त आईटी कम्पनीमा काम गर्छु की त आफ्नै अफिस खोल्छु सोचेको थिएँ ।” अध्ययनमा नै ध्यान दिएकाले आफूसँग धेरै पैसा नभएकाले लगानी कसरी गर्ने भन्नेमा उनको अन्योलता थियो । सोही क्रममा पहिला सँगै स्कुल पढाउँदा भेट भएका दिलीप राजवंशीसँग सम्पर्क भयो ।

‘निभा म्यामेजमेन्ट एन्ड आईटी कलेज’मा पढ्दै गरेका दिलीपले कलेजले चार दिने जाभा वर्कसपको लागि जाभा सिकाउने व्यक्ति खोजिरहेको सुनाए । त्यहाँ बुढाथोकीले वर्कसपमा जाभाको प्रयोगबाट एप्लिकेसन बनाउन सिकाउने मौका पाए र केही समयपछि त्यही जाभाको अध्यापन नै गराउन सुरु गरे । 

शिक्षण गरिरहँदा नै बुढाथोकीले 'क्रिस्टल सफ्टवेयर एन्ड वेब डेभलपमेन्ट' नामक कम्पनी दर्ता गराएर स्कुल म्यानेजमेन्ट सफ्टवेयर बनाउने काम सुरु गरे । कम्पनी दर्ता गर्दा उनीसँग दिलीप राजवंशी, प्रज्ज्वल राई, अर्जुन चौधरी, अञ्जल काफ्ले र पछि राजु पौडेल पनि साथमा थिए । २५ वर्षभन्दा कम उमेरका उनीहरूसँग कम्पनी स्थापना गर्न आवश्यक पैसा थिएन । कम्पनी सुरु गर्नकै लागि साथीहरूबाट कूल ९५ हजार रुपैयाँ जुटाए । जसमध्ये दुई साथीबाट ४५ हजार र रोशनले आफ्नी आमाको लघुवित्तको खाताबाट ५० हजार ऋण निकाली संस्था सञ्चालनका लागि लगानी जुटाएका थिए । 

तर कम्पनी सञ्चालन त्यति सहज कुरा होइन । सुरुवाति दिनमा कम्पनीलाई स्कुल म्यानेजमेन्ट सफ्टवेयर र मोबाइल एप बेच्न समस्या भयो । “त्यो बेलामा नै हामीले मोबाइल एप बनाएर सेवा दिन खोजेका थियौँ । तर स्कुलहरूलाई एपको आवश्यकता बारेमा त्यति जानकारी थिएन । इन्टरनेट पनि राम्रोसँग नचल्ने भएकाले यसको प्रयोग गरेर चलाउन पनि गाह्रो थियो ।” पहिलो पटक आफ्नो छिमेकमै भएको स्कुलले आफ्नो प्रणाली खरीद गरेको उनी सुनाउँछन् । 

व्यवसाय सुरु त गरियो तर आम्दानी भने हुन सकेन । बुढाथोकीले सुरुमा कलेज पढाएको पैसाबाटै कम्पनी चलाए, जसलाई आफ्नै आम्दानीमा निर्भर हुन पाँच वर्ष लाग्यो । कोभिड-१९ महामारीअघि 'क्रिस्टल सोलुसन' (पुरानो नाम क्रिस्टल सफ्टवेयर एन्ड वेब डेभलपमेन्ट) का १०० भन्दा बढी ग्राहक थिए । तर, महामारीको समयमा अनलाइन कक्षामा जान नसक्दा र लकडाउनभर घरमै बस्दा कम्पनीलाई ठुलो नोक्सानी भयो र ग्राहक सङ्ख्या २० भन्दा कममा झर्‍यो ।

यसपछि भने रोशनले कलेज पढाउने काम छोडेर सम्पूर्ण ध्यान कम्पनी सञ्चालनमा केन्द्रित गरे । परिणामस्वरूप कम्पनीले दुई वर्षमा नै सुरुका आठ वर्षमा भन्दा बढी प्रगति हासिल गर्न सफल भयो । पछिल्ला तीन वर्षदेखि भने रोशन एक्लैले कम्पनी सञ्चालन गरिरहेका छन् । झापाको बिर्तामोडमा रहेको क्रिस्टल सोलुसन्सले सफ्टवेयर डेभलपमेन्ट, मोबाइल एप, वेबसाइट डिजाइन, बल्क एसएमएस लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ । यस्तै स्कुल, कलेज, होटल, रेस्टुरेन्ट लगायतका कम्पनीहरूका लागि ईआरपी (इन्टरप्राइज रिसोर्स प्लानिङ) सिस्टम प्रदान गर्छ । 

निजी विद्यालय, कलेज र गाउँपालिका गरी अहिले कम्पनीका २०० भन्दा बढी ग्राहक छन् । रोशनले इन्टर्नबाहेक १० जनालाई रोजगारी दिएका छन् र पाँच जना मार्केटिङ पार्टनरहरूसँग मिलेर सेवाको बजारीकरण गरिरहेका छन् ।

कम्पनीले कोशी प्रदेशका लगभग सबै जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ । अब बिस्तारै नेपालभर सेवा विस्तार गर्ने योजनाअनुसार मधेस प्रदेश र बागमती प्रदेशमा पनि मार्केटिङ एजेन्टहरूसँग मिलेर बिक्री सुरु गरिएको रोशनले बताए । भारतको सीमा नजिकै भएकाले क्रस बोर्डर क्षेत्रमा पनि सेवा विस्तारको सम्भावनाबारे उनी अध्ययन गर्दै छन् । 

रोशन बुढाथोकीको मान्यता छ - औपचारिक डिग्री लिएका व्यक्तिहरूले मात्र राम्रो काम गर्न सक्छन् भन्ने हुँदैन । त्यसैले उनी कम्पनीमा कर्मचारी राख्दा डिग्रीभन्दा सीप र उनीहरूको रुचिमा ध्यान दिन्छन् । अचेल बिर्तामोडबाटै वार्षिक १६० जना विद्यार्थीहरूले आईटीमा स्नातक पूरा गर्छन् । 

तर, झापामा आईटी कम्पनीहरू कम भएकाले ती विद्यार्थीलाई इन्टर्नशिप पाउन समस्या हुने गरेको छ । यसलाई सम्बोधन गर्न 'क्रिस्टल सोलुसन' ले हरेक वर्ष चार पटक इन्टर्नशिप खुलाउँछ र विद्यार्थीहरूलाई कम्पनीमा कसरी प्रोडक्टिभ हुने भनेर सिकाउँछ ।

रोशन आफ्नो घर-परिवार र समाजप्रति रहेको जिम्मेवारीका कारण काठमाडौँ गएर काम गर्ने सोच कहिल्यै नआएको बताउँछन् । मोफसलमा रहेर काम गर्दा सुरुमा चाहेजस्तो कर्मचारी पाउन गाह्रो भए पनि आईटी कलेजहरूको वृद्धिले यो समस्या कम हुँदै गएको छ । उनी झापामा रहेर पनि काठमाडौँका कम्पनीहरूसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

 “कहिलेकाहीँ काठमाडौँका कम्पनीहरूले हाम्रो सर्भिसलाई रिप्लेस गरिरहेका हुन्छन् । हामीले पनि काठमाडौँका कम्पनीलाई रिप्लेस गर्छौँ ।” कुनै भूगोल भन्दा पनि आफ्नो क्षमता अनुसार सेवाग्राहीको विश्वास जित्दै आएको बुढाथोकीको भनाई छ ।

पछिल्लो अध्यावधिक: साउन १८, २०८२ १६:१२