काठमाडौं । अमेरिकी सदनपछि जर्मनको परराष्ट्र मन्त्रालयले आफ्ना कर्मचारीलाई भिडियो कन्फ्रेसिङ एप ‘जूम’ प्रयोग गर्नमा रोक लगाएको छ ।
यसअघि अमेरिकाको माथिल्लो सदनले आफ्ना सदस्य र त्यहाँ कार्यरत कर्मचारीलाई जूम प्रयोग नगर्न आग्रह गरेको थियो । पछिल्लो समय सुरक्षासँग सम्बन्धि विषयलाई लिएर जूम विवादित बनिरहेको भन्दै उक्त एप प्रयोग नगर्न आग्रह गरिएको थियो ।
अमेरिकी सदनले जूम प्रयोगमा प्रतिबन्ध नै नलगाए पनि स्काइप लगायतका अन्य भिडियो कन्फ्रेन्सिङ एप प्रयोग गर्न आग्रह गरेको थियो । तर, जर्मनको परराष्ट्र मन्त्रालयले भने उर्दी जारी गरेरै जूम प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
हालसम्म जूम प्रयोगमा प्रतिबन्ध लगाउनेमा गूगल, ताइवानी सरकार, अस्ट्रेलियन सरकार, स्पेस एक्स, न्युयोर्क स्टेट एरिया स्कूल समेत रहेका छन् । कोरोनाभाइरसका कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएसँगै पछिल्लो समय जूमको प्रयोग भारी मात्रामा वृद्धि भएको थियो ।
तर, सुरक्षा सम्बन्धी समस्या देखा परेसँगै यसको प्रयोगमा ठूलो गिरावट आइरहेको दाबी गरिँदै आएको छ । यद्यपी आलोचनाबाट बच्न जूमले एकपछि अर्को सुरक्षा अपडेट समेत सार्वजनिक गरिरहेको छ ।