close

कोरोना उपचारबारे भ्रामक जानकारी फैलाएपछि ट्वीटरले फेरी हटायो ट्रम्पको पोस्ट

टेकपाना टेकपाना

साउन १४, २०७७ १३:४१

कोरोना उपचारबारे भ्रामक जानकारी फैलाएपछि ट्वीटरले फेरी हटायो ट्रम्पको पोस्ट

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ट्वीटरबीचको जारी द्वन्द्ध अर्को तहमा पुगेको छ । कोभिड – १९ को उपचारका लागि भन्दै राष्ट्रपति ट्रम्प र उनका छोराले झूठो औषधीको भ्रामक प्रचारबाजी गरेको भन्दै ट्वीटरले उनीहरुको ट्वीटलाई प्लेटफर्मबाट हटाइदिएको हो ।

एकजना चिकित्सकले विना प्रमाण कोरोना भाइरसको औषधी छ भनी दाबी गरेको पोस्टमा ट्रम्पले पनि रिट्वीट गरेका थिए । ट्वीटरले सोही पोस्टलाई भ्रामक जानकारी भन्दै आफ्नो प्लेटफर्मबाट हटाएको हो ।

ट्रम्पले आफ्नो रिट्वीटमा ती चिकित्सकको कुरामा सहमति जनाउँदै लेखेका थिए, ‘मलाई लाग्छ उनको बोली महत्वपूर्ण छ, तर मलाई उनको बारेमा केही पनि थाहा छैन ।’ ट्रम्पले कोरोना भाइरसको उपचार एलियनको डीएनएले गर्न सक्ने रिट्वीटमा लेखेका थिए ।

साथै उनले ती चिकित्सकको पोस्टको बचाउ समेत गरेका थिए ।‘हाइड्रोक्सिनक्लोरोकिन’ ले कोरोना भाइरससँग लड्न मद्दत गर्ने भन्दै ती चिकित्सकले व्यापारिक फाइदाको प्रयोजनले गरेको ट्वीटर पोस्टलाई हटाएसँगै ट्विटरले राष्ट्रपति ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरको अकाउन्टमाथि समेत प्रतिबन्ध लागू गरेको छ ।

ट्वीटरले जुनियरको अकाउन्टलाई १२ घण्टासम्म ब्लक गरेको थियो ।ट्वीटरको प्रतिबन्धको विरोध गर्दै जुनियरका प्रवक्ता एन्ड्रु सुराबियनले भने, ‘ठूला टेक कम्पनीहरुले स्वतन्त्र अनलाइन अभिव्यक्तिलाई मारिरहेका छन् ।

यसको अर्को उदाहरण भनेको रिपब्लिकनहरुको आवाजलाई कमजोर बनाएर उनीहरु चुनावमा हस्तक्षेप गर्न खोजिरहेका छन् ।’राष्ट्रपति ट्रम्पको अघिल्ला ट्वीटहरुमा समेत फ्याक्ट चेक गर्दै आइरहेको ट्वीटरले भ्रामक जानकारीहरुको प्रसारमा रोक लगाउने आफ्नो नीति अन्तर्गत नै आफू काम गरिरहेको बताएको छ ।

राष्ट्रपति ट्रम्पको ट्वीट आफ्नो कोभिड १९ भ्रामक सूचना नीतिको विरुद्ध रहेको कम्पनीले विज्ञप्तिमा बताएको छ । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटमा ट्वीटरले ‘फ्याक्ट चेकिङ लेबल’ लगाइ दिएकाे थियो भने, ‘म्यानुपुलेटेड मिडिया’ लेबल लागेको ट्रम्पको भिडियो नै हटाइएकाे थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०