close

विद्यार्थीहरूलाई पढ्न सजिलो बनाउने गुगल जेमनाईको नयाँ फिचर स्टडी नोटबुक, कसरी प्रयोग गर्ने ?

टेकपाना टेकपाना

असार १४, २०८३ ९:७

विद्यार्थीहरूलाई पढ्न सजिलो बनाउने गुगल जेमनाईको नयाँ फिचर स्टडी नोटबुक, कसरी प्रयोग गर्ने ?

काठमाडौं । विद्यार्थीहरूले होमवर्क गर्न, अप्ठ्यारा विषयहरू बुझ्न र परीक्षाको अन्तिम समयमा रिभिजन गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्नु अब सामान्य भइसकेको छ । तर, एआईले उत्तरहरू छिटो दिए पनि विद्यार्थीलाई वास्तवमा 'के पढ्ने' र कुन विषयमा बढी ध्यान दिने भनेर ठ्याक्कै मार्गदर्शन गर्न सकिरहेको थिएन ।

अध्ययनको यही मुख्य समस्या समाधान गर्ने उद्देश्यका साथ गुगलले आफ्नो एआई टुल जेमनाइमा नयाँ ‘स्टडी नोटबुक (Study notebooks)’ फिचर ल्याएको छ ।

यो नयाँ फिचर साधारण च्याटबट जस्तो प्रश्नको उत्तर मात्र दिने टुल होइन । यसले एउटा व्यक्तिगत ट्युटरको रूपमा काम गर्छ, जसले विद्यार्थीलाई के आउँछ र कुन विषयमा ऊ कमजोर छ भन्ने कुरा बुझेर सोही अनुसार अनुकूल अध्ययन योजना बनाइदिन्छ ।

स्टडी नोटबुकले कसरी गर्छ काम ?

विद्यार्थीहरूले आफ्नो कोर्सको सामग्री, नोट र सिलेबस जेमनाईमा अपलोड गरेपछि यसले सिधै पाठहरू पढाउन सुरु गर्दैन । बरु, सुरुमा एउटा 'डायग्नोस्टिक क्विज' लिएर विद्यार्थीको वर्तमान स्तर र ज्ञानको कमी मापन गर्छ । जस्तै: यदि कुनै विद्यार्थीलाई बीजगणित (Algebra) आउँछ तर ज्यामिति (Geometry) मा कमजोर छ भने, जेमनाईले त्यो कमजोरी स्वतः पत्ता लगाउँछ ।

कमजोरी पत्ता लागिसकेपछि यसले विद्यार्थीलाई सुरुदेखि सबै कुरा पढ्न लगाउनुको सट्टा, सुधार गर्नुपर्ने विषयहरूमा मात्र केन्द्रित भएर साना र विशेष लेसनहरू (Bite-sized lessons) तयार गरिदिन्छ । अध्ययन गर्दै गर्दा विद्यार्थीले जुनसुकै बेला रोकेर प्रश्नहरू पनि सोध्न सक्छन् । साथै, आगामी केही महिनाभित्रै यी लेसनहरूमा डायग्राम र इन्टरएक्टिभ भिजुअलहरू पनि थपिने गुगलले जनाएको छ ।

१०० भन्दा बढी लक्ष्यसहितको प्रोग्रेस ड्याशबोर्ड

विद्यार्थीहरूको सिकाइ ट्र्याक गर्न गुगलले यसमा एउटा व्यक्तिगत 'प्रोग्रेस ड्याशबोर्ड' समावेश गरेको छ । यसले कुनै पनि सिकाइ लक्ष्यलाई १०० भन्दा बढी साना उद्देश्यहरूमा विभाजन गर्छ ।

त्यसपछि विद्यार्थीको अवस्थालाई Strengths (बलियो पक्ष), Focus areas (ध्यान दिनुपर्ने क्षेत्र) र Not started (सुरु नगरेको) जस्ता लेबलमा राखेर प्रगति ट्र्याक गर्छ । फलो-अप क्विजहरूको नतिजा अनुसार यो ड्याशबोर्ड आफैं अपडेट हुन्छ र विद्यार्थीले अब कुन विषयलाई प्राथमिकता दिने भनेर सिफारिस गर्छ ।

प्रतियोगी परीक्षाको तयारी र नोटबुकएलएमसँगको कनेक्सन

यसका साथै, यो फिचरले प्रतिस्पर्धात्मक र प्रवेश परीक्षाहरूको तयारी गर्न पनि विशेष मद्दत गर्नेछ । द प्रिन्स्टन रिभ्युका आधिकारिक र प्रमाणित प्रश्नहरूमा आधारित रहेर विद्यार्थीले स्याट (SAT) परीक्षाको तयारी गर्न सक्नेछन् । गुगलका अनुसार छिट्टै नै यसमा जी (JEE), नीट (NEET), एनेम (ENEM), एक्ट (ACT) र जीआरई (GRE) जस्ता परीक्षाहरूको सपोर्ट पनि थपिनेछ ।

अझ रोचक कुरा त के छ भने, स्टडी नोटबुकलाई गुगलको अर्को टुल नोटबुकएलएमसँग पनि जोडिएको छ । यसको मद्दतले विद्यार्थीहरूले आफूले अपलोड गरेका अध्ययन सामग्रीहरूलाई सजिलै फ्ल्याशकार्ड र भिडिओ एक्सप्लेनरमा बदल्न सक्छन् ।

कसरी प्रयोग गर्ने ?

गुगल जेमिनाइको नयाँ स्टडी नोटबुक (Study notebooks) फिचर प्रयोग गर्ने तरिका निकै सरल छ । यसलाई प्रभावकारी रूपमा प्रयोग गर्न तपाईंले सबैभन्दा पहिले जेमनाई एपको स्टडी नोटबुकमा आफ्नो सिलेबस, कक्षाका नोटहरू, पढ्ने सामग्री वा अन्य कोर्सका डकुमेन्टहरू अपलोड गर्नुहोस् ।

सामग्री अपलोड गरेपछि जेमनाईले तपाईंको हालको ज्ञान मापन गर्न एउटा 'डायग्नोस्टिक क्विज' तयार गर्छ । यो टेस्ट दिएपछि तपाईं कुन विषयमा बलियो हुनुहुन्छ र कहाँ तपाईंको ज्ञान अपुरो छ (Knowledge gaps) भन्ने यसले आफैं पत्ता लगाउँछ ।

तपाईंको कमजोरी पत्ता लागिसकेपछि, जेमनाईले तपाईंले सुधार गर्नुपर्ने विषयहरूमा मात्र केन्द्रित भएर साना र विशेष लेसनहरू (Bite-sized lessons) तयार गरिदिन्छ । पढ्दै गर्दा कुनै कुरा नबुझेमा तपाईंले जुनसुकै बेला रोकेर प्रश्नहरू पनि सोध्न सक्नुहुन्छ ।

प्रत्येक लेसन पढेपछि तपाईंले साँच्चै बुझ्नुभएको छ वा छैन भनेर जाँच्न जेमिनाइले फलो-अप अभ्यास क्विजहरू लिन्छ । यसले तपाईं उत्तर मात्र कण्ठ गर्दै हुनुहुन्छ वा साँच्चै सिकिरहनुभएको छ भन्ने मूल्याङ्कन गर्छ ।

यसमा रहेको 'प्रोग्रेस ड्याशबोर्ड' ले तपाईंको सिकाइलाई रियल-टाइममा ट्र्याक गर्छ । यसले सिकाइका लक्ष्यहरूलाई १०० भन्दा बढी साना उद्देश्यहरूमा विभाजन गर्छ र तपाईंको अवस्थालाई Strengths (बलियो पक्ष), Focus areas (ध्यान दिनुपर्ने क्षेत्र) र Not started (सुरु नगरेको) भनेर छुट्ट्याउँछ । यसैको आधारमा यसले तपाईंलाई अब कुन विषय पढ्ने भनेर सिफारिस गर्छ । साथै, यसलाई गुगलको नोटबुकएलएम (NotebookLM) सँग जोडेर आफ्ना सामग्रीहरूलाई फ्ल्याशकार्ड र भिडिओ एक्सप्लेनरहरूमा बदल्न पनि सक्नुहुन्छ ।

गुगलका अनुसार यो फिचर अहिले विश्वव्यापी रूपमा जेमनाईको वेब भर्सनमा व्यक्तिगत अकाउन्ट भएका प्रयोगकर्ताहरूका लागि रोलआउट भइसकेको छ । यसको मोबाइल भर्सन भने आगामी गर्मीयामको अन्त्यसम्ममा (Later this summer) मात्र उपलब्ध हुनेछ ।

त्यस्तै, १८ वर्ष मुनिका प्रयोगकर्तासहित स्कुलबाट उपलब्ध गराइएका अकाउन्टहरू (School-issued accounts) का लागि आगामी केही हप्ताभित्रै यो फिचर रोलआउट हुने गुगलले स्पष्ट पारेको छ । यससँगै अब जेमनाईको भूमिका अब केवल प्रम्प्टको उत्तर दिनेमा मात्र सीमित नभई यसले विद्यार्थीहरूको ज्ञानलाई योजनाबद्ध रूपमा ट्र्याक गर्न र अध्ययनलाई अझ प्रभावकारी बनाउन तर्फ ठुलो मद्दत गर्न सक्ने भएको छ ।

पछिल्लो अध्यावधिक: असार १४, २०८३ १०:१६