close

सिलिकन भ्यालीबाट किन टेक्सस जाँदैछन् ठूला प्रविधि कम्पनी ?

टेकपाना टेकपाना

मंसिर २७, २०७७ १८:१६

सिलिकन भ्यालीबाट किन टेक्सस जाँदैछन् ठूला प्रविधि कम्पनी ?

काठमाडौं । केही समय अघि टेस्लाका सीईओ एलोन मस्कले एउटा अन्तरवार्तामा कम्पनीलाई टेक्ससमा स्थानान्तरण गर्ने खुलासा गरेका थिए । गरेको दुई साता नबित्दै सिलिकन भ्यालीको अर्को कम्पनी एचपी इन्टरप्राइजले समेत सिलिकन छाडेर टेक्सस जाने घोषणा गर्‍यो ।

यसैबीच अर्को प्रविधि ब्राण्ड ओराकलले पनि आफ्नो स्वामित्व लिएर सिलिकन भ्यालीबाट टेक्सस जाने बताएको छ । ओराकलले आफ्नो कर्पोरेट मूख्यालय क्यालिफोर्नियाको रेडबुडबाट अस्टिनमा सार्दै त्यहाँ कर्मचारीको वर्क लोकेसन पोलिसी धेरै लचिलो भएको बताएको छ ।

ओराकलले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘हाम्रो यो कदमले हाम्रा कर्मचारीको वृद्धि विकासमा सहयोग पुर्‍याउनुका साथै उनीरुले काम गरेको ठाउँ र गर्ने तरिकामा पनि लचकता प्रदान गर्ने विश्वास छ ।’

ओराकलकी प्रवक्ताले यो स्थानान्तरणबारे केही पनि उत्तर दिन अस्वीकार गरेकी छिन् । तर उनले ओराकलका कर्मचारीसँग जहाँ बसेर पनि काम गर्ने छनौटको सुविधा हुने बताएकी हुन् । 

यस किसिमको निर्णय गर्ने एचपी इन्टरप्राइज र ओराकल प्रमुख प्रविधि कम्पनीहरु हुन् । गत वर्ष ब्रोकरेज जायन्ट कम्पनी चार्ल्स स्क्वाबले पनि सिलिकन भ्यालीबाट टेक्सस जाने घोषणा गरेको थियो  ।

साथै उसले टीडी अमेरिट्रेडसँग पनि २६ अर्ब डलरको मर्जरको घोषणा गरेको थियो । यी कम्पनी बाहेक प्रविधिका अन्य ठूला कम्पनी एप्पल र गुगलले पनि टेक्ससमा आफ्नो उपस्थितिलाई विस्तार गरिरहेका छन् ।

सन् २०१८ मा मात्र एप्पलले टेक्सस राज्यको राजधानी अस्टिनमा एक अर्ब डलरमा क्याम्पस स्थापना गर्ने घोषणा गरेको थियो । अझ गुगलले त १३ वर्ष अघि नै अस्टिनमा आफ्नो कार्यालय खोली सकेको थियो ।

उसले गत वर्षपछि अस्टिन सहरमा थप क्षेत्र भाडामा लिने तयारी गरेको जानकारी दिएको थियो ।वास्तवमा टेक्सस कर्मचारीहरुलाई बसोबास गर्न एउटा सस्तो ठाउँ हो । त्यसैले बिजनेस खर्च पनि यहाँ कम हुन्छ ।

त्यहाँ प्रतिस्पर्धा पनि त्यति धेरै छैन । यस्तै कारणले यी कम्पनीहरु टेक्ससप्रति आकर्षित भइरहेका छन् । साथै त्यहाँको संस्कृति पनि एउटा अर्को तत्व भएको धेरैको विश्वास छ । क्यालिफोर्नियामा डेमोक्रेट्सको दबदवा छ भने टेक्ससमा रिपब्लिकनको । यो क्षेत्रमा मध्यमार्गीहरु एक्लिएको महसुस गर्छन् ।

ओराकलका सहसंस्थापक तथा अध्यक्ष ल्यारी इलिसन पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको खुला समर्थक थिए । यसैबीच भेन्चर कम्पनी एट भीसी तथा पालान्टिर टेक्नोलोजिजका सहसंस्थापक जोइ लोन्सडेलले पनि क्यालिफोर्नियाबाट टेक्सस स्थानान्तरणबारे वालस्ट्रिट जर्नललाई बताएका छन् ।

क्यालिफोर्नियाका चरम बामपन्थीसँग आफूहरु थकित भएको उनले बताए । मत भिन्नताको विषयमा इमान्दारीपूर्वक छलफल गर्नुको साटो उनीहरुले विरोधीलाई दबाउने गरेको तितो अनुभव उनले सुनाए । 

एलोन मस्कले पनि आफू डेमोक्र्याटको सर्कलभन्दा बाहिर रहेको भन्दै आफ्नो राजनीतिक धारलाई ‘सामाजिक रुपमा एकदमै उदारवादी र आर्थिक रुपमा दक्षिणपन्थी वा मध्यपन्थी रहेको र आफू कम्युनिष्ट नभएको बताए । 

अहिले क्यालिफोर्नियाका धेरै धनाढ्यहरु अस्टिन वा फ्लोरिडा सरिरहेका छन् । फ्लोरिडा टेक्सस जस्तै अर्को रिपब्लिक नियन्त्रित क्षेत्र हो । जहाँको राज्यले कर संकलन गर्दैन । 

फाउण्डर्स फण्ड इन्भेस्टरका एकजना संस्थापक केथ रोबिसलाई पनि डेमोक्र्याटको समाजवादसँग निकै भय छ । समाजवादलाई प्रचार गरेको आरोप डेमोक्र्याट्समाथि रिपब्लिकनले समेत लामो समयदेखि लगाउँदै आइरहेको छ । 

ट्रम्पका अर्का समर्थक तथा भेन्चर क्यापिटलिस्ट डेभिड ब्लुमबर्गले पनि हालै मियामीतिर स्थानान्तरण भएको घोषणा गरेका छन् । हाल एकएक गर्दै सिलिकन भ्यालीदेखि भइरहेको यस किसिमको स्थानान्तरणले यो कतै स्थायी भएर एउटा संस्कृतिमा त विकास नहुने त होइन भन्ने प्रश्न जन्माएको छ । 

तर ट्वीटर तथा मेडियममा सहसंस्थपाक ईभी विलियम्स भने न्युयोर्क छाडेर पुनः सिलिकन भ्यालीमै फर्किएका छन् । उनी सिलिकन भ्यालीमा २० वर्ष विताएर स्थानान्तरण भएका थिए । तर उनले न्युयोर्कमा आफ्नो स्थानान्तरणलाई एउटा गलत निर्णय ठहर्‍याएका छन् । 

एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४