close

‘डट एनपी’ डोमेन सरकारको नियन्त्रणमा आउँदै

टेकपाना टेकपाना

पुस २१, २०७७ २०:१६

‘डट एनपी’ डोमेन सरकारको नियन्त्रणमा आउँदै

काठमाडौं । ‘एनपी’ डोमेनलाई सरकारी स्वामित्वमा ल्याइने भएको छ । इन्टरनेट कर्पोरेसन फर असाइन्ड नेम एण्ड नम्बर्स (आईक्यान) ले नेपालको नाममा छुट्याएको डट एनपी (.np) अहिलेसम्म निजी सेवा प्रदायक कम्पनी मर्कन्टायल कम्युनिकेशन प्रालिले व्यवस्थापन गर्दै आएको छ ।

अब उक्त डोमेनलाई सरकारको नियमनभित्र ल्याउने तयारी भएकाे हाे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यसअघि एनपी डोमेन नियमन तथा व्यवस्थाप गर्ने गरी आवश्यक राय सुझाव दिन सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो ।

उक्त समितिले बुधबार मन्त्रालयलाई सुझाव बुझाउने तयारी गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार सुझाव पत्रमा तीन फरक मोडालिटी प्रस्तुत गरिएको छ । जसमा सरकार रजिस्ट्रीको रुपमा रहने अर्थात् सरकारले नियमन गर्ने र कुनै कम्पनीलाई रजिस्ट्रेसनको जिम्मा दिन सक्नेछ ।

यो मोडालिटिमा डाटावेस सबै सरकारसँग रहनेछ । तर, रजिस्ट्रेसनको काम भने तोकिएको कम्पनीले गर्नेछ । त्यस्तै रजिस्ट्री र रजिस्ट्रेसन दुवै काम सरकारले नै गर्न सक्ने अर्को मोडालिटी पनि प्रस्तुत गरिएको छ । यसमा नियमन र रजिस्ट्रेसनको दुवै काम सरकार आफैले गर्ने छ ।

तेस्रो मोडालिटीमा सरकारले नियमन र व्यवस्थापन दुवै आफैले गरेता पनि सञ्चालनका लागि आउटसाेर्स नियुक्त गर्न सक्नेछ छ । यो हुँदा सबै कुरा सरकारको नियन्त्रणमै हुने र काम भने तोकिएको कम्पनीले गर्नेछ ।

‘जुनसुकै मोडलमा सरकारले काम गरेता पनि डेटा व्यवस्थापनको कार्य भने सरकार आफैले गर्नु पर्ने हुन्छ,’ स्रोतले भन्यो, ‘त्यो हुँदा चरणवद्ध रुपमा डेटालाई स्थानान्तरण गर्ने गरी मन्त्रालयलाई सुझाव दिने तयारी भएको छ ।’

जसमा लागत, डेटा व्यवस्थापना, कर्मचरी व्यवस्थापन लगायतको विषयमा पनि समितिले सुझाव दिएकाे छ । डोमेन व्यवस्थापनका लागि अन्तराष्ट्रिय रुपमा काम गर्दै आएको संस्था आइक्यानसँग गर्नुपर्ने कार्यसमेत उक्त सुझावमा समेटिएको स्राेतले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१