काठमाडौं । म्यानमारमा स्थानीय निर्वाचनमा विवाद उत्पन्न भएसँगै सोमबारदेखि त्यहाँकाे सेनाले सत्ता हातमा लिएको छ । योसँगै देशमा सैनिक शासन लागू भएको छ ।
यसको असर स्वरूप म्यानमारका धेरै स्थानमा टेलिफोन र इन्टरनेट सेवा समेत बन्द भएका छन् । सेनाले आफू समर्थित टेलिभिजनमार्फत एक वर्षका लागि संकटकाल घोषणा गरेको जानकारी दिएको छ ।
आफू समर्थित टेलिभिजन च्यानल सञ्चालनमा रहेको भएता पनि अन्य धेरै टेलिभिजन सेवा बन्द गरिएको छ । बीबीसीका अनुसार बीबीसी वर्ल्ड न्युज च्यानलका साथ अन्य अन्तर्राष्ट्रिय च्यानल समेत बन्द भएका छन् ।
राजधानीसहितका सहरहरुमा टेलिफोन र इन्टरनेट सेवा बन्द भएका छन् । भने, बैंकका एटीएमहरु समेत बन्द भएको बताइएको छ ।
त्यस्तै बैंकका सेवा पनि पूर्ण रुपमा बन्द गरिएको छ । यी सेवाहरु पुनः कहिले सुचारु हुन्छन भन्ने कुनै जानकारी प्राप्त भएकाे छैन ।