close

सैनिक ‘कू’ पछि म्यानमारमा फेसबुक प्रतिबन्ध

टेकपाना टेकपाना

माघ २३, २०७७ १३:४६

सैनिक ‘कू’ पछि म्यानमारमा फेसबुक प्रतिबन्ध

काठमाडौं । म्यानमारमा स्थानीय निर्वाचनमा विवाद उत्पन्न भएसँगै सोमबारदेखि त्यहाँको सेनाले सत्ता हातमा लिएको छ । योसँगै देशमा सैनिक शासन लागू भएको छ ।

सैनिक शासन लागुभएसँगै सुरुवातमा देशका कतिपय स्थानमा टेलिफोन र इन्टरनेट सेवा समेत बन्द भएका थिए । अझै पनि कतिपय सहरमा टेलिफोन र इन्टरनेट सेवा बन्दै रहेको अवस्थामा छ ।

यसैबीच अब देशमा सामाजिक सञ्जाल फेसबुकलाई प्रतिबन्ध गर्ने निर्णय भएको छ । सैनिक शासनको विरुद्ध सामाजिक सञ्जालबाट विरोध गर्ने क्रम बढेसँगै सरकारले दूरसञ्चार सेवा प्रदायकलाई अस्थायी रुपमा फेसबुक बन्द गर्न निर्देशन दिएको हो ।

सरकारले पहिलो चरणमा यही आइतबार रातिसम्मका लागि फेसबुक बन्द गर्न निर्देशन दिएको हो । भने आवश्यक परेको खण्डमा उक्त प्रतिबन्धलाई थप गर्न समेत सकिने उल्लेख गरिएको छ ।

सैनिक सरकारले मुलुकमा अस्थिरताको कारण फेसबुक भएको भन्दै दूरसञ्चार कानूनमा उल्लेखित प्रावधान सहित उल्लेख गरेर राज्यको हितका लागि फेसबुकमाथि प्रतिबन्ध गरेको बताएको छ ।

त्यसैका आधारमा विश्वको इन्टरनेट प्रयोगको अध्ययन गर्ने संस्था ‘नेटब्लक’ का अनुसार म्यानमार सरकारले सञ्चालन गरेको टेलिकम कम्पनी एमपीटीले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप लगाएतका सर्भिस आफ्नो नेटवर्कमा बन्द गरिसकेको छ ।

उक्त टेलिकम सेवा प्रदायक कम्पनीले म्यानमारमा सबैभन्दा बढी प्रयोगकर्ता भएको कम्पनी हो । फेसबुकले पनि म्यानमारका कतिपय स्थानमा आफ्नो सेवामाथि प्रतिबन्ध लगाइएको जानकारी दिएको छ ।

फेसबुकका प्रवक्ताले भनेका छन, ‘हामी म्यानमार सरकारलाई सेवामाथि लगाएको प्रतिबन्ध खुला गर्न आग्रह गर्छाै ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१