close

सिस्टम अपडेटपछि पठाओका सम्पूर्ण सेवा सुचारू

टेकपाना टेकपाना

चैत ११, २०७७ १५:३७

सिस्टम अपडेटपछि पठाओका सम्पूर्ण सेवा सुचारू

काठमाडौं । प्राविधिक कारणले अवरुद्ध भएको राइड शेयरिङ एप पठाओले आफ्नो सेवा पुनः सञ्चालनमा ल्याएको छ । सिस्टम अपडेटपछि सबै प्रकारका सेवा सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

यसअघि ट्याक्सी र फुड डेलिभरी सेवा सञ्चालनमा आए पनि बाइक राइड सेवा सञ्चालनमा आउन सकेको थिएन । कम्पनीले एक दिन लगाएर सिस्टम अपडेटकाे काम सम्पन्न गरेकाे हाे ।

सेवा पुन: सुचारु भए सँगै बाइक, कार लाइट (ट्याक्सी) र फुड डेलिभरी सेवा सन्चालनमा आएको पठाओ नेपाल प्रालिका क्षेत्रिय निर्देशक असिम मान सिंह बस्न्यातले बताए।

बाइक राइडिङ सेवा अवरुद्ध हुँदा हिजाेदेखि सेवाग्राही मर्कामा परेका थिए । काठमाडौं उपत्यकामा पठाओ लगायतका राइड शेयरिङ सेवाले हजारौंलाई सहज आवगमनको सुविधा प्रदान गरिरहेका छन् ।

पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफल अनुसार राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकोले सम्पूर्ण राइडर साथीहरूलाई राइड लिँदा पठाओको लोगो अङ्कित कपडा प्रयोग नगर्न अनुरोध गरेको बस्न्यातले बताए ।

यस सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारवाही समेत हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने बस्न्यातको भनाइ छ ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो ।

सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।

याे पनि पढ्नुहाेस् :

ट्वीटर ट्रेन्डिङमा ‘आई एम विथ पठाओ’

पठाओमा समस्या आएपछि टुटललाई अर्डर धान्न मुस्किल

अब पठाओ अङ्कित ज्याकेट लगाउन नपाइने

टुटल र पठाओ चालकले कहिलेसम्म कुटाइ खाने ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१