काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको प्रवक्तामा निर्देशक सन्तोष पौडेल नियुक्त भएका छन् । अध्यक्ष पुरुषोत्तम खनालले उनलाई प्राधिकरणको नयाँ प्रवक्ताको रुपमा नियुक्त गरेका हुन् ।
यसअघि प्राधिकरणको प्रवक्ताको रुपमा मिनप्रसाद अर्याल रहेका थिए । उनको स्थानमा पौडेललाई ल्याइएको हो ।
पौडेले हाल प्राधिकरण अन्तर्गत कानून तथा अनुमतिपत्र महाशाखाका प्रमुख समेत हुन् । २०५६ सालमा प्राधिकरणमा नियुक्त भएको पौडेल विगत १९ वर्षदेखि प्राधिकरणमा कार्यरत छन् ।
यसअघि उनले अनुमति तथा ग्रामीण दूरसञ्चार विकास, अनुगमन शाखा लगायतको नेतृत्व गरिसकेका छन् । डेढ वर्ष अघिमात्रै प्राधिकरणको निर्देशकमा बढुवा भएका पौडेलले नयाँ भूमिकाको रुपमा संस्थाको विकास र संस्थाप्रति आम मानिसमा पर्ने छाप परिवर्तन गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यस्तै प्राधिकरणले सह-प्रवक्ताकाे रुपमा सहायक निर्देशक अच्युता नन्द मिश्रलाई नियुक्त गरिएको छ ।