close

नेपालको इन्टरनेट महंगो कि सस्तो ?

टेकपाना टेकपाना

बैशाख ३०, २०७८ १५:५०

नेपालको इन्टरनेट महंगो कि सस्तो ?

काठमाडाैं । नेपाली इन्टरनेट प्रयोगकर्ताको प्रायः एउटै गुनासो हुने गर्छ, इन्टरनेट निकै महंगो भयो । त्यसमा पनि मोबाइल र फिक्स्ड इन्टरनेट प्रयोगकर्ताको आआफ्नै दुखेसो छन् ।

फिक्स्ड इन्टरनेटको तुलनामा मोबाइल डेटाको मूल्य केही महंगो देखिन्छ पनि । नेपाल सरकारले २०७२ मा बनाएको ब्रोडब्यान्ड नीतिले इन्टरनेट शूल्क प्रति व्यक्ति आयको ५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

जसअनुसार ६ हजार ४०१ रुपैयाँमै वर्षभर इन्टरनेट चलाउन पाउनु पर्ने हो । तर अहिले नेपालमा फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ताले इन्टरनेटका लागि मासिक औषत १५ सय रुपैयाँ तिर्दै आएका छन् ।

अर्कोतर्फ मोबाइल सेवा प्रदायकहरुले प्रति एमबी औषत एक रुपियाँमा डेटा बेचिरहेका छन् । यद्यपी प्याक लिएर डेटा प्रयोग गर्नेले प्रति एमबी यो भन्दा सस्तोमा पनि प्रयोग गर्न सक्ने अवस्था त छँदै छ ।

सेवा प्रदायकहरुले इन्टरनेटका लागि डलर खर्चेर आवश्यक ब्यान्डविथ विदेशबाट ल्याउनुपर्ने, इन्टरनेट प्रवाहका लागि आवश्यक पूर्वाधार निर्माणमा हुने अधिक खर्च र इन्टरनेट शुल्कमा लगाइएका विभिन्न किसिमका करका कारणले पनि नेपालमा इन्टरनेटको मुल्य केही बढी नै छ ।

तर, विश्वव्यापी तुलनामा भने नेपालको ब्रोडब्यान्ड इन्टरनेट सस्तो मध्येमै पर्छ । केवल डट युकेको हालैको सर्वेक्षणले नेपालको ब्रोडब्यान्ड इन्टरनेटको मासिक औषत मुल्य १३.१५ अमेरिकी डलर अर्थात १५४७ रुपैयाँ देखाएको छ ।

दक्षिण एसियाली मुलुकको तुलनामा पनि यो कमै हो । छिमेकी देश भारतमा यस्तो शुल्क मासिक औषत १३.५८ डलर छ । भुटानमा भने ८.७१ डलर मात्र देखिन्छ । पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स, बंगलादेशमा भने इन्टरनेटको शुल्क नेपालभन्दा बढी छ । 

नेपालको इन्टरनेट विश्वकै सस्तोमध्येमा पर्ने भएपनि यहाँको प्रतिव्यक्ति आयको तुलनामा भने यो महंगो लाग्ने गरेको हो ।

हेर्नुहाेस् याे भिडिओ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४