४१ दिनसम्म पनि इन्टरनेट मर्मत नगरेको भन्दै क्लासिक टेकविरुद्ध मुद्दा दायर, १० लाख क्षतिपूर्ति माग
जेठ १९, २०८३ २३:०
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले लामो समयसम्म सेवा अवरुद्ध गर्दा पनि मर्मत नगरेको र उपभोक्तालाई मानसिक सास्ती दिएको भन्दै अदालतमा मुद्दा दायर भएको छ । भक्तपुर ठिमीका बासिन्दा शिव प्रकाशले मंगलबार उपभोक्ता अदालतमा क्लासिक टेकविरुद्ध १० लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै फिरादपत्र दर्ता गरेका हुन् ।
गत अप्रिल २२, २०२६ देखि ४१ दिनसम्म पटक-पटक ताकेता गर्दा पनि इन्टरनेट मर्मत नगरेको र उल्टै अपमानजनक व्यवहार गरेको दाबी फिरादपत्रमा गरिएको छ ।
निवेदकले क्लासिक टेकले आफ्नो व्यावसायिक जिम्मेवारी पूरा नगर्दा नेपालको संविधानको धारा २७ (सूचनाको हक), धारा १६ (सम्मानपूर्वक बाँच्न पाउने हक), धारा १७ (अभिव्यक्ति स्वतन्त्रता) र धारा ४४ (उपभोक्ताको हक) को उल्लंघन भएको जिकिर गरेका छन् ।
क्लासिक टेकको लापरवाही र उपेक्षापूर्ण व्यवहारले आफ्नो दैनिक अनुसन्धान र लेखन कार्यमा बाधा पुगेको र मानसिक यातनासमेत भएको उनले दाबी गरेका छन् । कम्पनीले 'Pacta Sunt Servanda' (सम्झौताको पालना गर्नुपर्ने) भन्ने सर्वमान्य कानुनी सिद्धान्तको समेत धज्जी उडाएको निवेदकको जिकिर छ ।
फिरादपत्रमा भएको व्यहोरा अनुसार सन्तोष पौडेलको नाममा अप्रिल १४, २०२५ मा एक वर्षका लागि ६ हजार ३९८ रुपैयाँ तिरेर इन्टरनेट जडान गरिएको थियो । पुनः अप्रिल १४, २०२६ मा अर्को एक वर्षका लागि पाँच हजार ९७८ रुपैयाँ भुक्तानी गरी नवीकरण गरियो । तर, अप्रिल २२ बाट इन्टरनेट बिग्रिएपछि कम्पनीले मर्मतमा चरम लापरवाही देखाएको निवेदकको आरोप छ ।
"मेन्टिनेन्स टोलीले कहिले बिजुलीको पोल सारेको त कहिले अर्को कम्पनीले तार काटेको बहाना बनाउँदै पन्छिने काम गर्यो," निवेदकले भनेका छन् । उनका अनुसार कम्पनीका कर्मचारीहरूले फोन होल्डमा राखेर काटिदिने र ह्वाट्सएपमा झुटो सूचना दिने गरेका थिए ।
यस विषयमा निवेदकले गत १७ वैशाखमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई समेत जानकारी गराएका थिए । मन्त्रीले समस्या समाधानका लागि आश्वासन दिए पनि कम्पनीले अटेरी गरेको उनको गुनासो छ । यस्तै, हेलो सरकारमा दिइएको उजुरीमा सम्बन्धित निकायले 'समाधान भइसक्यो' भनी झुटो रिपोर्ट पठाएको उनले आरोप लगाएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेको रोहबरमा २५ वैशाखमा दुवै पक्षबिच छलफलसमेत भएको थियो । सो छलफलमा सेवा अवरुद्ध हुँदा डेटा चलाउनुपरेको खर्च र मानसिक तनावबापत १० हजार रुपैयाँ मात्र क्षतिपूर्ति माग्दा पनि क्लासिक टेकका प्रतिनिधि सुशीलसिंह थापाले कम्पनीको नीतिमा क्षतिपूर्ति दिने प्रावधान छैन भन्दै अस्वीकार गरेको फिरादपत्रमा उल्लेख छ ।
निवेदकले कम्पनीका कर्मचारीहरूले व्यक्तिगत क्यूआर कोड प्रयोग गरी भुक्तानी लिने गरेको आरोपसमेत लगाएका छन् । सीमा केसी र कृशल खड्गी नामका कर्मचारीले व्यक्तिगत खातामा पैसा लिएको विवरण प्रमाणका रूपमा पेस गरिएको छ ।
यस्तै समस्या सन्तोष पौडेलका भाइ फणिन्द्रप्रसाद पौड्यालले पनि भोग्नुपरेको र ११ हजार भुक्तानी गर्दा पनि सेवा सुचारु नगरिएको आरोप लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा समेत उजुरी गर्दा सुनुवाइ नभएपछि अन्ततः न्यायका लागि उपभोक्ता अदालतको ढोका ढकढकाएको निवेदकले बताएका छन् ।
सम्बन्धित समाचार:
स्मार्ट टेलिकमकै नियति क्लासिक टेकमा दोहोरिने सङ्केत, बैङ्कले लिलामी गरेमा डुब्नसक्छ सरकारको ५० करोड
पछिल्लो अध्यावधिक: जेठ १९, २०८३ २३:३७
