close

विद्युतीय सवारीलाई काठमाडौंमा निःशुल्क पार्किङ सुविधा, व्यवसाय करसमेत नलाग्ने

टेकपाना टेकपाना

असार १४, २०७८ १३:२६

विद्युतीय सवारीलाई काठमाडौंमा निःशुल्क पार्किङ सुविधा, व्यवसाय करसमेत नलाग्ने

काठमाडौं । काठमाडौं महानगर क्षेत्रमा विद्युतीय सवारी साधनलाई पार्किङ निःशुल्क हुने भएको छ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममार्फत विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्न गर्ने नीति लिएको हो ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नगरसभामा प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभर विद्युतीय सवारीसाधनलाई आफ्नो पार्किङ स्थलमा शतप्रतिशत छुट दिइने उल्लेख छ । त्यस्तै महानगरले विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेसन निर्माण गर्ने कार्यक्रमसमेत अगाडि सारेको छ ।

महानगरपालिकाले न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग, त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौरलगायतका क्षेत्रमा सवारी साधन पार्किङको व्यवस्था मिलाएको छ । जहाँ पार्किङ गर्दा शुल्कसमेत लिने गरिएको छ ।

जसअनुसार दुई पांग्रे सवारी साधनका लागि प्रति घण्टा २५ रुपैयाँ र चार पांग्रे सवारी साधनका लागि प्रति घण्टा ८० रुपैयाँ तोकिएको छ । त्यस्तै महानगरले अबको एक वर्ष विद्युतीय सवारी साधनसम्बन्धी व्यवसायमा लाग्ने व्यवसाय करसमेत शत प्रतिशत छुट दिने प्रस्ताव गरेको छ ।

हाल महानगरपालिकामा करिब एक दर्जन यस्ता व्यवसाय दर्ता छन् । केन्द्रीय सरकारले समेत आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधनलाइ प्रोत्साहन गर्न अन्त:शुल्क छुट दिनुका साथै भन्सार दरसमेत घटाएको छ । यद्यपि महानगरपालिकाको नीति तथा कार्यक्रम नगरसभाबाट स्वीकृत हुन भने बाँकी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५