नेपाली बजारमा ‘नथिङ फोन ४ए प्रो’ को प्रि-बुकिङ खुला, १५ हजारको स्मार्टवाच नि:शुल्क पाइने
बैशाख १४, २०८३ १५:५
काठमाडौँ । नथिङ ब्रान्डको नयाँ स्मार्टफोन ‘नथिङ फोन ४ए प्रो’ (Nothing Phone 4a Pro) नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि नथिङको आधिकारिक बिक्रेता सीजी मोबाइल्सले सोमबार यस फोनको प्रि-बुकिङ खुला गर्दै मंगलबारदेखि बजारमा उपलब्ध गराउने घोषणा गरेको हो ।
१२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यस फोनको मूल्य ८६ हजार ९९९ रुपैयाँ तोकिएको छ । प्रि-बुकिङ गर्ने पहिलो १५० जना ग्राहकले १४ हजार ९९९ रुपैयाँ मूल्य बराबरको ‘सीएमएफ वाच ३ प्रो’ (CMF Watch 3 Pro) उपहारस्वरूप नि:शुल्क प्राप्त गर्नेछन् । इच्छुक ग्राहकले कम्पनीले उपलब्ध गराएको लिंकमा गई आफ्नो विवरण भरेर फोन बुक गर्न सक्नेछन् ।
फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.८३ इन्च एमोलेड स्क्रिन रहेको छ, जसको सुरक्षाका लागि गोरिल्ला ग्लास ७आई (Gorilla Glass 7i) प्रयोग गरिएको छ । एन्ड्रोइड १६ मा आधारित नथिङ ओएस ४.० सञ्चालित यस फोनमा क्वालकम स्न्यापड्रागन ७ जेन ४ प्रोसेसर जडान गरिएको छ । यसले गेमिङ र दैनिक प्रयोगमा सहज एवं प्रभावकारी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
फोटोग्राफीका लागि फोनमा ५० मेगापिक्सेलको सोनी एलवाईटी ७०० सी सेन्सर छ, जसले ओआईएस सपोर्ट गर्छ । यसैगरी, ५० मेगापिक्सेलकै सामसङ जेएन५ पेरिस्कोप टेलिफोटो लेन्स रहेको छ, जसले ३.५ एक्स अप्टिकल जुम सपोर्ट गर्छ । साथै, ८ मेगापिक्सेलको सोनी अल्ट्रावाइड क्यामेरा र सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ ।
फोनमा ५०८० एमएएच क्षमताको शक्तिशाली ब्याट्री रहेको छ, जसले ५० वाटको फास्ट चार्जिङ सपोर्ट गर्दछ । यसले गर्दा फोन छिटो चार्ज हुनुका साथै लामो समयसम्म टिक्नेछ । फोनको डिजाइनमा एल्युमिनियम फ्रेम प्रयोग गरिएको छ भने पानी र धुलोबाट जोगाउन आईपी६५ सुरक्षा रेटिङ दिइएको छ । नथिङको सिग्नेचर ‘ग्लाइफ म्याट्रिक्स’ डिजाइनले यो फोनलाई अन्य स्मार्टफोनभन्दा भिन्न देखाउँछ ।
कनेक्टिभिटीका लागि यस फोनमा फाइभजी, ब्लुटुथ ५.४, वाई-फाई सिक्सई र एनएफसी जस्ता फिचर समावेश छन् ।
पछिल्लो अध्यावधिक: बैशाख १४, २०८३ १५:५
