close

ल्यापटपको ब्याट्री जोगाउन विण्डोज ११ मा डाइनामिक रिफ्रेश रेट फिचर

टेकपाना टेकपाना

असार १९, २०७८ २१:१८

ल्यापटपको ब्याट्री जोगाउन विण्डोज ११ मा डाइनामिक रिफ्रेश रेट फिचर

काठमाडौं । माइक्रोसफ्टले ल्यापटपको ब्याट्री लाइफ जोगाउन र आवश्यकता अनुसार रिफ्रेश रेट बढ्ने गरी विण्डोज ११ मा डाइनामिक रिफ्रेश रेट (डीआरआर) फिचर ल्याउने भएको छ । पछिल्लो समयका कयौं ल्यापटपहरू १२० हर्ज रिफ्रेश रेटसहित आउन थालेका छन् ।

जसले विण्डोजमा नरम किसिमको स्क्रोलिङ र एनिमेसन अनुभव दिनेछ । थप गरिएको रिफ्रेश रेटले स्मुथ अनुभव दिए पनि उच्चतम् रिफ्रेश रेटमा ल्यापटप चलाउँदा ब्याट्री भने धेरै छिटो सकिने गर्दछ ।

विण्डोज १० मा तपाईंले ६० हर्ज र १२० हर्ज रिफ्रेश रेटको बीचमा कुन प्रयोग गर्ने आफैँले छनौट गर्नुपर्ने हुन्छ । तर माइक्रोसफ्टले विण्डोज ११ मा भने ल्यापटपलाई गतिशील रुपमा रिफ्रेश रेट समायोजन गर्ने फिचर हुनेछ ।

यसको अर्थ तपाईं ल्यापटपमा के गर्दै हुनुहुन्छ, त्यसअनुसार विण्डोज ११ ले कम रिफ्रेश रेटबाट उच्चतम् रिफ्रेश रेटमा सजिलै स्विच गर्नेछ । माइक्रोसफ्टमा ग्राफिक्स टिमका प्रोग्राम म्यानेजर अना मार्टाले यसको जानकारी दिएका हुन् ।

यसका लागि तपाईंसँग डीआरआर र १२० हर्ज रिफ्रेश रेट सपोर्ट गर्ने ल्यापटप हुनुपर्छ । जब तपाईं ईमेल तथा डकुमेन्ट लेख्ने जस्ता नियमित काम गर्नुहुन्छ, त्यसबेले ६० हर्ज रिफ्रेश रेटमा ल्यापटप रन हुनेछ ।

डीआरआरले स्क्रोलिङ गर्दै जाँदा आवश्यकता अनुसार रिफ्रेश रेटलाई १२० हर्जसम्म बढाउनेछ । ल्यापटपसँगै एपले समेत डीआरआरलाई सपोर्ट गर्नुपर्ने हुन्छ ।

अफिस, माइक्रोसफ्ट एज, माइक्रोसफ्ट ह्वाइटबोर्ड, माइक्रोसफ्ट फोटोज, स्निप एन्ड स्केच, ड्रबोर्ड पीडीएफ, माइक्रोसफ्ट स्टिकी नोट्स, एडोब एक्रोब्याट, एडोब इलुस्ट्रेटर, माइक्रोसफ्ट टु डु र इन्कोडोले इंकिङङ्गका लागि डीआरआरलाई सपोर्ट गर्नेछन् ।

डीआरआरलाई भीआरआर (भेरिएबल रिफ्रेश रेट) हो भन्ने कुरा नठान्नुहोस् । किन कि डीआरआर गेमहरुमा प्रयोग हुँदैन, यसले त केवल विण्डोज एपमा मात्र सपोर्ट गर्दछ । यसका लागि तपाईंसँग नयाँ ग्राफिक्स ड्राइभर (WDDM 3.0) हुनुपर्नेछ ।

माइक्रोसफ्टका अनुसार कम्पनीले आफ्नो ग्राफिक डिस्प्ले साझेदारसँग विण्डोज ११ प्रिभ्यु रनिङ भइरहेका विभिन्न किसिमका डिभाइसमा डीआरआर इनेबल गराउनेतर्फ काम गरिरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३