काठमाडौं । के तपाईंले पनि जिमेलबाट प्राप्त भएका फोटोहरू पहिले गुगल ड्राइभमा सेभ गरेर मात्र गुगल फोटोजमा राख्ने गर्नुभएको छ ? यदि त्यसो हाे भने अब तपाईंले यो झन्झट गरिरहन पर्दैन ।
अब भने जिमेलबाट प्राप्त भएका फोटोहरू सिधै गुगल फोटोजमा सेभ गर्न सकिने छ । वेबमा आफ्नो ईमेलमा आएको फोटोमा कर्सर लगेर राख्नु भएपछि त्यहाँ तीनवटा आइकन देखिनेछ; डाउनलोड गर्ने, ड्राइभमा सेभ गर्ने र गुगल फोटोजमा सेभ गर्ने ।
फोटोको दाहिनेतिरका छेउमै भएको आइकन गुगल फोटोजको आइकन हो, जसलाई क्लिक गरेर हामी हाम्रो फोटो ईमेलबाट सिधै गुगल फोटोजमा सेभ गर्न सक्छौं ।
त्यस्तै फोटोलाई ओपन गरेर स्क्रिनको दाहिनेपट्टि आउने तीनवटा थोप्लामा क्लिक गर्नुहोस् । त्यहाँ ‘Save to Photos’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
त्यसपछि कन्फर्मेशनको लागि एउटा पपअप म्यासेजमा ‘सेभ’ र ‘क्यान्सिल’ भनेर आउँछ ।
त्यहाँ गएर ‘सेभ’ अप्सनमा क्लिक गरेर उक्त फोटो गुगल फोटोजमा सेभ गर्न सकिन्छ । यद्यपि हाल सम्म भने यो फिचर जेपेग (JPEG) फोटोहरूमा मात्र उपलब्ध छ ।