close

भदौ ३ मा ओप्पोको विशेष क्यामेरा इभेन्ट हुँदै, नयाँ के आउला ?

टेकपाना टेकपाना

साउन ३०, २०७८ १७:४५

भदौ ३ मा ओप्पोको विशेष क्यामेरा इभेन्ट हुँदै, नयाँ के आउला ?

काठमाडौं । स्मार्टफोन निर्माता ओप्पोले आउँदो भदौ ३ (अगस्ट १९) मा क्यामेरा प्रविधिसँग सम्बन्धित विशेष कार्यक्रम गर्ने भएको छ । जीएसएम एरेनाद्धारा सार्वजनिक गरेको एक ईमेलअनुसार ओप्पोले क्यामेरा वा इमेजिङ प्रविधिलाई लक्षित गर्दै विशेष कार्यक्रम गर्न लागेको हो ।

कम्पनीले ‘फ्युचर अफ इमेजिङ, टुडे’ ट्यागलाइनमा कम्पनीले सो इभेन्ट गर्नेछ । सार्वजनिक भएको एक टिजरमा लेन्सको क्लोजअप संकेत जनाउने फोटो पनि समावेश छ ।

ओप्पो इण्डियाका उपाध्यक्ष एवं आर. एण्ड. डी. प्रमुख तस्लीम आरिफले आफूहरु केही नयाँ कुरामा काम गरिरहेको जानकारी दिँदै यसले क्यामेराको अनुभव सदाका लागि बदल्न सक्ने भन्दै ट्वीट गरेका छन् । तर उनले थप विवरण भने खुलाएका छैनन् ।

विश्लेषकहरुले यो इभेन्टबाट कम्पनीले प्राइमेरी क्यामेरा वा अन्य इमेजिङ प्रविधिसँग सम्बन्धित नयाँ उत्पादन घोषणा हुनसक्ने अनुमान गरेका छन् ।

ओप्पोले केही हप्ताअघि मात्र दोस्रो पुस्ताको अन्डर डिस्प्ले क्यामेरा प्रविधि घोषणा गरेकाले सो इभेन्टमा यो औपचारिक रुपमा सार्वजनिक हुन सक्ने अनुमान पनि छ ।

नयाँ अन्डर डिस्प्ले क्यामेरामा एआई र हार्डवेयर मिश्रण गरिएको बताउँदै कम्पनीले यसबाट फुल स्क्रिनको मज्जासँगै गुणस्तरीय फोटो पनि पाउन सकिने दाबी गरेको छ ।

केही विश्लेषकले कम्पनीले सेल्फी प्रविधिसहितका नयाँ फोन प्रदर्शन वा घोषणा गर्ने अनुमान पनि गरेका छन् । यसबारे आधिकारिक कुरा थाहा पाउन भने हामीले सोही दिन नै कुर्नुपर्ने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१