close

प्रविधि 'प्रवर्द्धन’ गर्ने क्यान इन्फोटेकमै छैन अनलाइन टिकेट, नगदै लिनुपर्ने बाध्यता

टेकपाना टेकपाना

माघ २५, २०७९ १७:५२

प्रविधि 'प्रवर्द्धन’ गर्ने क्यान इन्फोटेकमै छैन अनलाइन टिकेट, नगदै लिनुपर्ने बाध्यता

काठमाडौँ । नेपालमा सूचना प्रविधि प्रवर्द्धन गर्न भन्दै हरेक वर्ष आयोजना हुने नेपालकै ठूलो प्रविधि प्रदर्शनी भनिने क्यान इन्फोटेकमै अनलाइन टिकेट लिने अवस्था नरहेको देखिएको छ । आयोजकले पेवेल नामक एक डिजिटल वालेटलाई टिकेटिङ पार्टनर बनाएको भए पनि मेला भर्न जाने प्रायः सबैजसो दर्शकले नगदमै टिकेट लिनुपर्ने बाध्यता देखिएको हो । 

सूचना प्रविधि क्षेत्रका व्यवसायी तथा पेशाकर्मीहरूको प्रतिनिधित्व गर्ने कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघ मेलाको आयोजक छ । काठमाडौंको भृकुटीमण्डपमा मङ्गलबारदेखि सुरु भएको मेलामा प्रवेश गर्न सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ टिकेट शुल्क तोकिएको छ ।

 

जारी क्यान इन्फोटेकमा स्टल समेत रहेको सेन्जेन सी-डेटा टेक्नोलोजीका कन्ट्री हेड समिन तिमिल्सिनाले क्यानले आयोजना गरेको मेलाको प्रवेशमै डिजिटल प्रविधि नभएको भन्दै गुनासो पोखे । "सूचना प्रविधि मेलामा प्रवेश गर्दा भौतिक टिकेट लिनुपर्ने अवस्था छ, डिजिटल छैन," टेकपानासँग उनले भने, "क्यान जस्तो संस्थाले नै 'पेपरलेस' (कागजरहीत) बनाउने कार्य सुरुवात गर्नुपर्ने हो ।"  

त्यस्तै मेलामै स्टल राखेका आईटिम प्रालिका महेश भण्डारीले क्यान इन्फोटेकले वर्षेनी आकर्षण गुमाउँदै गएको बताए । उनले भने,"क्यान जस्तो संस्था सूचना प्रविधिको अभ्यासमा अरुभन्दा पनि विशेष हुनुपर्ने हो । तर त्यसका लागि आवश्यक रणनीति र योजना बनाउने कुरामा चुकेको देखिन्छ र पोहोरभन्दा मेलाको रौनक पनि कम छ ।"

आफूहरूले पैसा तिरेर व्यवसायिक प्रवर्द्धनका लागि स्टल लिएको भन्दै भण्डारीले खर्च गरे अनुरूपको उपलब्धी नभएकोमा असन्तुष्टी पोखे । "हामीले पैसा तिरेर यहाँ स्टल राखेका हौँ," उनले भने, "यस्तै हो भने त हामीले अर्को वर्ष मेलामा सहभागी हुने कि नहुने भन्ने विषयमा सोच्नुपर्ने हुन्छ ।"

हुन त आयोजकले एप डाउनलोड बढाउने उद्देश्यका साथ अनलाइन टिकेटका लागि पेवेलसँग व्यवसायिक सम्झौता गरेको छ । अनलाइन टिकेट लिन चाहने ग्राहकले उक्त एप डाउनलोड गरी अनिवार्य रूपमा आफ्नो केवाईसी अपडेट गराउनु पर्ने सर्त राखिएको छ ।

 इन्फोटेक अवलोकल  गर्न गेटमा लाम लागेका धेरैजसो दर्शकलाई भने अनलाइन टिकेट लिने सुविधा रहेको विषयमा जानकारी छैन । अर्कोतर्फ अन्य डिजिटल भुक्तानीका विकल्प खुला नहुँदा अधिकांशले नामै नसुनेको एप डाउनलोड गरी केवाईसी भेरिफाई गरेर अनलाइन टिकेट लिने झन्झटको साटो नगदै टिकेट काट्न सहज मान्ने गरेका छन् । 

क्यान इन्फोटेकमा प्रवेश गर्न चाहने दर्शकका लागि राखिएको टिकेट काउन्टरमा पेवेलकै नामको परिचयपत्र भिरेका प्रतिनिधि कृष्ण पराजुलीले औसत नौ जनामा एक जनाले अनलाइन टिकेटमार्फत मेला अवलोकन गरिरहेको बताए । 

अनलाइन सिस्टममा समस्या आएकाले हामी अहिले फिजिकल (भौतिक) टिकेट नै काटिरहेको काउन्टरमा रहेका अर्का प्रतिनिधिले सुनाए । हामीले पनि पेवेलको एप डाउनलोड गरी अनलाइन टिकेट लिने सुविधाको विषयमा जान्ने प्रयास समेत गरेका थियौँ । 

त्यसक्रममा खाता खोल्ने क्रममा ओटीपी कोड आए पनि भेरिफिकेसन नै नहुने समस्या आइरहेको थियो । मेलाको व्यवस्थापन हेर्दा न्यून प्रयोगकर्ता रहेको मोबाइल एपमा मात्रै अनलाइन टिकेट सीमित राख्ने कार्यले दर्शकलाई जबरजस्ती नगद भुक्तानी गर्न बाध्यता सिर्जना गरेको महसूस हुन्छ । 

तर क्यानका महासचिव चिरञ्जीवी अधिकारी भने धेरैजसो दर्शकले अनलाइन टिकेट नै लिइरहेको दाबी गरिरहेका थिए । “मेला स्थलमा अनलाइन टिकेटका लागि क्यूआर राखेका छौँ,” उनले सुनाए, “मेलाका लागि टिकेट पार्टनर पेवेल भएकाले उसैको एपबाट मात्रै अनलाइन टिकेट लिन सकिने गरी व्यवस्था मिलाइएको छ ।”

-स्रोत उद्धृत गर्ने क्रममा 'अर्का प्रतिनिधिले बताए' भन्ने हुनुपर्नेमा भुल वश 'कृष्ण पराजुली' हुन पुगेकोले क्षमा याचना गर्दै सच्याइएको छ । 

 

पछिल्लो अध्यावधिक: माघ २५, २०७९ २१:७