बेलायत उड्न लागेकी युवती अनलाइन ठगीको शिकार, टिकट नै नक्कली परेपछि एयरपोर्टबाटै फर्किन बाध्य
भदौ ११, २०८२ १७:३४
काठमाडौँ । उच्च शिक्षाका लागि बेलायत जाने सपना बोकेकी काभ्रेकी २३ वर्षीया सञ्चिता शर्मा (नाम परिवर्तन)को जीवनमा एउटा अप्रत्याशित घटनाले ठुलो धक्का दियो । बुधबार बिहान सञ्चिता आफ्ना बुवाआमासँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिन् । उनको मनमा बेलायतमा उच्च शिक्षा हासिल गरेर उज्ज्वल भविष्य बनाउने चाहना थियो । कतार एयरलाइन्सको टिकट हातमा, भुइँमा गुडिरहेको सुटकेसमा सामान अनि अनगिन्ती आशाका किरणहरू आँखामा बोकेर उनले बुवाआमालाई बिदाइ गरिन् ।
अबिर, रातो टीका र काँधमा खादा ओढाएर छोरीलाई बिदाइ गर्दै बुवाआमा फर्किए । तर, उनीहरू फर्किएको पाँच मिनेटमै सञ्चिताले बुवालाई फोन गरिन् । “बाबा, हामीले काटेको टिकट त नक्कली रहेछ, त्यो नामको त टिकट नै भेटिएन यहाँ,” रुँदै गरेको स्वरमा सञ्चिताले भनिन् । बेलायत जान बिदाइ गरेकी छोरीको यस्तो खबरले बुवाआमाको मन भक्कानियो । १ सेप्टेम्बरमा सञ्चिता कक्षामा हाजिर भइसक्नुपर्ने थियो । छोरीका लागि अहिलेसम्म ३५ लाखभन्दा बढी खर्च गरिसकेका बुवाआमाका लागि टिकटको व्यवस्थापन आर्थिक रूपमा एउटा ठुलो चुनौती थियो ।
आर्थिक भार कम गर्न सञ्चिताले सस्तो टिकटको खोजी गरिरहेकी थिइन् । उनले बेलायत पुगिसकेका साथीहरूलाई टिकट प्रक्रियाबारे सोध्दा उनीहरूले १५-२० दिनअगाडि टिकट लिएमा एक लाख रुपैयाँको हाराहारीमा पाइने बताएका थिए । यसै अनुरूप सञ्चिता पनि फेसबुकमा सस्तो टिकटको खोजीमा थिइन् । यही क्रममा उनले ‘डीडी ट्राभल्स एन्ड टुर्स’ नामको एउटा फेसबुक पेज भेटिन् । उनले पेजमा आफ्नो आवश्यकता राखिन् । “म्याम, टिकट पाइहाल्छ, ढुक्क हुनुहोस् । हामी सबैभन्दा सस्तो टिकट उपलब्ध गराउँछौँ,” डीडी ट्राभल्स एन्ड टुर्सका प्रतिनिधिले मेसेन्जरमा भने ।
सञ्चिताले सबै प्रक्रिया बुझ्न खोजिन् र ती प्रतिनिधिले पनि निर्धक्क रूपमा सबै जानकारी दिए । सञ्चिता विश्वस्त भइन् । उनले ९७ हजार रुपैयाँसम्ममा टिकट पाएको बताइन् । सुरुमा अन्तिम मूल्य नै एक लाख रुपैयाँ रहेको ढिपी कसेका ती प्रतिनिधिले सञ्चिताको अनुरोधपछि ९७ हजार रुपैयाँमा उपलब्ध गराउने बताए । त्यसपछि ह्वाट्सएप नम्बर पठाएर त्यसैमा सम्पर्क गर्न भनियो । सञ्चिताले पनि ती प्रतिनिधिले पठाएको ह्वाट्सएप नम्बरमा सम्पर्क गरिन् । Levi’s लेखिएको रातो टिसर्ट, कालो चस्मा र जिन्सको पाइन्ट लगाएर समुद्री किनारमा खिचिएको फोटो डीपीमा देखियो । नाम थियो- जैसन परियार ।
त्यसमा सम्पर्क गर्दा उनले पनि आफूले टिकट उपलब्ध गराउने दाबी गरे । “मैले फेसबुक पेज हेरेको थिएँ, त्यसमा सबैले राम्रो रिभ्यु दिएका थिए,” सञ्चिता भन्छिन्, “पछि ह्वाट्सएपमा कुरा गर्दा उनीहरूले अरूका लागि पनि टिकट काटिदिएको भनेका थिए ।”
राम्रो रिभ्यु, आकर्षक मूल्य र आधिकारिक देखिने विभिन्न विवरणले सञ्चितालाई विश्वासमा पार्यो । त्यसपछि रकम कसरी पठाउने भन्ने कुरा भयो । त्यसका लागि एक व्यक्तिको बैंकको क्यूआर कोड पठाइयो । अनलाइन टिकट काटिदिने कम्पनीले व्यावसायिक क्यूआर कोड पठाउनुपर्नेमा व्यक्तिगत क्यूआर कोड पठाएकोमा उनलाई शंका लागेको थियो । तर, ती प्रतिनिधिले राम्रो व्यवहार गरेपछि भने उनलाई त्यसप्रति विश्वास लाग्यो । “मलाई विश्वास त लागेको थियो, तर शंका पनि थियो,” सञ्चिता भन्छिन्, “त्यसैले १० हजार, २० हजार गर्दै रकम पठाएँ ।”
रकम पाएपछि ती प्रतिनिधिले केही जवाफ दिएनन् । सञ्चिताले यो कुरा आमालाई सुनाइन् । “छोरी, फोन गरेको गर्यै गर । अनि उठाउला नि,” आमाले सञ्चितालाई भनेकी थिइन् ।
सञ्चिताले ११ पटकभन्दा बढी फोन गरेपछि ती प्रतिनिधिले फोन उठाए र टिकट केही समयमै उपलब्ध गराइदिने बताए । १५ मिनेटमै टिकट आउँछ भनेर सुरुवातमा विश्वास दिलाएका ती कर्मचारीले झन्डै तीन घण्टापछि मात्र टिकटको पीडीएफ पठाए ।
पीडीएफ पाएपछि भने सञ्चिता ढुक्क भइन् । “मैले अनलाइनमा पनि चेक गरेको थिएँ, त्यतिबेला देखाएको थियो,” सञ्चिता भन्छिन् ।
टिकटमा २७ अगस्ट २०२५ मा क्यूआर ६४९ कतार एयरवेजको कल साइनको विमान काठमाडौँबाट दोहा उड्ने, १२:२५ बजे दोहा पुग्ने र त्यसपछि दिउँसो पौने ५ बजे दोहाबाट लण्डन उड्ने उल्लेख थियो । यसरी विश्वसनीय देखिने टिकट पाएपछि सञ्चिताले विश्वास गरिन् । उनले टिकटमा उल्लेख भएको विमानको नाम सर्च गर्दा पनि यो विवरण सही देखियो ।
“छोरीलाई पठाउन यो सबै बन्दोबस्त गर्दा ३५ लाखभन्दा बढी खर्च भइसकेको थियो । हामीले माग्नुपर्ने सबै ठाउँमा पैसा मागिसकेका थियौँ,” उनका बुवा भन्छन्, “यो ९७ हजार रुपैयाँ पनि सापटी लिएका हौँ ।”
तर, विमानस्थलबाट उनीहरू रित्तै फर्किनुपर्यो । “छोरीलाई पठाइसक्यौँ, अब आर्थिक रूपमा केही सहज हुने भयो भनेको अन्तिममा दुई लाख २३ हजार रुपैयाँ राखेर टिकट लिनुपर्यो,” सञ्चिताकी आमा भन्छिन्, “हामीलाई बढी समस्या पर्नुअघि उसले अगाडि नै केही भनेको भए हामी आफ्नो बन्दोबस्त गर्थ्यौँ ।”
उनी निन्यारो अनुहार लगाउँदै अगाडि भन्छिन्, “अहिले अन्तिममा आएर हामीलाई झन्डै तेब्बर बढी मूल्यमा टिकट लिनुपर्यो । त्यसमाथि एक लाख पहिले ठगीमा पर्यो । अब आज नउडे छोरीलाई अप्ठ्यारो हुने । पैसा माग्ने ठाउँ नै थिएन । यो सबै समस्या एकै पटक आइपर्यो ।”
विमानस्थलबाट फर्किएर, ऋण खोजेर अर्को टिकटको व्यवस्था गरेर सञ्चिताले बेलायतका लागि उडान भर्नुपर्यो । बुधबार ४ बजेभित्र सञ्चिताले चेकइन गर्नुपर्ने अवस्था थियो । बिदाइ भएर अहिले दोहा हुनुपर्ने छोरी रुँदै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको पिल्लर नम्बर ३ मा ठगीको निवेदन लेख्दै गरेको देख्दा उनका बुवा भक्कानिए ।
“हामी मात्र होइन । विमानस्थलमा बिदाइ भएर गइसकेका अरू पनि यसरी रित्तै फर्किएको देखेका थियौँ,” सञ्चिताकी आमा अनुमान लगाउँछिन्, “उनीहरू पनि त्यसरी ठगीमै त परेका होलान् ।”
सञ्चिताले टिकटमा उपलब्ध गराएको रेफ्रेन्स नम्बरका आधारमा टिकट रुजु गर्न सकिनन् । उनले खोजेको विमानको नाम मात्र सही भेटियो । विमान उड्ने समय र ठाउँ मिलेपछि उनले विश्वास गरेको देखिन्छ ।
सञ्चिताले वास्तविक ठानेको ‘डीडी ट्राभल्स एन्ड टुर्स’ अनलाइन ठगीकै लागि सञ्चालन भएको देखिने तमाम आधार छन् । सबैभन्दा पहिलो कुरा यस कम्पनीको फेसबुक पेज । यसमा ४३०० बढी फलोअर र ६४ लाइक छ भने पेज २५ जुनमा मात्र खोलिएको हो ।
यसमा उल्लेख भएको डोमेन नै अस्तित्वमा छैन । त्यस्तै यस कम्पनीले हटमेलको ईमेल राखेको छ । कम्पनीको ठेगाना ईलाम राखिएको छ । गुगल म्याप्समा यो लोकेसन हेर्दा एउटा घर देखिन्छ । त्यस्तै यसको रिभ्युमा सबै सकारात्मक रिभ्यु मात्र छन् । तर, नाम हेर्ने हो भने ती सबै नक्कली अकाउन्ट देखिन्छन् ।
अन्तर्राष्ट्रिय एयरलाइन्सको टिकट सेवा प्रदायकले वितरण गर्ने टिकट एउटै किसिमका हुन्छन् । त्यसमा आफ्नो प्रचारका लागि भने हेडर र फुटर राख्ने गर्छन् । यस्ता टिकट सजिलै वर्ड इडिटरबाट बनाउन सकिन्छ । “हामीले अन्तर्राष्ट्रिय टिकट काट्दा हामीलाई बीचको टेबल र डिटेल आएको हुन्छ,” टेकपानासँगको कुराकानीमा एक टिकट विक्रेता कम्पनीका प्रतिनिधिले भने, “त्यसमा आफ्नो प्रचारका लागि हेडर र फुटर राख्ने हो । यो टिकटमा पनि त्यही भएको देखिन्छ ।”
नाङ्गो आँखाले टिकट सही छ कि छैन भन्ने जोसुकैले पत्ता लगाउन नसकिने उनी सुनाउँछन् । यद्यपि टिकट लिनुअघि कम्पनीको बारेमा बुझ्नुपर्ने उनी सुझाव दिन्छन् ।
सामाजिक सञ्जालमा सस्तोमा पाइएका टिकटको पछि लाग्दा सर्वसाधारण ठगिने गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्य सुनाउँछन् । “टिकट चाहिएको हुन्छ मान्छेलाई, सामाजिक सञ्जालमा खोज्छन्,” उनी भन्छन्, “त्यहाँबाट कम्पनी कत्तिको आधिकारिक हो भन्ने थाहा हुँदैन । त्यसैमा विश्वास गरेर रकम बुझाउँदा ठगिन पुग्छन् ।”
अनलाइनबाट टिकट लिनुअघि त्यस कम्पनीको बारेमा विस्तृतमा बुझ्न उनी सुझाव दिन्छन् । “रिभ्यु राम्रो छ भन्दैमा कम्पनी राम्रो हुन्छ भन्ने हुँदैन । अहिले नक्कली रिभ्यु पनि किन्न मिल्छ,” उनी अगाडि भन्छन्, “कम्पनी भौतिक रूपमा छ कि छैन । छ भने आफैँ पुग्ने नत्र चिनेको मान्छेलाई बुझ्न पठाउन पनि सकियो । रकम पठाउँदा कम्पनीकै नामको खाता माग्नुपर्छ । त्यसो हुँदा कम्पनी छ भन्ने आधार हुन्छ । त्यसैलाई नै शतप्रतिशत आधिकारिक पनि भन्न सकिंदैन फेरि ।”
पछिल्लो अध्यावधिक: भदौ ११, २०८२ १७:४७
