close

के हो नातिनीलाई तेल लगाएको टिकटक बनाउने नेपाली हजुरआमा अस्ट्रेलियामा पक्राउ परेको घटना ?

टेकपाना टेकपाना

माघ २६, २०७९ १३:५७

के हो  नातिनीलाई तेल लगाएको टिकटक बनाउने नेपाली हजुरआमा अस्ट्रेलियामा पक्राउ परेको घटना ?

काठमाडौं । आफ्नी २ वर्षीय नातिनीथि यौन दुर्व्यवहार गरेको र त्यसको भिडिओ टिकटकमा राखेको भन्दै अस्ट्रेलियन प्रहरीले एक ५० वर्षीय नेपाली महिलालाई पक्राउ गरेको छ । गएको सोमबार एसीटी पुलिसिङ (अस्ट्रेलियाको राजधानीमा सेवा दिने प्रहरी सङ्गठन) ले प्रकाशित गरेको विज्ञप्ति अनुसार गत २७ जनवरीका दिनको यो घटनाको विषयमा अस्ट्रेलियन संघीय प्रहरीको बालबालिका संरक्षण एकाइमा उजुरी परेको थियो ।

टिकटकका प्रतिनिधिहरूले उक्त सामग्री बारे सुरुमा बाल शोषण विरुद्धको अस्ट्रेलियन सेन्टरमा जानकारी गराएका थिए र त्यसपछि यो घटनाको अनुसन्धानमा समेत टिकटकले साथ दिएको उल्लेख छ । त्यसपछि यो विषय यौन शोषण तथा बाल दुर्व्यवहार हेर्ने टिम र अस्ट्रेलियन प्रहरीको बाल दुर्व्यवहार विरुद्धको टिमलाई संयुक्त रूपमा जिम्मा लगाइएको थियो ।

यसैक्रममा गएको आइतबार ती महिलामाथि सर्च वारेन्ट (खोजतलास सम्बन्धी जरुरी सूचना) जारी गरिएको थियो र दक्षिणी क्यानबेरा स्थित निवासबाटै ती महिला पक्राउ परेकी हुन् । सोमबार उनलाई राजधानी एसीटी मेजिस्ट्रेट अदालतमा पेश गरिएको थियो ।

उनीमाथि १० वर्ष मुनीका बालबालिका विरुद्ध अमर्यादित, आपराधिक तथा अश्लील गतिविधि गरेको र बाल शोषण वृद्धिको सामग्री उत्पादन गरेको लगायतका अभियोग लगाइएको छ । टिकटकमा राखिएको उक्त भिडिओ सामग्री भने फेला पर्ने बित्तिकै हटाइएको उल्लेख छ । 

अदालतमा परिवारका थुप्रै सदस्यको साथमा देखा परेकी ती महिलालाई कडा सर्त राखेर रिहा गरिएको छ । जसमा अन्य व्यक्तिको निगरानी बिना उनले बच्चाको अघि उपस्थित हुन नपाउने र मोबाइल फोन तथा इन्टरनेट पहुँच समेत गर्न नपाउने बताइएको छ । ती महिलालाई फेब्रुअरीको अन्तिम तिर पुनः अदालतमा उपस्थित हुन भनिएको छ । 

प्रहरीले ती महिलाको नाम र राष्ट्रियता भने खुलाएको छैन । तर एबीसी न्युज अस्ट्रेलियाले भने ती महिला नेपाली भएको उल्लेख गरेको छ । अस्ट्रेलियामा रहेका पूर्व नेपाली पत्रकार सरल गुरुङले ती महिलाका ज्वाइँले आफूलाई छोरीको शरीरमा तेल लगाउँदै गरेको भिडिओ टिकटकमा राखेकै कारण प्रहरीले पक्राउ गरेको कुरा बताएको उल्लेख गरेका छन् । ती हजुरआमा केही महिना अघि नातिनीकै हेरचाहका लागि अस्ट्रेलिया पुगेकी थिइन् । 

पछिल्लो अध्यावधिक: माघ २६, २०७९ १४:१२