close

सिक्सजीका लागि भारतले थाल्यो तयारी

टेकपाना टेकपाना

चैत ९, २०७९ १८:४९

सिक्सजीका लागि भारतले थाल्यो तयारी

काठमाडौं । छिमेकी देश भारतले मोबाइल सेवाको नयाँ पुस्ता सिक्सजीको भिजन दस्तावेज सार्वजनिक गरेको छ । बुधबार आयोजित एक समारोहमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले 'भारत सिक्सजी भिजन डकुमेन्ट' सार्वजनिक गरेका हुन् ।

अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आइटीयू) को दिल्लीमा एरिया अफिस र इनोभेसन सेन्टर उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री मोदीले सिक्सजी परियाेजनाका लागि तयार पारिएकाे डकुमेन्ट सार्वजनिक गरेका हुन् ।

डिजिटल क्रान्तिको नयाँ चरणमा भारत द्रुत गतिमा अघि बढिरहेको चर्चा गर्दै उनले सिक्सजीका लागि समयमै तयारी सुरु गरिएको बताए । भारतले ६ महिनाअघि मात्र फाइभजी सेवा सञ्चालनमा ल्याएको थियो ।

''फाइभजी सुरु भएको ६ महिना नहुँदै भारतले सिक्सीका लागि काम थालेको छ । आज (बुधबार) प्रस्तुत गरिएको भिजन डकुमेन्ट आगामी केही वर्षहरूमा सिक्सजी रोल-आउटको लागि प्रमुख आधार बन्नेछ,'' उनले कार्यक्रममा भने ।

भारतको टेक्नोलोजी इनोभेसन ग्रुपले तयार पारेको सिक्सजी भिजन डकुमेन्टमा सन् २०३० सम्ममा देशमा सिक्सजी लागू गर्ने योजना समावेश छ ।

सिक्सजी परियोजना सञ्चालन गर्न भारत सरकारले छुट्टै निकायसमेत स्थापना गरेको छ, जसले सिक्सजी स्ट्यान्डराइजेसन, स्पेक्ट्रमको पहिचानदेखि उपकरण र प्रणालीहरूका लागि इकोसिस्टम सिर्जना तथा विभिन्न अनुसन्धानका कार्य गर्ने बताइएकाे छ । 

पछिल्लो अध्यावधिक: चैत ९, २०७९ २१:२३