close

अफलाइन बस्दा पनि फेसबुकले अनलाइन देखायो ? यस्तो हुनसक्छ तपाईँको गल्ती

टेकपाना टेकपाना

चैत १९, २०७९ ८:१५

अफलाइन बस्दा पनि फेसबुकले अनलाइन देखायो ? यस्तो हुनसक्छ तपाईँको गल्ती

काठमाडौं । कहिलेकाहीँ सामाजिक सञ्जालबाट पर बस्न मन लाग्छ । अथवा कार्य व्यस्तताका कारण सामाजिक सञ्जाल प्रयोग गर्ने फुर्सद नै हुँदैन । 

तर, इन्टरनेट प्रयोग नगर्दा पनि अथवा आफू अफलाइन हुँदा पनि र एक्टिभ स्टाटस बन्द गर्दा पनि कहिलेकाहीँ फेसबुकमा केही प्रयोगकर्ताहरू अनलाइन देखिन्छ । अनलाइन देखेर मेसेज गर्दा रिप्लाइ भने आउँदैन । 

यो समस्या त तपाईँ आफैले पनि भोग्नु भएको होला । अनलाइन भएर पनि किन रिप्लाइ नगरेको भन्ने कुरा त तपाईँले पनि धेरै पटक सुन्नुपरेको होला । 

अनलाइनमा नहुँदा पनि फेसबुक मेसेन्जरले किन अनलाइनमा देखाउँछ ?

तपाईँले मेसेन्जर प्रयोग नगरे पनि तपाईँलाई फेसबुकमा अनलाइन देखाउने थुप्रै कारणहरू हुन्छन् । वास्तवमा फेसबुक एप र मेसेन्जर एप दुवैमा हाम्रो एउटै अकाउन्ट प्रयोग हुने भए पनि काम भने फरक तरिकाले हुने गर्छ ।

तपाईँले मेसेन्जरको एक्टिभ स्टाटस अफ गर्नु भएको छ र अफलाइन भएर मेसेन्जर प्रयोग गरिरहनु भएको छ भने फेसबुकमा तपाईँलाई अनलाइन देखाउँछ । यसको एउटै कारण हो तपाईँले फेसबुक एपमा भएको एक्टिभ स्टाटस अन गर्नु भएको छ ।

फेसबुक र मेसेन्जर दुवैमा एक्टिभ स्टाटसको अप्सन हुन्छ । यदि अफलाइनमा रहेर फेसबुक वा मेसेन्जर प्रयोग गर्न चाहनुहुन्छ भने दुबै एपबाट एक्टिभ स्टाटस अफ गर्नुपर्छ ।

त्यस्तै केही अवस्थामा तपाईँले फोनको वाई-फाई वा डेटा बन्द गरेको अवस्थामा पनि तपाईँलाई अनलाइन देखाइरहेको हुन्छ । कारण तपाईँको अकाउन्ट अन्य कुनै डिभाइसमा लगइन भएको हुनसक्छ । 

फरक डिभाइसमा तपाईँको अकाउन्ट एक्टिभ भएको हुनसक्छ । त्यस्ता डिभाइसबाट पनि अकाउन्ट लग आउट गरेर डिभाइसमा इन्टरनेट बन्द गरेर राख्न सक्नुहुन्छ ।

केही अवस्थामा डिभाइसमा एप राम्रोसँग बन्द नगर्दा पनि तपाईँलाई अनलाइन देखाउँछ । त्यसैले मेसेन्जर वा फेसबुक एप प्रयोग गरिसकेपछि एप बन्द गर्नुपर्ने हुन्छ ।

तपाईँले फेसबुक अकाउन्ट प्रयोग गरेर थर्ड पार्टी एपमा लगइन गर्नु भएको हुनसक्छ । विशेषगरी कुनै एप वा वेबसाइटमा अकाउन्ट बनाउँदा फेसबुक अकाउन्टको प्रयोग गर्न सकिन्छ । 

यसरी थर्ड पार्टीमा अकाउन्ट प्रयोग गर्नु भएको छ भने त्यस्ता टुलले पनि तपाईँलाई अनलाइन देखाइराखेका हुन्छन् । त्यसैले कुनै थर्ड पार्टी एपमा फेसबुक अकाउन्ट लगइन गर्नु भएको छ भने त्यसलाई लगआउट गर्नुहोस् ।

फेसबुकले नै तपाईँलाई केही बेर अनलाइनमा राखिदिन सक्छ

सामान्यतः तपाईँले फेसबुक वा मेसेन्जर एप बन्द गरिसकेपछि पनि तपाईँलाई केही बेर अनलाइनमा देखाइरहेको हुन्छ । 

किनभने फेसबुकको सिस्टमले तपाईँले इन्टरनेट बन्द गरेको सटीक ढङ्गले पहिचान गर्न सक्दैन । कतिपय अवस्थामा घन्टौंसम्म पनि तपाईँलाई अनलाइनमा देखाइरहेको हुन्छ ।

फेसबुक वा मेसेन्जर प्रयोग गर्दा पनि अनलाइनमा नदेखियोस् भन्ने चाहनुहुन्छ भने दुबै एपबाट एक्टिभ स्टाटस अफ गर्नुहोस् । त्यस्तै आफूले प्रयोग गर्ने फोन बाहेकका डिभाइस जस्तै कम्प्युटर वा ट्याबलेटबाट काम सकिसकेपछि लगआउट गर्नुहोस् । 

सकेसम्म थर्ड पार्टी टुलमा फेसबुक अकाउन्ट प्रयोग नगर्नुहोस् । यदि गर्नै परे त्यो टुल कस्तो किसिमको टुल हो भन्ने कुरा पहिचान गरेर मात्र लगइन गर्नुहोस् । 

साथै उक्त टुलको काम सकिसकेपछि अकाउन्टलाई उक्त टुलबाट हटाउनुहोस् । यसो गर्दा तपाईँ अनलाइन नहुँदा पनि अनलाइन देखिने समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

 

पछिल्लो अध्यावधिक: चैत १९, २०७९ ८:१५