close

टेकपानाका सञ्चारकर्मीमाथि  सुन्दर यातायात सञ्चालक भेषबहादुर थापाको दुर्व्यवहार

टेकपाना टेकपाना

बैशाख २१, २०८० १७:४५

टेकपानाका सञ्चारकर्मीमाथि  सुन्दर यातायात सञ्चालक भेषबहादुर थापाको दुर्व्यवहार

काठमाडौं । सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले बुधबार रिपोर्टिङका क्रममा आफ्ना सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेको भन्दै टेकपाना मिडिया प्रालिले आपत्ति जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै टेकपानाले उक्त दुर्व्यवहारको घटनाको निन्दा समेत गरेको छ । 

सुन्दर यातायात अन्तर्गतको सुन्दर अटो इन्जिनियरिङले नेपालमा तयार पारिरहेको विद्युतीय बाइकको रिपोर्टिङको लागि बुधबार टेकपानाका सञ्चारकर्मी कम्पनीको वर्कशप पुगेका थिए । त्यसै क्रममा कम्पनीका अध्यक्ष भेषबहादुर थापाले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका हुन् ।

घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै टेकपानाले आफ्नो पेशागत जिम्मेवारी र दायित्वअन्तर्गत रिपोर्टिङका लागि खटिएका आफ्ना सञ्चारकर्मी माथि भएको घटनाको  जानकारी गराएको हो ।

“कम्पनीका अध्यक्ष थापाले नै टेकपानाका पत्रकार तथा सञ्चारकर्मीलाई आफ्नो कम्पनीले विकास गरिरहेको विद्युतीय मोटरसाइकलको विषयमा जानकारी दिएर रिपोर्टिङका लागि अनुरोध गरेका थिए,” विज्ञप्तिमा भनिएको छ, “सुन्दर यातायातका कर्मचारीसँगको समन्वयमै टेकपाना प्रतिनिधिले कम्पनीले विकास गरिरहेको विद्युतीय बाइकको विषयमा बुधबार रिपोर्टिङ गरेका थिए ।” 

रिपोर्टिङ सकिएपछि आइपुगेका कम्पनीका अध्यक्ष थापाले ब्याट्रीको भिडिओ किन खिचेको भन्दै अमर्यादित शब्दको प्रयोग गर्दै भिडिओ डिलिट गर्न लगाएका थिए । टेकपानाका प्रतिनिधिले कम्पनीको गोपनीयतामा आघात पुर्‍याउने उद्देश्य नभएको र गोपनीयता भङ्ग हुने कुनै पनि भिडिओ प्रसारण तथा प्रकाशन नगर्ने आश्वस्त तुल्याउँदा पनि थापाले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए । 

उक्त घटनाप्रति खेद व्यक्त गर्दै टेकपानाले आगामी दिनमा यस्ता अमर्यादित गतिविधि नगर्न सम्बन्धित सबैलाई सचेत गराएको छ । टेकपाना डटकमले विगत साढे तीन वर्षदेखि नेपालमा दूरसञ्चार, सूचना प्रविधि तथा नवीनतम् प्रविधिको विषयमा पाठकहरुलाई सुसूचित गराउँदै आइरहेको छ । 

दूरसञ्चार तथा सूचना प्रविधिको बढ्दो र व्यापक प्रयोगका कारण यो आम जनसरोकारको विषय बनेको छ । टेकपाना डटकमले आफ्नो वेबसाइटसहित विभिन्न सामाजिक सञ्जालको प्रयोगमार्फत् पाठक तथा दर्शकहरूलाई सुरक्षित इन्टरनेटको प्रयोग, सूचना प्रविधि क्षेत्रमा भइरहेका नयाँ आविष्कारसहित नेपालमा दूरसञ्चार तथा सूचना प्रविधिमा भइरहेको प्रयास र प्रगतिको विषयमा पनि अवगत गराइरहेको छ । 

“नेपालमा हुने नवीनतम् प्रविधिको अध्ययन, अनुसन्धान तथा विकासको पक्षलाई टेकपानाले प्रवर्द्धन गरिरहेको सर्व विदित नै छ,” टेकपानाले भनेको छ, “सञ्चार तथा सूचना प्रविधिको विषयमा आम जनमानसमा सचेतना जगाउने हाम्रो उद्देश्यप्रति हामी प्रतिबद्ध रहेको समेत जानकारी गराउँदछौं ।”

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८० १७:५२