close

पत्रकार दुर्व्यवहार सम्बन्धी समाचारमा सुन्दर यातायातको खण्डन

टेकपाना टेकपाना

जेठ ३२, २०८० १६:४६

काठमाडौं । सुन्दर यातायात प्रालिले ‘टेकपानाका सञ्चारकर्मीमाथि  सुन्दर यातायात सञ्चालक भेषबहादुर थापाको दुर्व्यवहार’ शीर्षकमा प्रकाशित समाचारको खण्डन गरेको छ । एक विज्ञप्तिमार्फत कम्पनीले कम्पनीका अध्यक्ष भेषबहादुर थापाले समाचार सङ्कलनको क्रममा रहेका टेकपानाका पत्रकारमाथि गरेको दुर्व्यवहार गरेको विषयप्रति ध्यानाकर्षण जनाउँदै सुन्दर यातायातले समाचारको खण्डन गरेको हो । 

"२०८० वैशाख २० गतेका दिन हाम्रो कार्यालयमा आएका टेकपानाका सञ्चारकर्मीले खिचेका केही भिडिओ क्लिप व्यवसायिक मर्यादाका हिसाबले गोपनीयता कायम राख्न जरुरी देखेर अध्यक्षको उपस्थितिमा डिलिट गर्न अनुरोध गरेपछि सोही अनुसार समझदारीपूर्ण ढङ्गले कार्य सम्पादन गरिएको हो," कम्पनीको विज्ञप्तिमा भनिएको छ । 

त्यस क्रममा कुनै विवाद र भनाभन समेत नभएको अवस्थामा दुर्व्यवहार हुने कुरा सम्भव नै नरहेको दाबी सुन्दर यातायातले गरेको छ । "यति सामान्य विषयलाई अचानक दुर्व्यवहारको आरोप लगाई टेकपानामा समाचार प्रकाशित गरिएकोमा हामी आश्चर्यचकित भएका छौं," कम्पनीका अध्यक्ष थापाको हस्ताक्षर सहितको विज्ञप्तिमा अगाडि भनिएको छ, "हामी निरन्तर व्यवसायिक मर्यादाको पक्षमा पैरवी गर्दै आएकाले त्यस्तो व्यवहार हामीबाट कहिल्यै पनि हुन सम्भव छैन ।"

गत आइतबार प्रेस काउन्सिलको रोहबरमा सुन्दर यातायात र टेकपाना डटकमबीच छलफल आयोजना गरिएको थियो । त्यसक्रममा टेकपानामा प्रकाशित दुर्व्यवहार विषयको समाचारमा सुन्दर यातायातको भनाइलाई समेत स्थान दिई खण्डन प्रकाशन गर्ने र सुन्दर यातायातको तर्फबाट सञ्चार माध्यमसँग सम्पर्क एवम् समन्वयका क्रममा व्यवसायिक, शिष्ट, मर्यादित एवम् सौहार्द्रपूर्ण व्यवहार एवम् आचरण प्रस्तुत गर्ने सहमति भएको थियो । 


नोटः छलफल पश्चात् सुन्दर यातायातको भनाइ समेत समावेश गरिएको समाचार टेकपानामा प्रकाशित भएको थियो । पूर्ववत् समाचारको सन्दर्भसहित प्रकाशित उक्त समाचारप्रतिको बुझाई अन्यथा पर्न गएको प्रति काउन्सिलको निर्देशानुसार क्षमायाचना सहित भूलसुधार गर्न चाहन्छौं । -स.

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८१ २:११