close

सामुदायिक विद्यालय, अस्पताल र एयरपोर्टको सीसीटिभी फुटेजको लाइभ संसदमा राखौंः रवि लामिछाने

टेकपाना टेकपाना

जेठ २५, २०८० १५:५०

सामुदायिक विद्यालय, अस्पताल र एयरपोर्टको सीसीटिभी फुटेजको लाइभ संसदमा राखौंः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संसद भवनमा सामुदायिक विद्यालय, अस्पताल र  विमानस्थलका सीसीटिभी फुटेजको लाइभ राख्न सुझाव दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले जनताबाट चुनिएका प्रतिनिधिले गरेका बहसको परिणाम प्रत्यक्ष देख्नका लागि संसदको स्क्रिनमा सीसीटीभी फुटेजको लाइभ राख्न सुझाव दिएका हुन् ।

“म त भन्छु यो सदनमा पाँच वर्षसम्म आजबाटै देशका सातै ओटा प्रदेशका सरकारी अस्पताल, सामुदायिक विद्यालय र अन्तर्राष्ट्रिय विमानस्थलको लाइभ सीसीटिभी फुटेज भित्तामा राखौं,” उनले भने, “र, पाँच वर्षपछि हामी बिफोर र आफ्टर भनेर हेरौं ।”

उनले अगाडि भने, “हामी संसद् छिर्नुअघि ती विद्यालय, अस्पताल र एयरपोर्टको दृश्य कस्तो थियो हामीले पाँच वर्ष यो सदनमा बहस गरेर ती सबै कुरालाई कस्तो बनायौं । जसले जसरी बोलेर भए पनि हामीले गरेको नीति निर्माणले पाँच वर्षअघि  र पाँच वर्षपछाडि के फरक पर्‍यो भन्ने कुरा यो स्क्रिनमा राखौं । र, पाँच वर्षपछि आउने सदनलाई त्यो स्क्रिनको अर्को दृश्य हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरौं ।” 

यसरी पाँच वर्षसम्म सदनमा गरेका बहसले निर्माण गरेका नीतिले के फरक पारे भन्ने कुरालाई जाँच गरेर आफूले गरेका उपलब्धि आफैले हेर्न सकिने लामिछानेको भनाइ छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २५, २०८० १५:५०