नेपालमा ३० प्रतिशत इन्जिन गाडी ईभीमा बदल्दा वार्षिक ५३ अर्ब बढी जोगिने प्रक्षेपण
असार ५, २०८३ ७:५९
एआई सिर्जित तस्बिर
काठमाडौं । नेपालको यातायात क्षेत्रमा प्रयोग भइरहेका ३० प्रतिशत इन्धन (पेट्रोल-डिजेल) बाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले प्रतिस्थापन गरेमा वार्षिक ५३ अर्ब ६६ करोड रुपैयाँ बराबरको वैदेशिक मुद्रा जोगिने अनुमान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले गरेको एक अध्ययनले यस्तो प्रक्षेपण गरेको हो ।
प्राधिकरणको ऊर्जा, दक्षता तथा चुहावट नियन्त्रण विभागले ‘इलेक्ट्रोनभन्दा अगाडिः हरित अणु अर्थतन्त्रमा नेपालको फड्को’ शीर्षकमा गरेको अध्ययन अनुसार ३० प्रतिशत सवारी साधन विद्युतीय भएमा दैनिक १४ लाख लिटर इन्धन बचत हुनेछ ।
यसबाट वार्षिक ५१ करोड १७ लाख लिटर इन्धनको आयात घट्दा देशको ठुलो धनराशि बाहिरिनबाट जोगिने प्रतिवेदनले औँल्याएको छ । यो अध्ययन राष्ट्रिय सडकबत्ति प्रवर्द्धन आयोजना अन्तर्गत गरिएको हो ।
अध्ययनका अनुसार हाल नेपालमा सञ्चालित विद्युतीय सवारीले दैनिक पाँच लाख युनिट बिजुली खपत गरिरहेका छन् । यसबाट दैनिक एक लाख ६५ हजार लिटर इन्धन बचत भइरहेको छ । हालको यो खपतले दैनिक एक करोड ७३ लाख र वार्षिक ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको वैदेशिक मुद्रा सञ्चित भइरहेको प्राधिकरणको तथ्यांक छ ।

विद्युतीय सवारीको प्रयोग बढ्दा वातावरणीय प्रदूषणमा समेत कमी आएको छ । राष्ट्रिय सडकबत्ति प्रवर्द्धन आयोजनाका प्रमुख सागरमणि ज्ञवालीका अनुसार हाल ईभीको प्रयोगले दैनिक करिब ४०० टन कार्बन उत्सर्जन (CO2) रोकिएको छ ।
वातावरण जोगाए बापत नेपालले कार्बन क्रेडिटमार्फत थप आम्दानी गर्ने बाटो समेत खुल्ने प्रतिवेदनमा उल्लेख छ । वार्षिक एक लाख ५४ हजार टन कार्बन उत्सर्जन घटाउन सके नेपालले कार्बन क्रेडिटबाट वार्षिक १० करोड ४ लाख रुपैयाँ कमाउन सक्छ ।
यस्तै, उत्सर्जन कटौती १३ लाख ५ हजार टन पुगेमा नेपालको अतिरिक्त आम्दानी ८८ करोड रुपैयाँसम्म पुग्ने प्रक्षेपण गरिएको छ ।
यातायात क्षेत्रमा ३० प्रतिशत ईभीको पहुँच पुग्दा आयातित इन्धनमाथिको निर्भरता घट्ने र यसले देशको ऊर्जा सुरक्षा बलियो बनाउने प्राधिकरणको विश्वास छ । व्यापार घाटा कम गर्न र जनस्वास्थ्यमा सुधार ल्याउन ईभी मेरुदण्ड सावित हुने विभागको ठम्याइ छ ।
आयोजना प्रमुख ज्ञवालीले अब सार्वजनिक र मालवाहक सवारी साधनमा समेत विद्युतीय क्रान्ति आवश्यक रहेको बताए । उनले भने “अब सरकारले ठुला बस र ट्रकहरूलाई विद्युतीयमा रूपान्तरण गर्नुपर्छ । लामो दूरीका सवारीहरू ईभीमा चल्दा मात्रै ठुलो परिमाणमा इन्धन बचत र बिजुली खपत हुनेछ,” उनले भने ।
विद्युतीय सवारीलाई व्यापक बनाउन चार्जिङ स्टेसनको क्षमता र प्रसारण प्रणालीमा सुधार आवश्यक रहेको अध्ययनले देखाएको छ । सरकारले दीर्घकालीन योजना बनाएर सब-स्टेशन र वितरण लाइनको क्षमता बढाउन ठुलो लगानी गर्नुपर्ने सुझाव प्राधिकरणले दिएको छ । प्राधिकरणले ‘ईभी चलाऔं, इन्धन बचाऔं, पैसा जोगाऔं र पृथ्वी बचाऔं’ भन्ने अवधारणालाई अघि सारेको छ ।
पछिल्लो अध्यावधिक: असार ५, २०८३ ८:१०
