close

तपाईंसँग रहेको टेलिकमको सिम अर्कैको नाममा त छैन ? यसरी गर्नुहोस् नामसारी

टेकपाना टेकपाना

जेठ ३१, २०८० ११:४३

तपाईंसँग रहेको टेलिकमको सिम अर्कैको नाममा त छैन ? यसरी गर्नुहोस् नामसारी

काठमाडौं । अहिले पनि कतिपय मोबाइल प्रयोगकर्ताले अर्काको नाममा दर्ता रहेका सिमकार्ड प्रयोग गरिरहेका हुन्छन् । ती सिमकार्ड फोन तथा एसएमएस, ह्वाट्सएप, भाइबर आदि जस्ता माध्यममा सञ्चार गर्नका लागि मात्र नभइ फेसबुक, इन्स्टाग्राम, जिमेल जस्ता सामाजिक सञ्जालका माध्यममा पनि लिङ्क भएका हुन्छन् ।

साथै अर्काकै नाममा रहेका त्यस्ता सिम मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, बैंक खाता र डिजिटल वालेटका खातामा समेत रहने नै भए । तर यसरी अर्काको नाममा रहेको सिम कार्ड प्रयोग गरेकै कारण तपाईं अकल्पनीय समस्यामा पर्न समेत सक्नु हुन्छ ।

पहिलो कुरा तपाईंले यस्तो सिमकार्ड प्रयोग गरी राष्ट्रिय परिचयपत्र बनाउन वा नागरिक एपमा खाता खोल्नै पाउनुहुन्न ।

अर्को कुरा यदि कारणबस उक्त सिमकार्ड राखिएको मोबाइल हरायो वा सिम कार्डमा खराबी आयो अथवा सम्बन्धित व्यक्तिले उक्त सिमकार्ड बन्द गराइदियो भने पुनः निकाल्न मुस्किल पर्न सक्छ ।

यदि उक्त नम्बरको सिम कार्ड पुनः प्राप्त गर्न सकिएन भने तपाईंका सामाजिक सञ्जाल अकाउन्टको पहुँच नै गुम्न सक्छ । कतिपयलाई त आफूले चलाइरहेको सिम कार्ड कसको नाममा छ भन्ने कुराको जानकारी समेत हुँदैन ।

आज हामी तपाईंले प्रयोग गरिरहेको सिम कार्ड कसको नाममा छ, यदि अर्काको नाममा रहेछ भने कसरी आफ्नो नाममा नामसारी गर्ने भन्ने विषयमा बताउँदै छौं ।

यदि तपाईं नेपाल टेलिकमको सिम प्रयोग गरिरहनु भएको छ र तपाईंले चलाइहेको सिमकार्ड अरु कसैको नाममा छ भने सिमकार्ड आफ्नो नाममा नामसारी गर्न सक्नु हुन्छ । 

टेलिकमले अनस्ट्रक्चर सप्लिमेन्ट्री सर्भिस डेटा (यूएसएसडी) मार्फत आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा दर्ता छ भन्ने कुरा थाहा पाउन सकिने व्यवस्था मिलाएको छ ।

टेलिकमले यसअघि मेसेज पठाएर आफूले प्रयोग गरिरहेको सिमबारे जानकारी लिन सक्ने व्यवस्था मिलाएको थियो । अब भने प्रयोगकर्ताको थप सहजताको लागि यूएसएसडी मार्फत समेत त्यस्तो सुविधा दिन थालिएको हो ।

टेलिकमका सिम प्रयोगकर्ताले आफ्नो मोबाइलमा *९२२# डायल गरेर सिम कार्ड कसको नाममा रहेको छ भन्ने कुरा थाहा पाउन सक्छन् । साथै त्यसमा सिम दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो वा अरु नै हो भन्ने विषयमा समेत सोध्ने गरिएको छ ।

यदि सिम कार्ड दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो भने १, होइन भने २ नम्बर टाइप गरी पठाउनु पर्ने हुन्छ । 

कसरी गर्ने नामसारी ?

अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने तपाईं त्यसलाई आफ्नो नाममा नामसारी गर्न टेलिकमको कार्यालय पुग्नुपर्नेछ । टेलिकमले प्रिपेड र पोस्टपेड गरी दुई फरक सिमकार्ड उपलब्ध गराउँदै आएको छ । आज हामी तपाईंलाई प्रिपेड सिमकार्ड नामसारीको प्रक्रिया बारे बताउँदै छौं । 

टेलिकमका अनुसार अन्य व्यक्तिको नाममा रहेको सिमकार्ड आफ्नो नाममा परिवर्तन गर्नपरेको खण्डमा लामो समयदेखि उक्त सिमकार्ड आफैंले प्रयोग गरिरहेको हुनुपर्छ ।

त्यसो भएको खण्डमा तपाईं सक्कली नागरिकताको साथमा एक प्रति नागरिकताको फोटोकपी र एक प्रति फोटाे लिएर नजिकैको टेलिकम कार्यालय पुग्नुपर्ने हुन्छ । त्यहाँ तपाईंले कबुलियतनामा एउटा फाराम भनुपर्ने हुन्छ ।

त्यस्तै पछिल्लो छ महिनाभित्र उक्त सिमकार्ड बाट कल गरेका ५–७ ओटा नम्बर भेरिफाइ समेत गराउनु पर्ने हुन्छ । यति गरेर तपाईंले अर्को व्यक्तिको नाममा रहेको सिमकार्ड आफ्नो नाममा परिवर्तन गर्न सक्नुहुन्छ ।

यसरी सिमकार्ड आफ्नो नाममा नामसारी गर्न कुनै शुल्क लाग्दैन । 

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८० ११:४७