close

उमेर नपुगेको भन्दै लिङ्कडइनले हटायो स्पेस एक्सका १४ वर्षीय इन्जिनियरको अकाउन्ट

टेकपाना टेकपाना

असार १, २०८० १९:३९

उमेर नपुगेको भन्दै लिङ्कडइनले हटायो स्पेस एक्सका १४ वर्षीय इन्जिनियरको अकाउन्ट

काठमाडौं । एलन मस्कको कम्पनी स्पेस एक्सका नयाँ इन्जिनियर कैरन क्वाजीको लिङ्कडइन अकाउन्ट डिलिट भएको छ । १६ वर्ष नपुगेको भन्दै कम्पनीले १४ वर्षीय सफ्टवेयर इन्जिनियर क्वाजीको अकाउन्ट हटाएको हो ।

क्वाजीले हालै लिङ्कडिनमा एक पोस्ट राख्दै आफू स्पेस एक्समा सफ्टवेयर इन्जिनियरका रूपमा आवद्ध भएको जानकारी दिएका थिए । त्यसपछि चौतर्फी चर्चा पाएका क्वाजीको अकाउन्ट एक सातामै कम्पनीले हटाइदिएको छ ।  इन्स्टाग्राममा पोस्ट राख्दै क्वाजीले अकाउन्ट डिलिट गरिएको विषयमा जानकारी दिएका छन् । 

क्वाजीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा लिङ्कडइनले पठाएको सूचना सार्वजनिक गरेका छन् । सूचनामा लेखिएको छ, “हामी तपाईंको क्षमता, ऊर्जा र लगावबाट उत्साहित छौं । तपाईं यो संसारमा गर्नसक्ने कामप्रति पनि हामी उत्तिकै उत्साहित छौं । हाम्रो प्रयोगकर्ता सम्झौतामा उल्लिखित सर्त अनुसार सबै सदस्यको न्यूनतम उमेर १६ वर्ष पुगेको हुनुपर्छ,” सूचनामा लेखिएको छ । 

उमेरको हिसाबले योग्य नभएका कारण उनको अकाउन्टमाथि प्रतिबन्ध लगाएको र उमेर पुगेपछि लिङ्कडइनमा पुन: स्वागत गर्ने कम्पनीले सूचना मार्फत उनलाई जानकारी दिएको छ । यसको साथै कम्पनीले उनको प्रिमियम सदस्यता पनि रद्द गरेको छ । 

आफूलाई संसारकै प्रतिष्ठित कम्पनीले इन्जिनियरका रूपमा स्वीकार गरिरहेको अवस्थामा सामाजिक सञ्जालबाट वञ्चित हुनु अशोभनीय भएको क्वाजीको तर्क छ ।

“लिङ्कडइनले मलाई भर्खरै यो सूचना पठाएर मेरो अकाउन्ट डिलिट गर्न लागेको जानकारी दिएको छ । किनभने म १६ वर्ष पुगेको छैन,” आफ्नो इन्स्टाग्राम पोस्टमा क्वाजीले लेखेका छन्, “यो अतार्किक कुरा हो जुन मैले निरन्तर सामना गरिरहेको छु । म संसारको सबैभन्दा प्रतिष्ठित इन्जिनियरिङ कम्पनीमा काम गर्न योग्य हुन्छु भने व्यावसायिक सामाजिक सञ्जालका लागि किन योग्य नहुने ?”

क्वाजीले लिङ्कडइनको यो नीति प्रतिगामी रहेको समेत उल्लेख गरेका छन् । साथै उनले आफ्नो इस्टाग्रामको प्रोफाइल लिङ्कडइनमा शेयर गरिदिन अनुरोध गरेका छन् । भन्छन्, “तपाईंहरूले मेरा लागि आफ्नो लिङ्कडइनमा यो स्क्रिनसट शेयर गरिदिनु होला । त्यस्तै उनले मानिसहरूलाई इन्स्टाग्राममा आफूलाई फलो गर्न समेत अनुरोध गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: असार १, २०८० १९:५४