close

५ लाखमा सम्पन्न हुने कामका लागि बनाइएको थियो २ करोड लागतको सरकारी परियोजना !

टेकपाना टेकपाना

असार ४, २०८० १६:४८

५ लाखमा सम्पन्न हुने कामका लागि बनाइएको थियो २ करोड लागतको सरकारी परियोजना !

काठमाडौं । नियामक निकायको रूपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले ५ लाखमै सम्पन्न हुने कार्यका लागि दुई करोड रुपैयाँ बजेटको परियोजना तयार पारेको पाइएको छ । प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ र २०७५/२०७६ मा लगातार दुई वर्ष आफ्नो वार्षिक कार्यक्रममा समावेश गरेको दुई करोड लागतको परियोजना अहिले पाँच लाख रुपैयाँमै सम्पन्न भएको हो ।

२०७४/७५ को वार्षिक कार्यक्रममा  प्राधिकरणको लेखा पद्धति र वित्तीय विवरणहरू आईएफआरएस (इन्टरनेसनल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड) अनुसार नेपाल अकाउन्टिङ स्ट्यान्डर्ड बोर्डले तयार पारेको एनएफआरएस (नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड) अनुकूल हुने गरी लागू गर्ने परियोजना समावेश गरिएको थियो ।

सो आर्थिक वर्ष अगाडि बढ्न नसकेको सो परियोजनालाई अर्को आर्थिक वर्ष २०७५/७६ मा समेत निरन्तरता दिंदै वार्षिक कार्यक्रममा राखियो । प्राधिकरणको लेखा तर्फका तत्कालीन एक बोर्ड सदस्यको चाहनामा उक्त परियोजना वार्षिक कार्यक्रममा राखिएको प्राधिकरण स्रोतले बतायो । तर सम्बन्धित आर्थिक प्रशासन शाखाले अस्वभाविक लागत अनुमान गरिएको उक्त परियोजना अगाडि बढाउन फाइल तथा टिप्पणी उठाउन नमानेपछि अगाडि बढ्न सकेन ।

प्राधिकरणले चालू आर्थिक वर्षको आफ्नो वार्षिक कार्यक्रममा उक्त परियोजना समावेश गरेको त छैन । तर अहिले पाँच लाख रुपैयाँभन्दा कम मूल्यमा नै सोझै खरिदको रूपमा आईएफआरएस लागू गर्ने काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।

पाँच लाख रुपैयाँ भन्दा कम लागतका कार्य टेन्डर प्रक्रियाबाट नभई सोझै खरिद गर्ने अधिकार प्राधिकरण व्यवस्थापनलाई रहेको छ । सोही अनुसार हाल आईएफआरएस लागू हुन थालेको हो ।

“यो असार मसान्तभित्र आईएफआरएसको काम सम्पन्न हुन्छ,” प्राधिकरणका एक अधिकारीले भने, “अब हामी आर्थिक वर्ष २०७९/८० को लेखा पद्दति र वित्तीय विवरण एनएफआरएस र आईएफआरएस दुवै स्यान्डर्डमा हुने गरी राख्दै छौं ।” अहिले प्राधिकरणलाई आईएफआरएस लागू गर्न एबी एसोसिएट्सले सघाइरहेको छ ।

पछिल्लो अध्यावधिक: असार ५, २०८० १३:४