close

वार्षिक ६० अर्ब बढी आम्दानी गर्ने आईटी क्षेत्रलाई सरकारले बेवास्ता गर्‍योः स्वर्णिम वाग्ले

टेकपाना टेकपाना

असार ५, २०८० १८:४४

वार्षिक ६० अर्ब बढी आम्दानी गर्ने आईटी क्षेत्रलाई सरकारले बेवास्ता गर्‍योः स्वर्णिम वाग्ले

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेले वार्षिक ६० अर्ब रुपैयाँ बढी आम्दानी हुने सूचना प्रविधि (आईटी) क्षेत्रलाई सरकारले बेवास्ता गरेको धारणा राखेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आफू अध्यक्ष रहेको आईआईडीएस (इन्टिच्युट फर इन्ट्रिग्रेटेड डेभलपमेन्ट स्टडिज) नामक संस्थाले गरेको सर्वेक्षण सार्वजनिक गर्दै उनले नेपालका आईटी क्षेत्रप्रति सरकार जिम्मेवार नभएको तर्क गरे ।

"म सांसद बन्नुभन्दा अगाडि अध्यक्ष रहेको नेपालको अग्रणी फिनटेक आईआईडीएसको मातहतमा एउटा सर्भे गर्‍याैं," वाग्लेले भने, "एकदमै वैज्ञानिक एक्स्टेन्सिभ सर्भे गर्‍याैं । नेपालमा यो आईटी सेक्टरमा निर्यातजन्य आईटी कम्पनी कति छन् ? यसको सम्भावना कति छ ? भनेर हेर्यौं ।"

यसको प्रारम्भिक सङ्ख्या सुन्दा नेपालको आर्थिक ल्यान्डस्केपमै सानोतिनो भूकम्प ल्याइदिने परिणाम आएको भन्दै उनले आईटी कम्पनीको सङ्ख्या र उनीहरूले गर्ने आम्दानीको रकम सार्वजनिक गरेका छन् ।

वाग्लेले प्रस्तुत गरेको सर्वेक्षण अनुसार नेपालमा सात हजार ६३७ ओटा आईटी कम्पनीहरू दर्ता छन् । त्यसमा पनि सात हजार कम्पनीले सरकारलाई कर तिरिरहेका छन् ।

उनले अगाडि भने, "सात हजारभन्दा बढी कम्पनीमा पनि १०६ ओटा एक्सपोर्ट ओरिन्टेड (निर्यात गर्ने)आईटी एक्सपर्टिजहरू रहेछन् । फ्रिलान्सर्स तपाईं हाम्रै भाइ, बहिनी, भतिजाहरू कोठामा बसेर गर्ने फ्रिलान्सरको काममा ६६ हजार ५०६ जना छन् ।" सर्वेक्षण अनुसार फ्रिलान्सरले प्रति वर्ष औसत आम्दानी छ लगभग चार हजार ७२३ डलर (करिब छ लाख १७ हजार रुपैयाँ) आम्दानी गर्छन् ।

वाग्लेका अनुसार यो रकम यो युरोपेली मुलुकको युक्रेनको प्रतिव्यक्ति आय जत्तिकै हो ।

"इन्ट्री लेभलमै औसत तीन हजार डलर, मिड लेभलमा औसत छ हजार ३९५ र सिनियर लेभलमा नेपालमै बसिबसी औसत १५ हजार ३२२ डलर आम्दानी छ," डेटा प्रस्तुत गर्दै उनले भने, " यो प्रति व्यक्ति आय रुस, चिन र मलेसियाभन्दा माथि हो । यति डाइनामिक सेक्टर यही छ ।"

उनले अगाडि भने, "तपाईं हामीले रेस्टुरेन्टमा गएर चिया खाँदै गर्दा त्यो कुनामा बसी ल्यापटप खोलेर काम गरिरहेको मान्छेले दुनियाँको गिग इकोनोमिक्ससँग आवद्ध भएर काम गरिरहेको हुन सक्छ ।"

वाग्लेले सार्वजनिक गरेको सर्वेक्षण रिपोर्ट अनुसार यसरी आईटीबाट वार्षिक ५१५ मिलियन डलर (करिब ६७ अर्ब ३६ करोड २० लाख रुपैयाँ)को आम्दानी नेपाल भित्रिरहेको छ । "कम्पनीगत हिसाबले करिब २०१ मिलियन डलर र फ्रिलान्सरहरूबाट करिब ३१४ मिलियन डलर आम्दानी भइरहेको छ," उनले भने ।

उनका अनुसार गत वर्ष पर्यटनबाट ४६ अर्ब आम्दानी भएको थियो भने आईटीबाट ६० अर्ब बढी आम्दानी भएको छ । "यसलाई खासै रेकग्नाइज पनि गरेका छैनौं, फर्मलाइज पनि गरेका छैनौं । र, ०१९ सालदेखिका 'एन्टिक्वेटेड ल' हरूमा टेकेर हामीले काम गरिरहेका छौं । त्यसैले अथाह सम्भावना भएका क्षेत्रहरूमा उल्लेखनीय कदम चालिएन भनेर मैले एउटा दृष्टान्त यहाँहरू सामु ल्याएँ," उनले थपे ।

पछिल्लो अध्यावधिक: असार ५, २०८० १९:११