close

१०० वा १५० युनिटभन्दा माथिको विद्युत् खपतमा मात्र भ्याट लगाउने सरकारको तयारी

टेकपाना टेकपाना

असार ५, २०८३ १४:४७

१०० वा १५० युनिटभन्दा माथिको विद्युत् खपतमा मात्र भ्याट लगाउने सरकारको तयारी

काठमाडौं । सरकारले ५० युनिटभन्दा माथि विद्युत् खपतमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय पुनरावलोकन गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले शुक्रबार सङ्घीय संसद्मा सांसद्हरूलाई जवाफ दिँदै १०० युनिट वा १५० युनिटभन्दा माथि विद्युत् खपतमा मात्र कर लगाउने गरी अध्ययन भइरहेको अर्थमन्त्री जानकारी गराएका हुन् ।

 डा. वाग्लेले १ साउनभित्रै यो विषय टुंगो लगाउने पनि बताएका छन् । उनले भने, “अहिले ५० युनिटसम्म तिर्न नपर्ने भनिएको छ । १०० युनिट १५० युनिटभन्दा माथि मात्रै कर लगाउने गरेर अध्ययन भइरहेको छ । साउन १ गते कर लाग्नु भन्दा अगाडि त्यसमा पनि हामी जान्छौँ ।”

मुलुकको विद्युत् उत्पादन राम्रो भए पनि वितरण र प्रसारणमा भने पछाडि रहेको उनको भनाइ थियो ।

यस्तै मन्त्री डा. वाग्लेले विद्युतको महसुल समायोजन गर्नका लागि पनि अध्ययन भइरहेको जानकारी दिए । वर्षायाममा विद्युत् छेलोलेखो हुने भएकाले मूल्य घटाउने र हिउँदमा पनि न्यायोचित ढंगले अघि बढ्ने उनले बताए । 

विद्युतीकरणको महत्त्वाकाङ्क्षा पूरा गर्न लगानी पर्याप्त नभएका कारण १५० युनिट विद्युत खपत गर्दा २२/२४ रुपैयाँ थपेर देश निर्माणमा सहभागी बन्न आह्वान गरिएको उनको भनाइ छ । तर अहिले सो रकम पनि अन्तिम उपभोक्तालाई भार नपरोस् भनेर विद्युतको मूल्य समायोजनका लागि पनि विचार गरिरहेको अर्थमन्त्रीले बताए ।


 

पछिल्लो अध्यावधिक: असार ५, २०८३ १४:४७