ईभी आयात विवाद: भन्सारका ९ कर्मचारी जिम्मेवारीमुक्त, अर्थमन्त्रीमाथि मिडिया ट्रायल भएको दाबी
जेठ २३, २०८३ १२:११
काठमाडौं । बजेट घोषणा हुनुअघि चिनियाँ नाकाबाट ठुलो सङ्ख्यामा विद्युतीय सवारी साधन (ईभी) आयात र भन्सार जाँचपास भएको विषयमा सरकारले अनुसन्धान थालेको छ । तातोपानी भन्सार नाकामा प्रक्रियागत त्रुटि गरेको भन्दै अर्थ मन्त्रालयले प्रमुख भन्सार अधिकृतसहित नौ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरी भन्सार विभाग तानेको छ ।
अर्थमन्त्री डा . स्वर्णिम वाग्लेका स्वकीय उपसचिव एवम् जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले भन्सार बिन्दुमै नपुगेका सवारी साधनको जाँचपास भएको सन्दर्भमा छानबिन समितिको सिफारिस अनुसार जेठ २० गते ती कर्मचारीहरूलाई कारबाही स्वरूप विभाग तानिएको जानकारी दिए । यस प्रकरणमा थप अनुसन्धान जारी रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, मुस्ताङको कोरोला नाकाबाट भित्रिएका विद्युतीय गाडीहरूको विषयमा पनि अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले स्थलगत छानबिन गरिरहेको छ । भन्सार छलीको आशङ्कामा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका बीवाईडी ब्राण्डका गाडीहरू र आयातकर्ता कम्पनी साइमेक्स इंकमाथि अहिले अनुसन्धान भइरहेको छ ।
सशस्त्र प्रहरीले २० जेठको राति मुस्ताङ, कास्की र पर्वतका विभिन्न स्थानबाट ७७५ वटा गाडीहरू नियन्त्रणमा लिएको थियो । बजेटअघि करको दर परिवर्तन हुने सूचना चुहावट गरी अर्बौँ रुपैयाँ राजस्व छली गरेको आरोप आयातकर्तामाथि लागेको छ ।
अर्थमन्त्रीको संलग्नता अस्वीकार
विद्युतीय गाडी आयात प्रकरणमा अर्थमन्त्री डा . स्वर्णिम वाग्लेको नाम जोडिएर आएका समाचार र टिप्पणीप्रति मन्त्रीको सचिवालयले आपत्ति जनाएको छ । छानबिन चलिरहेकै अवस्थामा मन्त्री र मन्त्रालयका जिम्मेवार अधिकारीहरूको चरित्र हत्या गर्ने र बजेटलाई विवादमा पार्ने उद्देश्यले मिडिया ट्रायल गरिएको सचिवालयको दाबी छ ।
विज्ञप्तिमा भनिएको छ, “छानबिन चलिरहेकै बेला माननीय अर्थमन्त्री र मन्त्रालयका जिम्मेवार अधिकारीहरूको चरित्र हत्या गर्ने , समाजमा गलत भाष्य स्थापित गरिदिने र बजेटलाई विवादमा पारिदिने उद्देश्यले भएका प्रचारबाजीप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।”
सचिवालयले यस्ता अफवाह फैलाउने केही व्यक्ति र समूहमाथि कानुनी उपचारको प्रक्रिया सुरु गरिसकिएको र अन्यको हकमा पनि कानुनी बाटो खोजिने चेतावनी दिएको छ ।
अर्थ मन्त्रालयले अर्थतन्त्र , बजेट र भन्सार जस्ता प्राविधिक विषयमा समाचार सामग्री बनाउँदा सत्यतथ्य सोध्न र आधिकारिक जानकारी राख्न सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ ।
यसअघि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले भने आफूले सबै कानुनी प्रक्रिया पूरा गरेर र ग्राहकको पूर्व-बुकिङ पूरा गर्नका लागि गाडी आयात गरेको दाबी गर्दै आएको छ । यद्यपि, बिना नम्बर प्लेटका गाडीहरू जिल्लातिर ओसारिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएपछि यो प्रकरण शङ्कास्पद बनेको हो ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८३ १२:११
