close

११ महिनामै कम्पनी र सङ्घसंस्थाले कर्पोरेट पेमार्फत गरे सवा ४ खर्बको अनलाइन भुक्तानी

टेकपाना टेकपाना

असार ११, २०८० १७:१०

११ महिनामै कम्पनी र सङ्घसंस्थाले कर्पोरेट पेमार्फत गरे सवा ४ खर्बको अनलाइन भुक्तानी

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै ५० अर्ब रुपैयाँ भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ । यो माघ २०७७ मा कर्पोरेट पे सुरु भए यताकै अधिकतम मासिक कारोबार रकम हो 

गत आर्थिक वर्ष यसबाट कुल एक खर्ब नौ अर्ब ५० करोड रुपैयाँ बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको थियो । जब कि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा चार खर्ब २१ अर्ब रुपैयाँभन्दा भन्दा बढिको भुक्तानी कारोबार पर्छ्यौट भइसकेको एनसीएचएलले जनाएको छ । 

बैंक तथा वित्तीय संस्थाका साना तथा मझौला व्यवसायिक तथा विभिन्न संस्थागत ग्राहकले सहजै कर्पोरेट पेमार्फत डिजिटल भुक्तानी गर्न सक्छन् । यही सहजताका कारण कर्पोरेट पेमार्फत हुने कारोबार सङ्ख्या पनि दुई गुणाले वृद्धि भएको छ ।

हाल शैक्षिक संस्था, कन्स्ट्रक्सन कम्पनी, ट्राभल एजेन्सी, रिटेल व्यवसायी लगायतका विभिन्न संस्थागत ग्राहकले कर्पोरेट पे प्रयोग गर्दै आएका छन् । ४७ ओटा बैंक तथा वित्तीय संस्था मार्फत् उक्त प्रणालीमा सात हजार ७०० भन्दा बढी व्यावसायिक ग्राहक आबद्ध भइसकेका छन् । 

एउटै प्लेटफर्ममा एक भन्दा बढी बैंक खाता लिङ्क गरी कारोबार गर्न सकिने व्यवस्था रहेको यो प्रणाली मार्फत फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायत नेपाल आयल निगम, भन्सार विभाग, बीमा समिति, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी गर्न सकिन्छ ।

साथै यसमा युटिलिटी तथा क्रेडिटरलाई बल्क भुक्तानी, फण्ड म्यानेजमेन्ट लगायतका अन्य सुविधा समेत उपलब्ध छन् । 

कर्पोरेट पेमार्फत रियल टाइम अर्थात तत्काल प्रति कारोबार २० लाख रुपैयाँसम्म र नन–रियल टाइम अर्थात केही समयपछि भुक्तानी सम्पन्न हुने गरी २० करोड रुपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ । 

उक्त प्रणालीमा व्यावसायिक ग्राहकलाई सुरक्षित रुपमा भुक्तानी कारोबार गर्नका लागि आवश्यक मल्टी फ्याक्टर अथेन्टिकेसन तथा अथोराइजेसनको समेत व्यवस्था मिलाइएको छ । साथै व्यावसायिक ग्राहकले बैंक खाता, रकम वा कारोबारको किसिममा आधारित विभिन्न खाता सञ्चालनका आदेशहरू सेट गरी उच्च स्तरको नियन्त्रण एवम् जोखिम व्यवस्थापन पनि गर्न सक्छन् ।  

यो सेवा लिन  बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकले corporatepay.connectips.com मा गई आवश्यक कम्पनी सम्बन्धी विवरण समावेश गरी, कम्पनीको आवश्यकता अनुरूप सेटअप, प्रयोगकर्ताको विवरण र बैंक खाता सम्बन्धी विवरण दाखिला गरी एक पटक अनलाइन रजिष्ट्रेसन प्रकृया पूरा गर्नु पर्ने हुन्छ । 

उक्त अनलाइन रिक्वेस्टको आधारमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएका कागजपत्रका आधारमा सेवा सुरु गर्न सकिन्छ । 


 

पछिल्लो अध्यावधिक: असार ११, २०८० १७:१०