काठमाडौं । विद्युतीय सवारी तथा अन्य डिभाइसमा अत्यावश्यक लिथियम-आयन ब्याट्रीको विकास गर्ने चर्चित वैज्ञानिक जोन बी गुडइनफको १०० वर्षको उमेरमा निधन भएको छ । आइतबार गुडइनफको निधन भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सन् १९२२ मा जर्मनीमा जन्मिएका गुडइनफकाे योगदानले विद्युतीय डिभाइसको बजारमा क्रान्ति ल्यायो । सन् २०१९ मा उनले रसायनशास्त्रमा नोबेल पुरस्कार पनि प्राप्त गरेका थिए । योसँगै उनले नोबेल पुरस्कार प्राप्त गर्ने सबैभन्दा वृद्ध व्यक्तिको रुपमा रेकर्ड राखेका थिए ।
उनले आफ्नो जिन्दगीको ३७ वर्ष अमेरिकाको युनिभर्सिटी अफ टेक्सास अन्तर्गत कक्रेल स्कुल अफ इन्जिनियरिङमा फ्याकल्टी मेम्बरको रुपमा बिताए । विशेषगरी इनर्जी स्टोरेज सोलुसन्स र सोलिड स्टेट साइन्स तथा इन्जिनियरिङका चुनौती लगायतका क्षेत्रमा उनको विज्ञता थियो ।
उनको यो विज्ञताले रिचार्ज गर्न मिल्ने ब्याट्री अर्थात् लिथियम आयन ब्याट्रीको विकास गर्यो, जसले मोबाइल फोन, ल्यापटप, ट्याब्लेट जस्ता वायरलेस डिभाइसको विकास गर्न मद्दत पुग्यो । त्यति मात्र होइन, उनको खोजले विद्युतीय सवारीमा पनि ठूलो योगदान गरेको छ ।