close

चल्न थाले बिहीबार रातिदेखि अवरुद्ध विद्युत प्राधिकरणका चार्जिङ स्टेसन

टेकपाना टेकपाना

असार १५, २०८० १०:४९

चल्न थाले बिहीबार रातिदेखि अवरुद्ध विद्युत प्राधिकरणका चार्जिङ स्टेसन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका अवरुद्ध चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् । प्राधिकरणको १३२ केभीए प्रशारण लाइनमा समस्या आउँदा डेटा सेन्टर प्रभावित भएको र त्यसबाट चार्जिङ स्टेसनले समेत काम नगर्ने समस्या देखिएको थियो । 

जसका कारण बिहीबार रातिदेखि विद्युतीय सवारी साधन चार्ज नहुने अवस्था सिर्जना भएको थियो ।

प्राधिकरणले अवरुद्ध चार्जिङ स्टेसन शुक्रबार बिहानदेखि नियमित रूपमा सञ्चालनमा आएको जनाएको छ । हाल प्राधिकरणले चार्जिङ स्टेसनको सर्भर रत्नपार्क स्थित मुख्यालयमा राखेको छ । 

स्युचाटारमा बन्दै गरेको डेटा सेन्टर सञ्चालनमा आए यस किसिमको समस्या नआउने प्राधिकरणको दाबी छ । अबको एक महिनाभित्र उक्त डेटा सेन्टर सञ्चालनमा आउने र चार्जिङ स्टेसन सोही स्थानबाट केन्द्रीकृत ढङ्गले नियन्त्रण हुने बताइएको छ ।

स्मार्ट चार्जिङ स्टेसनका रूपमा रहेका प्राधिकरणका चार्जिङ स्टेसनले काम गर्न अनिवार्य रूपमा डेटा सेन्टरको सपोर्ट आवश्यक पर्छ । सम्पूर्ण रूपमा अनलाइन भुक्तानीमा निर्भर यी चार्जिङ स्टेसनमा विद्युतीय सवारी चार्जिङ गर्न मोबाइल एप आवश्यक पर्छ । 

हाल देशभर प्राधिकरणका ४५ ओटा चार्जिङ स्टेसन सञ्चालनमा रहेका छन् भने बाँकी थप १७ ओटा चार्जिङ स्टेसन निर्माणको अन्तिम चरणमा रहेको बताइएको छ । 

पछिल्लो अध्यावधिक: असार १५, २०८० १०:५०